इम्म्यानुएल म्याक्रोन फ्रान्सेली इतिहासकै कान्छा राष्ट्रपति

एपी

पेरिस — फ्रान्समा आइतबार सम्पन्न दोश्रो चरणको (रन–अफ) राष्ट्रपतीय निर्वाचनमा युवा उम्मेदवार इम्यानुएल म्याक्रोन विजयी भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्दी, उग्र दक्षिणपन्थी उम्मेदवार मेरिन लि पेनलाई हराउँदै उनी फ्रान्सको राष्ट्रपति पदमा विजयी भएका हुन् ।

फ्रान्समा आइतबार सम्पन्न दोश्रो चरणको (रन–अफ) राष्ट्रपतीय निर्वाचनमा युवा उम्मेदवार इम्यानुएल म्याक्रोन विजयी भएका छन् ।

आफ्ना निकटतम प्रतिद्वन्दी, उग्र दक्षिणपन्थी उम्मेदवार मेरिन लि पेनलाई हराउँदै उनी फ्रान्सको राष्ट्रपति पदमा विजयी भएका हुन् । मतगणनाको परिणाम घोषणा भएको केही बेरमै आफ्नो पराजय स्वीकार गर्दै मेरिन लि पेनले नवनियुक्त राष्ट्रपति म्याक्रोनलाई बधाई ज्ञापन गरेकी थिइन् ।

३९ वर्षीय म्याक्रोन एक सफल बैंक व्यावसायी, उद्यमी, लगानीकर्ता, श्रेष्ठ प्रविधिज्ञ, अर्थविज्ञ र आर्थिक सल्लाहकार तथा फ्रान्सका अर्थमन्त्रीका रुपमा सुपरिचित छन् । हालसम्मको फ्रान्सेली इतिहासमा उनी सबैभन्दा कान्छो उमेरका राष्ट्रप्रमुखका पनि हुन सफल भएका छन् ।

विजय पश्चात् पेरिसमा आयोजित एक स्थानीय आमसभा तथा विजय जुलूसलाई सम्बोधन गर्दै उनले युरोपेली संघ तथा सम्पूर्ण युरोपवासीलाई पुनः संगठित र सशक्त बनाउने सङ्कल्प गरे । साथै, उनले फ्रान्सेली जनताको विश्वास एक पटक पुनः जिती राष्ट्रको सबलिकरण र सुरक्षामा समर्पित हुने बताउँदै फ्रान्समा अब नवीन अध्यायको शुरुवात भएको घोषणा गरे ।

नवनियुक्त म्याक्रोनका अगाडि प्रशस्त चुनौतीहरु तेर्सिरहेका हुँदा विजयपश्चात् फ्रान्सका बुद्धिजीविहरु उनको कार्यशैली हेर्न उत्सुक रहेका बताइन्छ ।

मन्द गतिमा अघि बढिरहेको युरोपेली एकतालाई थप जीवन्तता प्रदान गरिनु पर्ने, बेलायतको बहिर्गगमन पश्चात् युरोपेली संघमा बिद्यमान रिक्ततालाई परिपूर्ण पार्नु पर्ने, मुलुकमा ओरालो लाग्न लाग्न लागेको अर्थतन्त्रमा सुधार गरी दृढता पूर्वक सही मार्गतर्फ लग्नु पर्ने तथा मुख्यतया फ्रान्स स्वयंमा खस्कँदै गै रहेको राष्ट्रिय सुरक्षालाई पुनः बलिष्ठ बनाई सम्पूर्ण जनतालाई सुरक्षाको प्रत्याभूति तथा निश्चिन्तता दिनु पर्ने लगायतका अनगिन्ती चुनौतिहरु शुरु देखि नै उनले सामना गर्नु पर्नेछ ।

नवनिर्वाचित राष्ट्रपति इम्म्यानुएलको विजयपश्चात् उनलाई निवर्तमान राष्ट्रपति फ्रान्कोइ हल्यान्डे तथा प्रधानमन्त्रीले तत्कालै बधाई दिएका थिए । त्यस्तै अमेरिकी राष्ट्रपसित डोनाल्ड ट्रम्प तथा जापानका प्रधानमन्त्री सिन्जो आबे लगायत बिश्वका सबैजसो राष्ट्रप्रमुख र सरकार प्रमुखहरुले पनि बधाई ज्ञापन गरेका समाचारहरु आइरहेका छन् ।

प्रकाशित : वैशाख २५, २०७४ ११:४३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

चुनावी सुरक्षामा चुनौती

महोत्तरीमा विस्फोटकसहित तीन जना पक्राउ
धादिङ र कास्कीमा सवारीसाधनमा आगजनी
चुनावमा प्रयोग गरिने गाडी राति प्रहरी चौकी वरपर राख्न निर्देशन
कान्तिपुर संवाददाता

काठमाडौं — विस्फोटक र दस्तावेजसहित प्रहरीले आइतबार नेपाल कम्युनिस्ट पार्टी (विप्लव) का ३ जना कार्यकर्ता पक्राउ गरेको छ । जनकपुर ब्युरो सदस्य मोहमद आदन राइन, कार्यालय सदस्य तिलक भनिने प्रानकुमार लामा र मिथिला चौहान पक्राउ परेका हुन् ।



इलाका प्रहरीका डीएसपी शालिकराम शर्माको कमान्डमा गएको टोलीले उनीहरूलाई बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित ज्ञानप्रसाद पौडेलको घरबाट पक्राउ गरेको हो । उनको घर भाडामा लिएर केही समयदेखि पार्टी गतिविधि सञ्चालन गर्दै आएको प्रहरीले जनायो ।
‘स्थानीय निर्वाचन खारेजी गर’ लेखिएका २ सय थान पर्चा र पोस्टर बरामद भएका छन् । टाइम बम बनाउने तार र २ थान भित्ते घडी, ६ थान डिटोनेटर, टेस्टर, २ बोतल तेजाव र ३ सय ग्राम बारुद बनाउने धूलो फेला परेका छ । यस्तै सोल्डिङ तार, आइरन, कुकर बम बनाउने सामग्री, २ किलो गन्धक, आल्मुनियम फस्फेट, बम पड्काउने योजनासहितका पेन्सिलले स्केच गरिएका नक्सा पनि फेला परेकोप्रहरीले जनायो ।

२ थान ल्यापटप, ६ सेट मोबाइल, कांग्रेसको रूख छाप भएका टिसर्ट, वाम साहित्य र पार्टी नवीकरणका फाइललगायत सामग्री पनि बरामद भएका छन् । ती सबै सामग्री प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले आसन्न निर्वाचनलाई बिथोल्ने नियतले गौरिवासमा सेल्टर स्थापना गरी गतिविधि सञ्चालन गर्दै आएको बुझिएको बताए । १७ वटा कार्यालयलाई लक्षित गरी विस्फोट गराउने योजनासहितका गतिविधि सञ्चालन गरिएको प्रहरीको आशंका छ । बरामद नक्साका आधारमा प्रहरीले त्यस्तो आशंका गरेको हो ।

‘रूख छापका टिसर्ट लगाएपछि कांग्रेस कार्यकर्ता भएको भान पर्ने र कार्यालय वा सार्वजनिक कार्यक्रममा सहज प्रवेश हुने भएकाले अवांक्षित गतिविधि गरेर सुरक्षित फर्कने रणनीतिअन्तर्गत त्यस्ता टीसर्ट संकलन गरिएको हुनुपर्छ,’ एसपी लम्सालले भने । अल्मुनियम फस्फेट घातक विषादी हो । लम्सालले भने, ‘मिलिटेन्टहरू पक्राउ पर्न थालेपछि सुसाइटका लागि यस्ता विषादी सेवन गर्छन् । उनीहरूले केको प्रयोजनका लागि राखेका हुन त्यसबारेमा बुझने काम भइरहेको छ ।’

बर्दिवासस्थित इलाका प्रहरीका डीएसपी शालिकराम शर्माका अनुसार प्रहरीले केही समयदेखि ज्ञानप्रसादको घरको गतिविधि नियाल्दै आएको थियो । सिन्धुलीमा विप्लव समूहका केही नेता, कार्यकर्ता पक्राउ परे । उनीहरूको सेल्टर पनि गौरीवासस्थित ज्ञानप्रसादकै घरमा रहेको बुझेपछि छापा मारिएको हो ।

सडक सञ्जालका कारण आवागमनमा सुविधा रहेको गौरीवासलाई विप्लव समूहले प्रान्तीय केन्द्रको रूपमा सञचालन गरेको जिल्ला प्रहरीका अर्का डीएसपी दीपक पोखरेलले बताए । बरामद दस्तावेजको आधारमा पार्टी संगठन बढाउन र सिन्धुली लगायत २ नं प्रदेशमा निर्वाचनविरोधी गतिविधि सञ्चालन गर्न गौरीवासको भौगोलिक अवस्थितिलाई प्रयोग गर्दै आएको स्रोतको भनाइ छ ।

काभ्रेमा सुरक्षा सतर्कता
काभ्रे– चुनाव बिथोल्न सक्ने आशंकामा काभ्रे प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका ४ जना नेता–कार्यकर्तालाई पक्राउ गरेको छ । मण्डनदेउपुर–१० का शंकरप्रसाद नेपाल, भोलाप्रसाद नेपाल, धुलिखेल–११ काकान्छा लामा र खानीखोला–५ का रमेश परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नवीनराज राईलेजानकारी दिए । उनका अनुसार सबैलाई सार्वजनिक अपराधमा मुुद्दा लगाएर म्याद थपिएको छ ।

उम्मेदवारको गाडीमा आगजनी
धादिङ– धादिङ कांग्रेसको प्रचारमा गुडेका २ वटा सवारीमा अज्ञात समूहले शनिबार मध्यराति आगजनी गरेको प्रहरीले जनायो । धुनीबेंसी नगरपालिका–५ बटारमा विदुर अकौलियाका घरमा पार्किङ गरिएका कार र जिपमा आगो लगाइएको हो । खानीखोलास्थित इलाका प्रहरीका अनुसार बा१२च १७०३ को नीलो कार र बा१२च १२७६ नम्बरको जिपमा आगजनी गरिएको हो ।

स्थानीय निर्वाचन बिथोल्ने अभियानमा लागेको नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहका कार्यकर्ताले आगजनी गरेको हुन सक्ने आशंका गरिएको छ । शुक्रबार प्रहरीले महादेवस्थानबाट १२ जना कार्यकर्तालाई निर्वाचनविरोधी पर्चा, पम्प्लेट र चन्दा संकलन गरेको रसिदसहित पक्राउ गरेको थियो ।

अज्ञात समूहले गत २३ गते बिहान पनि थाक्रे –२ स्थित एमालेका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवारको हाइलक्स गाडीमा आगजनी गरेको थियो । थाक्रेको घटनापछि जिल्लास्थित सुरक्षा निकायले प्रचारप्रसारमा प्रयोग भएका सवारी साधन प्रहरी चौकी नजिक ल्याएर राख्न आग्रह गरेको थियो । त्यसपछि उम्मेदवारहरूले सवारीसाधनहरू खानीखोला, वैरेनी, महादेवबेंसी, गजुरी र जोगीमारास्थित प्रहरी चौकी वरपर राख्न थालेका थिए । शनिबार मध्यरातमा आगजनी गरिएका सवारी साधन भने सडक बिग्रेकाले बाटैमा छाडिएका थिए ।

कास्कीमा पनि
लेखनाथ– कांग्रेसका तर्फबाट कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ का वडाध्यक्ष पदका उमेदवारको जिपमा आगजनी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गुञ्जमान गुरुङले प्रचारप्रसारमा प्रयोग गरेको ग१ज ६४४५ नम्बरको बोलेरो जिपमा शनिबार राति आगजनी गर्नेलाई प्रहरीले आइतबार पक्राउ गरेको जनाएको छ । उनीहरू माछापुच्छ्रेको सार्दीखोलाबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका तीन जना नेपाल कम्युनिसट पार्टी (विप्लव) का कार्यकर्ता हुनसक्ने प्रहरीले जनायो । सबै कुरा खुलिनसकेको प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले बताए । आगोले जिपको अग्रभाग डढेको छ ।

यस्तै प्रहरीले पोखरा लेखनाथ महानगरपालिका ३० र ३२ मा चुनावविरोधी गतिविधि गरेको भन्दै कम्युनिस्ट पार्टीकातीन जना कार्यकर्तालाई खुदीबाट आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा लेखनाथ–३० बस्ने दिव्या गुरुङ, रामजीबराल र राजकुमार सुनार छन् । उनीहरूले चुनावमा भोट हाल्न नजान भन्दै प्रचार गर्दै हिँडेको प्रहरीले जनायो ।

प्रकाशित : वैशाख २५, २०७४ ११:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT