कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

यस्तो थियो फ्रान्सेली राष्ट्रपति म्याक्रोंको प्रेमकथा

बीबीसी

पेरिस — उत्तरी फ्रान्सको जेसुइट स्कुलमा पढ्दा इम्यानुअल फ्रान्सको राष्ट्रपतिमा म्याक्रों प्रतिभाशाली विद्यार्थीमा गनिन्थे । उनी सधैं पुस्तक पढ्न व्यस्त हुन्थे । स्कुलमा म्याक्रोंसँगै लरेन्स ट्रोनियो नामकी किशोरी पनि पढ्थिन् ।

यस्तो थियो फ्रान्सेली राष्ट्रपति म्याक्रोंको प्रेमकथा

एक दिन लरेन्सले आफ्नी आमासँग भनिन्, ‘मेरो कक्षामा पढ्ने इम्यानुअललाई त सबथोक आउँछ ।’

लरेन्सकी आमा ब्रिजिट त्यही स्कुलमा शिक्षिका थिइन् । उनको २० वर्षकै उमेरमा एक स्थानीय बैंकरसँग बिहे भइसकेको थियो र तीन बच्चा पनि जन्मिसकेका थिए । छोरीको कुरा सुनेर ब्रिजिटलाई ती किशोरसँग भेट्न मन लाग्यो । म्याक्रों स्कुलमा नाट्य समूहमा आबद्ध थिए । म्याक्रोंले एकपटक ‘ज्याक एन्ड हिज मास्टर’ नाटकमा प्रमुख भूमिका निर्वाह गरेका थिए । त्यही बेला ब्रिजिटले उनलाई देखिन् । ब्रिजिटले पछि एक फ्रेन्च डकुमेन्ट्रीमा भनेकी छन्– ‘इम्यानुअल अरूजस्ता थिएनन्, उनी किशोर पनि थिएनन्, आफूभन्दा ठूलाहरूसँग पनि उनको सम्बन्ध समान थियो ।’

नाटक लेख्ने क्रममा दुवै जनाबीच हरेक शुक्रबार भेट हुन थाल्यो । पुराना दिन सम्झँदै ब्रिजिट भन्छिन्– ‘मैले सोचेको थिएँ त्यो भेटघाट लामो समय चल्नेछैन, तर नाटक लेख्न सुरु भएपछि बिस्तारै म इम्यानुअलको प्रतिभाबाट प्रभावित हुन थालें । त्यसपछि उनीहरूको सम्बन्ध झाँगिन थाल्यो । यो कुरा इम्यानुअलको परिवारले पनि थाहा पायो । इम्यानुअलका बाबुआमाले अनुमान गरेका थिए उनको सम्बन्ध ब्रिजिटकी छोरी लरेन्ससँग छ ।

यही बीचमा इम्यानुअलका बाबुआमाले उनलाई घर एमिएन्सबाट पेरिस पठाउने निर्णय गरे । इम्यानुअलको जीवनी लेखिका एनी फल्डासँग उनकी आमाले भनेकी छन्– ‘पहिले त इम्यानुअल र ब्रिजिटबीचको सम्बन्धलाई विश्वास पनि गर्न सकेनौं ।’ दुईबीचको सम्बन्धबाट असन्तुष्ट इम्यानुअलका बाबुआमाले एक दिन ब्रिजिटलाई छोराबाट टाढै बस्न आग्रह गरे । तर ब्रिजिटले अस्वीकार गरिन् । इम्यानुअलका बाबुआमाको विरोधको एक कारण थियो, फ्रान्सेली कानुन । त्यसअनुसार १८ वर्षभन्दा कम उमेरको यस्तो सम्बन्ध बालशोषण मानिन्छ । उनीहरू ब्रिजिटविरुद्ध कुनै पनि उजुरी दर्ता नहोस् भन्ने चाहन्थे । १६ वर्षको उमेरमा इम्यानुअल एमिएन्सको स्कुल छाडेर पेरिसमा आई पढ्न थाले । त्यतिबेला उनीहरू फोनमा घण्टौं कुरा गर्थे । उनले १७ वर्षकै उमेरमा ब्रिजिटसँग बिहे गर्ने निर्णय गरे । ब्रिजिटले एक अन्तरवार्तामा भनेकी छन्– ‘हामी दुईबीच प्रेम कसरी सुरु भयो, कसैलाई थाहै भएन, त्यो पल हाम्रो आफ्नै पल थियो, हामी दुईबीचको, कुनै गोप्य रहस्यजस्तो ।’

डेली मेलका अनुसार ब्रिजिटका पूर्वपति आन्द्रे लुइस बैंकर थिए । यस्ता परिस्थितिका बीच ब्रिजिट र लुइसबीचको सम्बन्ध धेरै टिकेन । दुवैबीच सन् २००६ मा सम्बन्धविच्छेद भयो र २००७ मा उनले इम्यानुअलसँग बिहे गरिन् । इम्यानुअल र ब्रिजिटका कुनै सन्तान छैनन् । तर इम्यानुअल ब्रिजिटका तीन छोराछोरीका पिता र सात बच्चाका हजुरबुबा हुन् । ब्रिजिटका छोरा इम्यानुअलभन्दा दुई वर्ष जेठा छन् । उमेरमा इम्यानुअल ब्रिजिटभन्दा २४ वर्ष कान्छा छन् । तर यसले उनीहरूको सम्बन्धलाई कुनै असर पारेको छैन । एक अन्तरवार्तामा ब्रिजिटले इम्यानुअलका बारेमा भनेकी छन्– ‘उनी कुनै अर्को ग्रहका प्राणी हुन्, जसमा दुर्लभ बुद्धिमत्ताका साथै असाधारण मानव गुण छन्, उनी एक दार्शनिक हुन्, जो बैंकर बने र अब राजनेता बनेका छन् ।’

प्रकाशित : वैशाख २६, २०७४ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?