कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

जकार्ताका गभर्नरलाई २ वर्षको जेल

एजेन्सी

जकार्ता — इस्लामको निन्दा गरेको आरोपमा जकार्ताका गभर्नर बासुकी जहाजा पुर्नामालाई मंगलबार दुई वर्षको जेल सजाय तोकिएको छ । उनी क्रिश्चियन धर्मावलम्बी हुन् ।

जकार्ताका गभर्नरलाई २ वर्षको जेल

दक्षिण जकार्ताको अदालतबाहिर मानिसको व्यापक प्रदर्शनका बीच न्यायाधीश द्विआर्सो बुदी सन्तिआर्तोले उक्त सजाय सुनाएका हुन् । उनले गभर्नरको चुनावी अभियानका क्रममा गत सेप्टेम्बरमा कुरानलाई उद्धृत गर्दै ‘केही मानिसले आफूलाई भोट नदिने’ बताएका थिए । उक्त अभिव्यक्तिले इस्लामको निन्दा भएको भन्दै मुद्दा परेको थियो ।

निवेदकले १ वर्ष सजाय माग गर्दै मुद्दा दायर गरेकोमा अदालतले २ वर्षको जेल सजाय तोकेको हो । फैसलालगत्तै उनलाई पूर्वी जकार्तास्थित सिपिनाङ जेलमा लगिएको छ ।

मानवअधिकारकर्मीहरूले अदालतको फैसलाको आलोचना गरेका छन् । उनीहरूले अदालतले आफ्नो स्वतन्त्रता गुमाएको टिप्पणी गर्दै मंगलबारको दिन इन्डोनेसियाकै इतिहासमा खराब दिन भनेका छन् । ‘आहोक’ उपनामले परिचित जाहाजा गत महिना भएको गभर्नर निर्वाचनमा कट्टर इस्लामिक समूहहरूद्वारा समर्थित उम्मेदवार एनिस बास्वेदानद्वारा पराजित भएका थिए । एनिसले आगामी अक्टोबरमा पद सम्हाल्नेछन् ।

जाहाजा राष्ट्रपति जोको विडाडोका सहयोगी हुन् । यो फैसला सरकारका लागि गम्भीर झट्काको रूपमा मानिएको छ । उनी स्वच्छ र योग्य शासनका लागि प्रशंसित राजनीतिज्ञ मानिन्थे ।

जहाजाका वकिलले फैसलाविरुद्ध पुनरावलोकन गरिने बताएका छन् । कडा सुरक्षाबीच फैसला हुँदै गर्दा अदालतबाहिर सयौंका संख्यामा उपस्थित मुस्लिम कट्टरवादी समूहले जहाजालाई अधिकतम सजाय दिनुपर्ने माग गरेका थिए ।

गभर्नर जाहाजाका समर्थक र विरोधीबीच हिंसा भड्कन नदिन अदालतबाहिर हजारौं प्रहरी परिचालन गरिएको थियो । यस्तै मुद्दामा एक दशकयता १ सयभन्दा बढी मानिसलाई जेल सजाय तोकिएको छ ।

प्रकाशित : वैशाख २७, २०७४ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?