दक्षिण कोरियामा राष्ट्रपति निर्वाचन: उदारवादी धारका मुनको पक्षमा जनमत

सोल — दक्षिण कोरियामा राष्ट्रपतिका लागि मंगलबार भएको निर्वाचनमा उदारवादी मुन जे–इन विजयी हुने देखिएको छ । मतदान सकिएलगत्तै सार्वजनिक गरिएको सर्वेक्षणले मुनको पक्षमा ४१.४ प्रतिशत मत परेको देखाएको छ ।

दक्षिण कोरियामा राष्ट्रपति निर्वाचन: उदारवादी धारका मुनको पक्षमा जनमत

उनी उत्तर कोरियासँग वार्ताका पक्षधर हुन् । यद्यपि मुन विजयी भएको औपचारिक घोषणा हुन बाँकी छ । उनले बुधबार पदको शपथ लिनेछन् । सर्वेक्षण दक्षिण कोरियाका तीन टेलिभिजन स्टेसनले संयुक्त रूपमा गरेका हुन् ।

उत्तर कोरियाविरुद्ध कडा अडान लिनुपर्ने पक्षका होङ जुन–प्योको पक्षमा २३.३ प्रतिशत मत परेको देखिएको छ । यस्तै, मध्यमार्गी धारका उम्मेदवार आहन चोल–सूले २१.८ प्रतिशत मत ल्याउने देखिएको छ । निवर्तमान राष्ट्रपति पार्क ग्युन हे भ्रष्टाचार अभियोगमा पदमुक्त भएपछि नयाँ राष्ट्रपति चयन गर्न मतदान भएको हो । 

प्रारम्भिक नतिजा सार्वजनिक भएलगत्तै मुनको डेमोक्रेटिक पार्टीले मुख्यालयमा खुसी मनाएको छ । उत्तर कोरियासँगका वार्ताका पक्षधर मुनको विजयले आणविक तथा मिसाइल कार्यक्रमविरुद्ध उत्तर कोरियाको सामना गर्ने दक्षिण कोरियाको प्रयास कमजोर हुनेमा अमेरिकी नेताहरू चिन्तित देखिएका छन् । मुनको विजय दक्षिण कोरियाको शासनमा उदारवादीको पुनरागमनका रूपमा लिइएको छ । यसअघि कन्जरभेटिभ लगातार नौ वर्षसम्म दक्षिण कोरियाको सत्तामा थियो । सन् १९९८ देखि २००८ को बीचमा प्रोग्रेसिभ पार्टी सत्तामा बसेको बाहेक अधिकांश समय कन्जरभेटिभ नै सत्तामा छ । 

मुन सन् २००० को सुरुमा दक्षिण कोरियाली सरकारमा रहँदा उत्तर कोरियासँग ‘सहयोगको नीति’ थियो । तर उत्तरले आणविक परीक्षण गरेपछि यो नीति हटाइएको थियो । ८ वर्षदेखि सोल र वासिङ्टन डीसीले उत्तर कोरियामाथि कडा प्रतिबन्धको कदम चाल्दै आएका छन् । 

को हुन् मुन ?
दक्षिण कोरियामा राष्ट्रपति पदमा विजय सुनिश्चित भएका मुन उत्तर कोरियाली शरणार्थीका छोरा हुन् । उनी सैनिक शासक पार्क चुङ–हेविरुद्धको आन्दोलनका क्रममा सन् १९७० मा जेल परेका थिए । मानवअधिकारका पक्षमा वकालत गर्ने कानुनकर्मी बन्नुअघि उनले दक्षिण कोरियाको विशेष बलमा पनि काम गरेका थिए । सन् २०१२ मा भएको राष्ट्रपति निर्वाचनमा पनि उनी डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार थिए । 

के हो उनको नीति ? 
मुन उत्तर कोरियाविरुद्ध दबाब र प्रतिबन्ध कायमै राख्दै वार्ता गर्नुपर्ने पक्षको वकालत गर्दै आएका छन् । यसविपरीत पूर्व राष्ट्रपति पार्क ग्युङ हेले उत्तर कोरियासँगका सबै सम्बन्ध कटौती गरेकी थिइन् । उनले उत्तर कोरियाको आणविक विकासलाई रोक्न असफल भएको भन्दै पहिलेका कन्जरभेटिभ प्रशासनको आलोचना गर्दै आएका छन् ।

प्रकाशित : वैशाख २७, २०७४ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?