कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

ट्रम्पद्वारा एफबीआई निर्देशक बर्खास्त

एजेन्सी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय अनुसन्धान ब्युरो (एफबीआई) का निर्देशक जेम्स बी कोमेलाई बर्खास्त गरेका छन् । कानुन मन्त्रालयका वरिष्ठ अधिकारीहरूको सिफारिसमा कोमेलाई बर्खास्त गरिएको हो ।

ट्रम्पद्वारा एफबीआई निर्देशक बर्खास्त

पूर्व विदेशमन्त्री एवं राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनको इमेलबारेको अनुसन्धान गलत तरिकाले गरेको र त्यसो गर्दा एफबीआई तथा कानुन मन्त्रालयको विश्वसनीयतामाथि आँच पुर्‍याएको आरोप कोमेमाथि लगाइएको छ ।

कोमे बाराक ओबामाको कार्यकालमा २०१३ सेप्टेम्बरमा नियुक्त भएका थिए । अमेरिकी संघीय कानुनअनुसार एफबीआईका निर्देशकसहित कानुन मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूलाई नियुक्त तथा बर्खास्त गर्ने अधिकार राष्ट्रपतिलाई हुन्छ ।

तर नियुक्त हुने व्यक्तिले सुनुवाइ प्रक्रिया र सिनेटमा बहुमतबाट पारित हुनुपर्ने प्रावधान छ । गत वर्षको राष्ट्रपति निर्वाचनमा रूसी हस्तक्षेपमा ट्रम्पको संलग्नताबारेको अनुसन्धानको नेतृत्व लिइरहेका कोमेलाई बर्खास्त गरिएको हो । कोमेको बर्खास्तगीले उक्त अनुसन्धानमा कस्तो असर पर्नेछ भन्नेबारे स्पष्ट भइसकेको छैन । तर, डेमोक्रयाट सांसदहरूले कोमे बर्खास्त प्रकरणबाट अनुसन्धान प्रभावित हुनेमा आफूहरू चिन्तित रहेको बताएका छन् ।

महान्यायाधिवक्ता जेफ सेसन्सले एफबीआईएको निमित्त निर्देशकमा एन्ड्रयु म्याकक्याबे हुने घोषणा गरेका छन् । म्याकक्याबे कोबेको कार्यकालमा दोस्रो बरियतामा थिए । नयाँ निर्देशकको खोजी पनि तत्कालै सुरु भएको अधिकारीहरूले जनाएका छन् ।

क्लिन्टनले सन् २००९ मा विदेशमन्त्री हुनुअघि प्रयोग गरेको निजी इमेलबारेको अनुसन्धानमा कोमे र म्याकक्याबेले निर्वाह गरेको भूमिकाको ट्रम्पले आलोचना गरेका थिए । राष्ट्रपति निर्वाचन हुनु ११ दिनअघि एफबीआईले क्लिन्टनको इमेलबारे अनुसन्धान पुन सुरु गरेको थियो । क्लिन्टनले सरकारी प्रयोजनका लागि निजी इमेल सर्भर प्रयोग गरेको खुलासा भएपछि एफबीआईले २०१५ को मेदेखि अनुसन्धान थालेको थियो ।

त्यसको रिपोर्ट आएपछि कोमेले ‘क्लिन्टन अत्यन्त लापरबाह’ भएको भन्दै उनीविरुद्ध कुनै पनि अभियोग दर्ता नहुने बताएका थिए । ह्वाइटहाउसमा आयोजित ब्रिफिङमा प्रेस सेक्रेटरी सिन स्पाइसरले कोमेको बर्खास्तगी तत्काल लागू हुने बताए । बर्खास्तगीबारे निर्णय हुँदा कोमे लस एन्जलसमा एफबीआई एजेन्टहरूलाई सम्बोधन गर्दै थिए । उनले आफू बर्खास्त भएको कुरा टेलिभिजन समाचार हेरेर थाहा पाएका थिए । सुरुमा उनी ठट्टा भन्दै हाँसेका थिए ।

डेमोक्रेट सिनेटर चुक सुमरले ट्रम्पको रूसी सबन्धबारे ढाकछोप गर्न एफबीआई निर्देशकलाई हटाइएको आरोप लगाएका छन् । डेमोक्रयाटहरूले यस मुद्दाको अनुसन्धानलाई निरन्तरता दिन विशेष अभियोक्ता नियुक्त गर्न माग गरेका छन् । एफबीआईको एक सयवर्षे इतिहासमा अहिलेसम्म एकजना मात्र निर्देशक बर्खास्त भएका छन् । १९९३ मा बिल क्लिन्टनले विलियम सेसन्सलाई एफबीआई निर्देशकबाट बर्खास्त गरेका थिए ।

प्रकाशित : वैशाख २८, २०७४ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?