‘शान्तिका लागि जे पनि गर्न तयार छु’

एजेन्सी

बेथलेहेम — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र प्यालेस्टाइनबीच शान्ति स्थापना गराउन आफू जे पनि गर्न तयार रहेको बताएका छन् ।

‘शान्तिका लागि जे पनि गर्न तयार छु’

प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बाससँगको भेटमा ट्रम्पले आतंकवादविरुद्धको लडाइँमा आवश्यक कदम चाल्ने प्रतिबद्धता प्यालेस्टाइनी नेताले जनाएकोमा खुसी व्यक्त गरे ।
 
‘इजरायल र प्यालेस्टाइनका बीचमा शान्तिसम्झौता गराउन म प्रतिबद्ध छु, त्यस उद्देश्य प्राप्तिका लागि म जेसुकै सहयोग र भूमिकाका लागि तयार छु,’ प्यालेस्टाइनी राष्ट्रपति अब्बाससँग ट्रम्पले भने । ट्रम्प र अब्बासबीच भेटवार्ता मंगलबार वेस्ट बैंकमा भएको हो । इजरायल र प्यालेस्टाइनबीच तीन वर्षदेखि शान्तिवार्ता हुन सकेको छैन । ट्रम्पले प्यालेस्टाइनी प्रशासनका प्रमुख र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले असल लक्ष्यपूर्तिको दिशामा सँगै मिलेर काम गर्न आफू तयार रहेको बताएका थिए । ट्रम्प–अब्बास भेटवार्ता दुई देशको युद्ध अन्त्य र शान्तिसम्झौतामा केन्द्रित भएको अधिकारीले जनाएका छन् । 

भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति अब्बासले उपलब्धिमूलक शान्तिसम्झौताका लागि अमेरिकासँग सहकार्य गर्न तयार रहेको बताएका थिए । आठदिने विदेश भ्रमणको अन्तिम दिन ट्रम्प प्यालेस्टाइन पुगेका हुन् । इजरायली संग्रहालय भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले आफ्नो भ्रमण दुवै मुलुकलाई एक बनाउन केन्द्रित रहेको बताउँदै प्यालेस्टाइनीहरू वार्ताका लागि तयार रहेको बताए । 

पश्चिमी किनारा र पूर्वी जेरुसेलमको विषयमा दुई देशबीच लामो समयदेखि विवाद छ । यी दुई स्थानमा इजरायलले ५० वर्षदेखि कब्जा जमाउँदै आएको छ । यसैगरी, इजरायली सरकारका केही प्रभावशाली सदस्यहरूले समेत विवादित भूभाग यहुदीहरूको सम्पत्ति भएको बताउने गरेका छन् । 

ट्रम्पविरुद्ध प्रदर्शन
प्यालेस्टाइनीहरूले सोमबार पश्चिमी किनाराका सैनिक चेकप्वाइन्टमा जम्मा भएर ट्रम्पको भ्रमण र इजरायली जेलको अवस्थाबारे प्रदर्शन गर्नुका साथै ढुंगा प्रहार गरेका थिए । त्यस क्रममा इजरायली सेना र प्यालेस्टाइनी युवाबीच झडप भएको थियो । सेनाले पनि टियर ग्यास र रबरका गोली प्रहार गरेको थियो भने एकजना घाइते भएका छन् । 

प्यालेस्टाइनी बन्दीको समितिले ट्रम्पको भ्रमणको दिनलाई ‘विरोध दिन’ भनेका थिए । इजरायली जेलमा रहेका सयौं प्यालेस्टाइनी बन्दीहरू १७ अप्रिलदेखि अनसनमा छन् । 

प्रकाशित : जेष्ठ १०, २०७४ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?