‘बेलायतमा २३ हजार जिहादी लडाकु’
काठमाडौं — बेलायती राष्ट्रिय अनुसन्धान निकाय (गुप्तचर) ले मुलुकभर २३ हजारको हाराहारीमा मुस्लिम अतिवादी जिहादी लडाकु रहेको जनाएको छ । उक्त निकायले सरकारसमक्ष पेस गरेको प्रतिवेदन आइतबार सार्वजनिक भएको हो ।
उनीहरूलाई विभिन्न आतंकवादी संगठनले आत्मघाती आक्रमणमा प्रयोग गर्ने गरेकोसमेत प्रतिवेदनमा जनाइएको छ । आत्मघाती बम आक्रमण वा अन्य प्रकारका हिंसात्मक घटना रोक्ने अवसर गुमाउँदा सोमबार राति म्यान्चेस्टर एरिनामा आत्मघाती आक्रमण भएको भन्दै आलोचना भएपछि बेलायती राष्ट्रिय सुरक्षा सेवाले लन्डनमा पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।
२३ हजार लडाकुमध्ये करिब ३ हजार आत्मघाती आक्रमणकारी बेलायतलाई जहिले पनि अधिकतम खतरनाक साबित भइरहेका र बाँकी २० हजार अलि कम खतरनाकको श्रेणीमा परे पनि उनीहरूमाथि कडा निगरानी राखी सदैव सतर्क रहनुपर्ने समेत खुलासा गरिएको छ ।
म्यान्चेस्टर आक्रमणपछि बेलायती प्रहरी र अनुसन्धान निकायले गत एक साताभित्र सञ्चालन गरेको अनुसन्धान तथा अपरेसन कारबाहीका क्रममा यो तथ्य पत्ता लागेको जनाइएको छ । गत सोमबार साँझ अमेरिकी कलाकार एरिआना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै भएको आक्रमणमा २२ जनाको मृत्यु भएको थियो ।
यसैबीच, हरेक वर्ष मे महिनाको मध्यमा आयोजना गरिने हाफ म्याराथन ‘ग्रेट म्यानचेस्टर रन’ यसपटक म्यानचेस्टर आक्रमणका पीडितप्रति अर्पण गरिएको छ । आक्रमणमा संलग्न भएको भनिएका सलमान अवेदीले आत्मघाती विस्फोट गराउनु केही मिनेटअघिको तस्बिर पनि आइतबार सार्वजनिक गरिएको छ ।
प्रकाशित : जेष्ठ १५, २०७४ १२:२७