३ आक्रमणकारी पहिचान

लन्डन आक्रमण
सीएनएन/बीबीसी

लन्डन — बेलायती प्रहरीले शनिबार राति भएको लन्डन आक्रमणमा संलग्न ३ आतंककारीको परिचय खुलाएको छ । प्रहरीले खुराम बट, रचिद रेदुआन र युसेफ जग्बाको नाम जारी गरेको छ । लन्डन ब्रिज र बरो मार्केटमा भएको आक्रमणमा ७ जनाको ज्यान गएको थियो भने ४८ जना घाइते भएका थिए ।

३ आक्रमणकारी पहिचान

आतंककारीले पहिले भाडाको भ्यान पैदल यात्रीमाथि कुदाएका थिए र त्यसपछि रेस्टुरेन्ट र बारमा मानिसलाई छुराले अन्धाधुन्ध आक्रमण गरेका थिए । प्रहरीले ८ मिनेटभित्र तीनैजना आतंककारीलाई गोली हानी मारेको थियो । चरमपन्थी संगठन इस्लामिक स्टेटस (आईएस) ले आक्रमणको जिम्मेवारी लिइसकेको छ ।

पूर्वी लन्डनस्थित बार्किङ बस्ने २७ वर्षीय बट पाकिस्तानमा जन्मिएका ब्रिटिस नागरिक भएको प्रहरीले जनाएको छ । त्यस्तै, प्रहरीले ३० वर्षीय रेदुआन मोरक्कन–लिबियन र २२ वर्षीय जग्बा इटालियन–मोरक्कन नागरिक भएको बताएको छ ।

तीमध्ये बट प्रतिबन्धित चरमपन्थी समूह अल मुहाजिरोसँग सम्बन्धित थिए । उनीबारे जानकार हुँदाहुँदै पनि प्रहरीले उनलाई किन कारबाही गर्न सकेन भन्ने प्रश्न अहिले उठाइएको छ । लन्डन महानगरीय प्रहरीका उपप्रमुख मार्क रोवलेले बटबारे प्रहरीलाई पूर्वजानकारी भएको स्विकारे । ‘तर, शनिबार भएको आक्रमणको योजनाबारे हामीसँग कुनै खुफिया सूचना थिएन,’ उनले भने । विदेशमन्त्री बोरिस जोन्सनले ब्रिटेनका गुप्तचर संस्थामाथि सवाल उठाइने बताए । ‘मानिस अखबारका पहिलो पृष्ठ हेरेर सोधिरहेका छन्,’ जोन्सनले भने, ‘हामीले कसरी यस्तो घटना हुन दियौँ ?’

लन्डन महानगरीय प्रहरीले आक्रमणपछि १२ जना संदिग्ध व्यक्तिलाई पक्राउ गरे पनि हाल उनीहरूलाई मुक्त गरिएको आफ्नो टीटर एकाउन्टमार्फत बताएको छ ।

प्रकाशित : जेष्ठ २४, २०७४ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?