२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

चटपट–झटपट

सुशील पौडेल

नायक प्रदीप खड्कालाई एउटै फिल्म ‘प्रेमगीत’ ले ह्वात्तै चर्चामा ल्याइदियो । जबकि त्यसअघि पनि उनले ‘स्केप’ भन्ने फिल्म खेलिसकेका थिए । तर त्यो फिल्मकै त चर्चा हुन पाएन, प्रदीपको के होस् ।
यतिबेला फेरि उनी अभिनीत तेस्रो फिल्म ‘प्रेमगीत २’ रिलिज हुँदै छ ।

चटपट–झटपट

प्रदीप बन्लान् त राजा ?

नायक प्रदीप खड्कालाई एउटै फिल्म ‘प्रेमगीत’ ले ह्वात्तै चर्चामा ल्याइदियो । जबकि त्यसअघि पनि उनले ‘स्केप’ भन्ने फिल्म खेलिसकेका थिए । तर त्यो फिल्मकै त चर्चा हुन पाएन, प्रदीपको के होस् ।
यतिबेला फेरि उनी अभिनीत तेस्रो फिल्म ‘प्रेमगीत २’ रिलिज हुँदै छ । तर यो साता ‘प्रेमगीत’ का प्रेम ‘राजा’ को ठाँटमा देखापरे, दरबारमार्गकै एकतारे होटलमा । कार्यक्रम थियो, नेपाली इतिहासमा १३ औं शाह वंशीय राजाका रूपमा घोषणा भएका दीपेन्द्र शाहको प्रेमकथामा आधारित रही बनाउने भनिएको ‘दीपेन्द्र सरकार’ फिल्म घोषणा । राजा दीपेन्द्रकै झल्को दिने गरी भरमग्दुर प्रयाससहित प्रदीप कार्यक्रममा त देखिए तर उनीबाहेक फिल्मका कास्ट एन्ड क्रु कुनै निश्चित थिएन । ‘प्रेमगीत’ कै निर्माता सन्तोष सेनले ५ करोड रुपैयाँभन्दा बढी बजेट लाग्ने बताइरहँदा न फिल्मको निर्देशक को हुने भन्ने पत्तो थियो, न त दीपेन्द्रकी प्रेमिका देवयानी बन्ने नायिका नै खुलाइयो । दरबार हत्याकाण्ड भएकै मिति जेठ १९ को पूर्वसन्ध्यामा हतारहतारमा गरिएको ‘दीपेन्द्र सरकार’ घोषणा कार्यक्रममा प्रदीपले त राम्रै चर्चा पाए पनि, तर फिल्म बन्नेमा भने अझै केही आशंका राखिएको छ । चलचित्र विकास बोर्डमा फिल्मको नाम दर्तादेखि निर्माण इजाजत नै नलिई अनावश्यक पब्लिसिटी स्टन्टमा उत्रिइएको छ । बोर्ड अध्यक्ष राजकुमार राई भने त्यो नामको फिल्मबारे कुनै जानकारी नआएको प्रतिक्रिया दिँदै त्यस्तो विषयमा फिल्म बन्न गाह्रो हुने प्रतिक्रिया दिनुले कतै प्रदीपको दीपेन्द्र बन्ने चाहना फोटोमा मात्रै त सीमित हुने हैन ?

आर्यन काखा सुदर्शन पाखा
फिल्म क्षेत्रमा काखी च्याप्ने वा लात्ती हानेर पाखा पुर्‍याउने प्रचलन नौलो हैन । यतिबेला यस्तै गरेकी छन्, नायिका रेखा थापाले ।

लामो समय राजनीतिक वृत्तमा हराएर फेरि फिल्म निर्माण र अभिनयमा लागेकी रेखाले होम प्रोडक्सन ‘रुद्रप्रिया’ का लागि आफ्नो अपोजिटमा निर्देशक समेत रहेका सुदर्शन थापालाई लिने घोषणा नै गरिन् । सुदर्शन निर्देशनमा चम्के पनि अध्ययन भने उनको अभिनयमा हो । तर त्यही अभिनय क्षेत्रमा भने सुदर्शन जम्न त परैको कुरा चान्स पनि पाइरहेका छैनन् । केही अघि नै निर्देशक गोपालचन्द्र लामिछानेले ‘लम्फु’ को लिडमा खेलाउने भने । केही भाग छायाकनसमेत भएपछि अचानक सुदर्शन ‘लम्फु’ टिमबाट आउट भए । यतिबेला नयाँलाई लिएर उक्त टिमले छायाकनसमेत सकाएको छ । पछि सुदर्शनलाई आलोक नेम्वाङले ‘अझै पनि’ बाट डेब्यु गराए । फिल्म हेर्नै दर्शक हलमा नआएपछि सुदर्शनको कामको मूल्यांकन हुने कुरै भएन । बल्लबल्ल रेखाको अपोजिटमा खेल्ने कुराले राहत महसुस गरेका सुदर्शनलाई फेरि रेखाले पनि पाखा पारेकी छन् । फिल्ममा ‘प्रिया’ को भूमिकामा देखिने रेखाले आफ्नो ‘रुद्र’ आर्यन सिग्देललाई छानेकी छन् ।

पछिल्लो फिल्म ‘कसले चोर्‍यो मेरो मन’ मा सँगै देखिएका आर्यन र रेखाबीच त्यसपछि बोलचाल नै टुटेको थियो । अहिले अचानक दुईबीच मिल्ती हुनुको घाटा सुदर्शनलाई भयो । रेखाले आर्यनलाई काखा च्यापिदिएपछि उनी पाखा परे । हुन त सुदर्शन पनि यतिबेला आफ्नै निर्माण, निर्देशन रहेको फिल्म ‘म यस्तो गीत गाउँछु’ को पोस्ट प्रोडक्सनदेखि प्रचारप्रसारको चटारोमा व्यस्त पनि छन् । यस्तो अवस्था छोडेर ‘रुद्रप्रिया’ को छायाकनमा जानु सहज पनि थिएन । तर रेखासँग अपोजिटमा देखिने चाहना त सुदर्शनले सायदै छोड्थे होलान् ?

‘आधा लभ’ जोडी
जोडी बन्नु र भत्किनु ग्ल्यामर फिल्डमा सामान्य भइसक्यो । हामीकहाँ पनि एक्टर, मोडलबीच त्यस्तो प्राक्टिस चल्न थालेको छ ।

नजिकबाट चिन्नेहरू नायिका ऋचा शर्मालाई पनि प्रेमचरी ठान्छन् । ऋचामा अथाह प्रेमभाव भएकै कारण रिलेसनसिपमा रहन रुचाउँछिन् भन्छन् । अभिनयमा आफूलाई अब्बल सावित गरिसकेकी ऋचाले प्रेमलाई विवाहमा परिणत गरी मायामा आफूलाई कहिले सावित गर्ने हुन् त्यो त समयले नै बताउला । तर यतिबेला भने उनी ‘आधा लभ’ का कारण चर्चामा छिन् । बलिउडमा भर्खरै ‘हाफ गर्लफ्रेन्ड’ ले दर्शक रिझाइरहेका बेला ऋचा ‘आधा लभ’ फिल्मबाट यसै शुक्रबारदेखि हलमा आएकी छन् ।

अपार्टमेन्टमा बस्नेहरूको कथा मात्रै भनिएकाले फिल्मबारे खासै खुलस्त त पारिएको छैन, तर ऋचाका जीवनका आधा लभ भने खुलस्त छन् । कुनै बेला नायक विनय श्रेष्ठसँगको प्रेममा खुलेकी ऋचाको पछि निर्देशक निश्चल बस्नेतसँग पनि नाम जोडिन पुग्यो । तर त्यसबारे दुवैले कहिल्यै हो भनेनन् । निश्चलको बिहेमा ऋचा स्वयं सरिक थिइन् । राष्ट्रिय पुरस्कार विजयी ऋचाको नाम मिडियाले यदाकदा नायक गौरव पहारीसँग पनि जोडे । हुन त दुई असल साथी पनि हुन् । अब यतिबेला शंकाको खेती ‘आधा लभ’ कै निर्देशक अर्पण थापासँग गर्न पनि थालिएको छ । अर्पणसँगको लभ फिल्मकै जस्तो आधाआधीमै मात्र सीमित हो वा पूरै चुर्लुम्म डुबेकी हुन्, त्यो त स्वयं ऋचाले नै भनुन् । नत्र हल्ला शंका गर्नेलाई कतिसम्म सोच्ने भन्नेमा कुनै छेकबार हुँदैन है ।

प्रकाशित : जेष्ठ २६, २०७४ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?