कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

को होला भारतको आगामी राष्ट्रपति ?

कमलदेव भट्टराई

नयाँदिल्ली — अबको ४५ दिनपछि भारतीय राष्ट्रपति प्रवण मुखर्जीको कार्यकाल सकिँदैछ । त्यसै गरी आगामी ४०औं दिनमा राष्ट्रपतिको निर्वाचनको कार्यतालिका भारतको निर्वाचन आयोगले गरिसकेको छ । को बन्ला त भारतको नयाँ राष्ट्रपति ? तर अहिलेसम्म राष्ट्रपतिका सम्भावित उम्मेदवारहरुको नाम समेत सार्वजनिक भएको छैन ।

को होला भारतको आगामी राष्ट्रपति ?

अहिलेसम्म विपक्षीको तर्फबाट चर्चामा रहेका उम्मेदवारहरुमा जनता दल युनाइटेडका शरद यादव, नेसनलिस्ट कंग्रेसका शरद पवर र पूर्वप्रधानमन्त्री मनमोहन सिंह रहेका छन् । त्यसै गरी महात्मा गान्धीका नाति गोपालकृष्ण गान्धीको नाम पनि चर्चामा रहेका छन् ।

भारतीय जनता पार्टीको तर्फबाट भने झारखण्डका गर्भनर द्रौपदी मुरमुको नाम चर्चामा रहेको छ । उनको उम्मेदवारीले झारखण्डमा आफ्नो पोजिसन बलियो बनाउने भाजपाका नेताहरुको भनाइ रहेको छ । त्यसै गरी वीजेपीले पूर्वसभामुख मीरा कुमारलाई उठाउने सम्भावना समेत रहेको छ । उता शिव सेना तथा वीजेपीको हार्डलाइनर नेताहरुले भने राष्ट्रिय स्वयंसेवक संघका प्रमुख मोहन भगवतलाई समेत अगाडि सारिरहेका छन् ।

हालका विदेशमन्त्री सुष्मा स्वराजको नाम पनि राष्ट्रपतिको उम्मेदवारको रुपमा चर्चामा रहेको छ । यस अगाडि लालकृष्ण आडवाणी तथा मनोहर जोसीको नाम पनि चर्चामा रहे पनि उनीहरुविरुद्ध बाबरी मस्जिदको मुद्दा पुन: सतहमा आएकाले उनीहरुको सम्भावना लगभग न्यून रहेको छ ।

भारतको विपक्षी दल इन्डियन नेसनल कंग्रेसले विपक्षी दलहरुको तर्फबाट साझा उम्मेदवार उठाउनको लागि बारम्बार बैठक गरिरहेको छ । तर, पनि नामचाहिँ तय भएको छैन् । हालै सम्पन्न उत्तर प्रदेश तथा अन्य विधानसभा निर्वाचन जितेर सत्तारुढ भारतीय जनता पार्टीले आफ्नो स्थिति मजबुत बनाएको छ तर उसको आफ्नै स्पष्ट बहुमत भने छैन ।

विपक्षी र भाजपा दुवैले सम्भावित उम्मेदवारको बारेमा छलफल गरिरहेका छन् तर निर्णय भने लिइसकेका छैनन् । तर, एउटा कुराचाहिँ स्पष्ट छ–सत्तारुढ तथा विपक्षीको साझा उम्मेदवारको सम्भावना भने एकदमै कम रहेको छ । भाजपाको नेतृत्व भने अन्तिम समयमा मात्र उम्मेदवार फाइनल गर्ने मुडमा रहेको छ । विपक्षी कंग्रेसको अध्यक्ष सोनिया गान्धीले विपक्षी दलको साझा उम्मेदवार खडा गर्न प्राय: सबै विपक्षी दलका नेताहरुसँग भेटघाट गरिसकेकी छन् । उनले विहारका मुख्यमन्त्री नितिशकुमार, नेसनलिस्ट कङग्रेसका अध्यक्ष शरद परिवर, भारतीय कम्युनिस्ट पार्टीका महासचिव सीताराम यचुरी तथा जनता दल युनाइटेडका प्रमुख लालु यादवसँग भेटघाट गरिसकेकी छन् । यस पटक पश्चिम बंगालका मुख्यमन्त्री ममता वनर्जी, वहुचन समाज पार्टीका नेता मायावती तथा उत्तर प्रदेशको समाजवादी पार्टी समेत विपक्षी उम्मेदवारको पक्षमा उभिने सम्भावना रहेको छ । तर, केही साना राजनीतिक दलहरु भने राष्ट्रपतिको निर्वाचनको सम्बन्धमा तटस्थ समेत रहेका छन् ।

सार्वजनिक कार्यक्रममा नै यचुरीले भनेका छन, ‘राष्ट्रपतिको निर्वाचनमा विपक्षी दलहरुको साझा उम्मेदवार मोदी सरकारविरुद्ध विपक्षी एकताको पहिलो परीक्षण हो । त्यसैले हामीले साझा उम्मेदवार जसरी पनि दिनुपर्दछ ।’ विपक्षीहरु यो निर्वाचनमा मात्र होइन समग्र राष्ट‍्रिय राजनीतिमा नै भाजपाको बढ्दो प्रभावका सम्बन्धमा कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा छलफल चलिरहेको छ ।

भारतको राष्ट्रपतिको निर्वाचन इलेक्ट्रल कलेजको माध्यमले हुने गर्दछ जसमा लोकसभा सांसदहरु, राज्यसभा सांसद र विधानसभा सदस्यहरु रहने गर्दछन् । लोकसभा र राज्यसभाको कुल संख्या ७ सय ७६ छ भने विधानसभा सदस्यहरुको संख्या ४ हजार १ सय १४ रहेको छ । त्यसमाथि पनि विधानसभा सदस्यको भोटको संख्या उसले प्रतिनिधित्व गर्ने जनसंख्याले गर्ने गर्दछ ।  

प्रकाशित : जेष्ठ २७, २०७४ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?