१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

लन्डन टावर आगलागीमा मृत्यु हुनेको संख्या १२ पुग्यो

काठमाडौं — पश्चिम लन्डनको नटिङ हिलनजिक अवस्थित २४ तले आवासीय भवनमा मंगलबार राति भीषण आगलागी हुँदा मर्नेको संख्या १२ पुगेको छ । प्रहरीले मृतक संख्या अझ बढ्ने जनाएको छ ।

लन्डन टावर आगलागीमा मृत्यु हुनेको संख्या १२ पुग्यो

घाइते ७४ मध्ये १८ जनाको चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ ।अग्नी नियन्त्रकहरुले ६५ जनाको सकुशल उद्दार गरेका छन् । 

नर्थ केन्जिङटनको ल्याटिमेर रोडमा अवस्थित १२० फल्याट रहेको ६८ मिटर अग्लो ग्रेनफेल टावर (अपार्टमेन्ट) मा राती करिब एकबजेतिर लागेको आगलागीबाट कयौं हताहत भएको अनुमान छ । भवनभित्र ४ देखि ६ सय मानिस रहेको हुन सक्ने अनुमान गरिएको छ । अझै मानिसहरु हराइरहेका छन् ।

...

पश्चिम लन्डनको नटिङ हिलनजिक अवस्थित २४ तले आवासीय भवनमा मंगलबार राति भीषण आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । स्कटल्यान्ड यार्डले मृतक संख्या बढ्ने बताएको छ । लन्डन एम्बुलेन्स सर्भिसले घाइते ७४ जनाको लन्डनका विभिन्न ६ अस्पतालमा उपचार भइरहेको जनाएको छ । तीमध्ये २० घाइतेको अवस्था गम्भीर छ । 

नर्थ केन्जिङटनको ल्याटिमेर रोडस्थित १ सय २० फ्ल्याट रहेको ६८ मिटर अग्लो ग्रेनफेल टावर (अपार्टमेन्ट) मा राति करिब १ बजेतिर आगो सुरु भएको थियो । लन्डन फायर कमिस्नर डेनी कोटोनले अकस्मात् लागेको आगोले हताहती धेरै हुन सक्ने बताउँदै अहिले नै संख्या यकिन नभएको बताइन् ।

 ‘मैले अग्नि नियन्त्रणको काम थालेको २९ वर्षमा यस्तो भीषण आगलागी कहिल्यै देखेको थिइनँ,’ कोटोनले भनिन्, ‘आगोले २४ तला पूरै जलेको छ ।’ बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले भवनभित्र अझै मानिस फसिरहेका छन् कि भन्नेबारे खोजी भइरहेको र उद्धार जारी रहेको बताइन् । उनका अनुसार आगो सुरु भएको ६ मिनेटभित्र अग्नि नियन्त्रक घटनास्थल पुगिसकेका थिए । 

सुतिरहेका बेला उक्त टावर ब्लकमा आगो लागेपछि मानिस ‘बचाऊ बचाऊ’ भन्दै चिच्याइरहेका थिए । कतिपय महिला आफ्ना केटाकेटीलाई झयालबाट फालेर सहयोग याचना गरिरहेका थिए । केन्जिङटन एन्ड चेल्सी काउन्सिलका लिडर निक प्याजेट ब्राउनले सयौं मानिस भवनभित्र हुन सक्ने बताउँदै यकिन संख्याबारे जाँचबुझ भइरहेको बताए । 

दी टेलिग्राफले भवनभित्र ६ सयभन्दा बढी मानिस रहेको हुन सक्ने उल्लेख गर्दै कति जना भागेर ज्यान बचाउन सफल भए भन्नेबारेमा थाहा नभएको जनाएको छ । केटाकेटी र वृद्धवृद्धा अझै हराइरहेका छन् । अग्निपीडितका लागि ल्याटिमेर कम्युनिटी सेन्टर, सेन्ट क्लेमेन्टस् चर्च, हयारो क्लब र रग्बी पोर्टोबेलो ट्रस्टमा आश्रय दिइएको छ । स्थानीय च्यारिटीले पीडितलाई आवश्यक राहत सामग्री वितरण गरेका छन् । 

आगलागी भएको स्थान नेपाली दूतावास नजिक छ । दूतावासका उपनियोग प्रमुख शरदराज आरणले दु:खद घटना सुन्नुपरेको जनाउँदै नेपाली हालसम्म प्रभावित भएको खबर नआएको बताए । उनले दूतावास मेट्रो पुलिस र काउन्सिलसँग सम्पर्कमा रहिरहेको समेत जनाए । 

कम्तीमा ४५ दमकलमा आएका २ सयभन्दा बढी अग्नि नियन्त्रकलाई आगो नियन्त्रणमा लिन हम्मेहम्मे पर्‍यो । सुरु भएको झन्डै १२ घन्टासम्म पनि भवनमा आगो बलिरहेको देखिन्थ्यो । दोस्रो तलाबाट हेर्दाहेर्दै आगो करिब २० मिनेट अवधिमा कसरी तीव्र रूपमा माथि फैलियो भन्नेबारे प्रश्न उठेको छ । 

अधिकारीहरूले आगलागीको कारणबारे अनुसन्धान थालिएको बताएका छन् । प्रधानमन्त्री टेरेजा मेले घटनाप्रति दु:ख व्यक्त गर्दै दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् । लन्डन मेयर सादिक खानले घटना दु:खद र कारुणिक भएको बताउँदै १ सय भन्दा बढी प्रहरी, १ सय प्यारामेडिक्स र २ सय ५० अग्नि नियन्त्रक खटिएको जनाए । ग्रेनफेल एक्सन ग्रुपले चार वर्षयता भवनमा विपत्ति आउन सक्ने जोखिमबारे सम्बन्धित निकायलाई अवगत गराए पनि बेवास्ता गरिएको दाबी गरेको छ । गत नोभेम्बरमा पनि भवनको फायर सेफ्टीबारे प्रश्न उठेको थियो । 

आगोले क्षतिग्रस्त भएपछि उक्त भवन कुन बेला ढल्ने भन्नेबारे चिन्तासमेत व्यक्त गरिएको छ । सन् १९७४ मा निर्मित ल्यानक्यास्टर वेस्ट स्टेट टावर गत वर्ष मे २०१६ मा करिब १ करोड पाउन्ड खर्चमा मर्मत सम्भार र स्तरोन्नति गरिएको जनाइएको छ ।


धेरै मानिस निस्कन सकेनन् : जोडी मार्टिन, प्रत्यक्षदर्शी
मेरो चारैतर्फ भवनको जलेका टुक्रा खसिरहेका थिए । अचानक म एउटा तातो फलामको टुक्रासँग ठोक्किएँ । म अरू मानिसलाई चाँडो बाहिर निस्कन आग्रह गर्दै चिच्याइरहेको थिएँ । 

आगो बढ्दै जाँदा अग्नि नियन्त्रकहरू पनि आइसकेका थिए । मानिस झयालबाट आफ्नो फोन र टर्चलाइट देखाएर उद्धारका लागि अनुनय गरिरहेका थिए । बिस्तारै पूरै भवन आगो र धूवाँले छोपिन थालेको थियो । 

मलाई लाग्छ, भवनमा धेरै मानिस थिए तर बढीजसो बाहिर निस्कन सकेनन् ।
...
बच्चालाई झयालबाट फालिँदै थियो : तमारा, प्रत्यक्षदर्शी
एक बजेतिर आमाले मलाई फोन गर्दै बाहिर आगो लागेकाले चाँडो निस्कन भन्नुभयो । म बाहिर निस्कँदा भवनको देब्रेतिरको भाग पूरै जलिसकेको थियो । पूरै भवन आगोको लपेटाले घेरिएको थियो । मानिस ‘हेल्प मी’ भन्दै सहयोगको याचना गरिरहेका थिए । झयालबाट बच्चालाई फयाँकिरहेका थिए र भन्दै थिए, ‘मेरो बच्चालाई बचाउनुस् ।’ 

त्यहाँ दमकल, प्रहरीको एम्बुलेन्स सबै थिए, तर उनीहरू भवनभित्र जान सकिरहेका थिएनन् । उनीहरू मानिसलाई भित्रै बस्न आग्रह गर्दै आफूहरू आएर उद्धार गर्ने बताइरहेका थिए । १५ मिनेटमै पूरै भवन जल्न थाल्यो । त्यति हुँदा पनि झयालबाट आवाज आइरहेको थियो, ‘हेल्प मी, हेल्प मी ।’ – बीबीसीबाट

प्रकाशित : असार १, २०७४ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?