भतिजा हटाएर छोरालाई युवराज

३१ वर्षीय मोहम्मद विन सलमान बने साउदी राजाका उत्तराधिकारी
बीबीसी/सीएनएन

रियाद — साउदी अरबका राजा सलमानले आफ्ना छोरा मोहम्मद विन सलमानलाई उत्तराधिकारी घोषणा गरेका छन् । ५७ वर्षीय भतिजा मोहम्मद विन नायफलाई युवराज पदबाट हटाउँदै उनले आफ्ना ३१ वर्षीय छोरालाई युवराज बनाएका हुन् । बुधबार जारी शाही आदेशलाई उद्धृत गर्दै साउदी प्रेस एजेन्सीले जनाएअनुसार मोहम्मद विन सलमानलाई उपप्रधानमन्त्रीको जिम्मेवारी पनि दिइएको छ ।

भतिजा हटाएर छोरालाई युवराज

यसअघि उनले निर्वाह गरेको रक्षामन्त्रीको पदलाई पनि कायमै राखिएको छ । उनले साउदी नेतृत्वमा यमनका विद्रोहीविरुद्ध भएको कारबाही, मुलुकको उर्जा नीति तथा आर्थिक सुधारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । उनले देशको सामाजिक तथा आर्थिक विकासको दीर्घकालीन योजना ‘भिजन २०३०’ पनि घोषणा गरेका छन् । 

युवराजबाट हटाइएका नायफलाई गृहमन्त्रीको पदबाट समेत हटाइएको छ । कानुन संशोधन गर्दै अबदेखि साउदी अरबका संस्थापक राजा फैजल अल साउदका छोरा तथा नातिमात्र राजा तथा युवराज हुने व्यवस्था गरिएको छ । 

युवराजबाट हटाइएका मोहम्मद विन नायफले नयाँ युवराजप्रति राजनिष्ठा व्यक्त गर्दै आफूले अब ‘आराम गर्ने’ बताएका छन् भने नयाँ युवराज विन सलमानले 
नायफको सल्लाहबिना आफूले केही नगर्ने बताएका छन् । 

कसरी भयो परिवर्तन ?
साउदी अरबमा सन् २००६ मा राजा तथा युवराज चयन गर्न शाही आदेशबाट एक समिति गठन गरिएको थियो । उक्त समितिमा अल साउद शाही परिवारबाट वरिष्ठ राजकुमारहरू रहने व्यवस्था गरिएको थियो । मोहम्मद विन सलमानलाई युवराज घोषित गर्ने निर्णयलाई पनि सोही समितिले अनुमोदन गरेको थियो । समितिका ३४ सदस्यमध्ये ३१ जनाले निर्णयमा सहमति जनाएका थिए । 

सन् २०१५ मा सौतेला दाजु अब्दुल्लाह विन अजिजको निधनपछि सलमानले राजगद्दी सम्हालेका थिए । त्यसको केही महिनामै मन्त्रिपरिषद् पुनर्गठन गर्दै सलमानले भतिजालाई युवराज घोषित गर्दा धेरैले अप्रत्यासित शक्ति हस्तान्तरण भनेका थिए । उनले त्यतिबेला भावी शासक मानिएका राजकुमार मुकरिनलाई प्रतिस्थापित गरेका थिए भने सलमानका छोरा मोहम्मन विन सलमान उत्तराधिकारीको दोस्रो लाइनमा थिए । 

विश्लेषकहरूले यो निर्णयले साउदी राजपरिवारमा भएको उत्तराधिकारीको अनिश्चय घटाएको उल्लेख गरेका छन् । राजा सलमानले आफ्ना छोरा र भतिजाहरूबीचको शक्ति संघर्षलाई हटाएको मानिएको छ । 

को हुन् मोहम्मद विन सलमान ? 
सन् २०१५ मा सलमान राजा हुनुअघि मोहम्मद विन सलमान गुमनाम व्यक्ति थिए । त्यसयता भने उनी साउदी अरबका प्रभावशाली व्यक्ति बनेका छन् । उनी सलमानका जेठा छोरा हुन् । किङ साउद विश्वविद्यालयबाट कानुनमा स्नातक गरेपछि उनी सन् २००९ मा पिता रियादका गभर्नर बनेका बेला विशेष सल्लाहकार बनेका थिए । सन् २०१३ मा उनलाई क्राउन प्रिन्स कोर्टको प्रमुख बनाइएको थियो । त्यसको अर्को वर्ष युवराज नायिफ विन अब्दुल अजिजको निधनपछि अहिलेका राजा सलमानलाई युवराज बनाइएको थियो । सन् २०१५ को जनवरीमा राजा अब्दुल्लाह विन अब्दुल अजिजको निधनपछि सलमान राजा बने । त्यसलगत्तै सलमानले आफ्ना छोरालाई रक्षामन्त्री र मोहम्मद विन नायिफलाई सहायक युवराज घोषित गरे । तर २०१५ को अप्रिलमा उनले नायिफलाई युवराज बनाएका थिए ।

प्रकाशित : असार ७, २०७४ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?