२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

जेस्चरको सम्मेलन

जी २० सम्मेलनमा कमै मात्र तितो कुरा हुन्छ, तर हाउभाउले सबै कुरा बताउँछ
संजीव गिरी

५ सेप्टेम्बर, २०१६ । बिहान ९:४५ मा जी–ट्वान्टी हानजाउ सम्मेलनको वेबसाइटमा राखिएको एउटा सूचनाले त्यहाँ जम्मा भएका विश्वभरका झन्डै पाँच हजार पत्रकारलाई एकैचोटि आकर्षित गर्‍यो ।

जेस्चरको सम्मेलन

त्यस दिन साँझपख चिनियाँ राष्ट्रपति सी चिनफिङले निकै दुर्लभ ‘जेस्चर’ मा समापन पत्रकार सम्मेलन गर्दै थिए । सहभागी हुन भने झन्डै डेढ सयले मात्र पाउँथे । एउटा भाग्यमानी म पनि परेँ । सम्मेलन कक्षमा हामीहरूलाई झन्डै तीन घण्टाअगाडि नै पुर्‍याइएको थियो । 

शान्त हलमा राष्ट्रपति सीलाई दर्शकदीर्घाको दोस्रो लहरमा कुर्दा–कुर्दा टोलाइसकेको म झस्किएँ । एक्कासि पानी परेझैँ पटटट....झररर....भयो । आँखै अगाडि सी चिनफिङ दायाँ कुनाबाट एक्लै छिरे । अघिको आवाज त क्यामेराको फ्ल्यासहरूको पो रहेछ । १५ मिनेटजति लिखित भाषण पढेपछि सी खुरुखुरु निस्किए, प्रश्नोत्तरको सत्र नै भएन । मेरा लागि र चीनलाई नजिकबाट पछ्याउनेका लागि त्यो कुनै अस्वाभाविक थिएन । लामो राजनीतिक हैसियत बोकेका र सत्तामा आएदेखि नै आफ्ना नीतिले चीनलाई संसारको केन्द्रविन्दुमा राख्न सफल सीले पत्रकारका केही थान प्रश्न सामना गर्न नसक्ने भन्ने पनि होइन । 
मेरो छेउमा बसेका वालस्ट्रिट जर्नलका एक पत्रकारलाई भने अचम्म लागेछ । मतिर फर्केर सुस्साए, ‘ह्वाट द हेल इज दिस ।’

मैले उनलाई धाप मार्दै भने, ‘दिस इस चाइना, आई गेस ।’ 
...
चल्तीको ढर्रामा स्कुप खोज्नेहरूका लागि जी ट्वान्टीमा कुनै मसला थिएन । त्यहाँ नेताहरूले के–कस्ता कुराहरू बोल्छन्, को–को भेट्दै छन् भन्ने पनि मोटामोटी पहिल्यै थाहा हुन्थ्यो । तैपनि विश्वका सयौं पत्रकार ज्यान फालेर कुदेको कुद्यै थिए । नेपालबाट पुगेको म एउटा ‘मिडकरिअर’ पत्रकार जो त्यहाँ आफ्नो देशलाई कसैगरी जोड्न सक्दैनथ्यो, लाई नेपालमा त्यसको समाचार पठाउन हतारो हुने कुरै थिएन । आर्थिक पत्रकारिता गरिराखेको मेरो मनको अर्को कुनामा भने फ्याट्ट कुनै नेताले कतै नेपाल जोडिहाल्लान् र उता मैले हेडलाइन बनाउन पाउँला भन्ने झिनो आस मात्र थियो । सन् २०१४ को ब्रिस्वेन सम्मेलनमा टर्कीका प्रधानमन्त्री आमेत दोउथोउलुले जी ट्वान्टीको प्रक्रियामा आध्यात्मिक केन्द्रको रूपमा रहेको नेपालजस्ता कम विकसित मुलुकसमेत जोडिनुपर्ने कुरा उठाएका थिए । त्यत्रो ठूलो सम्मेलनमा नेपालको कुरा उठ्नु अस्वाभाविक त थियो नै, अप्रत्यासित झन् बढी थियो । 

हानजाउमा म सन् २०१४ को उक्त घटना सम्झिँदै किन रोमाञ्चित थिएँ भने त्यो चानचुने सम्मेलन होइन भन्ने प्रत्यक्ष देखिरहेको थिएँ । विश्वका २० प्रभावशाली अर्थतन्त्रका नाइकेहरू जुट्नु नै ठूलो समाचार हो । स्कुप खोज्ने पत्रकारहरू त्यस्ता थिए, जो ती राजनेताका हाउभाउ पच्छ्याइरहेका थिए । अझ फोटो पत्रकारहरू त आँखा चिम्म गर्दा केही छुटि पो हाल्छ कि जसरी चनाखो थिए । 

चीनकै लागि यो सम्मेलनको आयोजना निकै विशेष थियो । कतिसम्म भने एक सय दिनअघिबाट नै विभिन्न कार्यक्रम, प्रचारप्रसार गर्दै ‘काउन्टडाउन’ सुरु गरिएको थियो । सय दिनअघि पनि म हानजाउ सहर पुगेको थिएँ । मलाई के कुराले अचम्भित पार्‍थ्र्यो भने त्यतिखेरबाटै त्यहाँ स्वयंसेवकको भूमिकामा लिइएका चार हजार युवामध्ये केही सय विश्वका दर्जनभन्दा बढी भाषामा आधारभूत सञ्चार गर्न सकिने गरी प्रशिक्षित थिए । त्यसको सबैभन्दा बढी उपयोग विभिन्न सुविधाका लागि राखिएका हटलाइन फोनहरूमा भएको थियो । 

सहरका आमजनताले पनि अंग्रेजीमा फाट्टफुट्ट सही, विदेशीसँग बोल्न सकुन् भनेर आम चल्तीका शब्दहरूको चिनियाँ–अंग्रेजी प्रचार गरिएको थियो । चीनको इतिहासमा सन् २००८ को ओलम्पिकपछि आयोजना गरिएको सबैभन्दा ठूलो ‘इभेन्ट’ थियो त्यो । तर त्यति ठूलो इभेन्ट कसरी स–साना कुरासँग जोडिएको हुन्छ भन्ने सजिलै देखिन्थ्यो । म त्यहाँ पुग्दा पूर्वाधार निर्माणका थुप्रै काम भइरहेका थिए । ‘सय दिनमा भ्याउलान् त’ भनेर मनमनै आफैंलाई सोध्थें । सम्मेलनमा पुग्दा त सहरको मुहार नै फेरिएको थियो । एयरपोर्टदेखि सम्मेलन क्षेत्रसम्म पुग्ने एउटा विशेष सडक नै थियो । तर ती हिजोअस्ति मात्र बनेका हुन् भन्ने कत्ति पनि लाग्दैनथ्यो । सुरक्षा प्रमुख चासो त हुने नै भयो । कतिसम्म कडा गरिएको थियो भने केही हप्ताअघिदेखि त्यहाँ कुरिअर सेवासमेत बन्द गराइएको थियो । 
...

सम्मेलनमा नेताहरू आउने क्रम जारी थियो । हामीहरू सम्मेलन केन्द्रमा राखिएको ठूलो स्क्रिनमा एयरपोर्टको लाइभ हेरिरहेका थियौँ । जब अमेरिकी राष्ट्रपति बाराक ओबामा हान्जाउमा ओर्लिए, रेड कार्पेटसहितको भर्‍याङ एयरफोर्स वानसामु पुगेन । केही बेर नै त्यस्तो भएपछि ओबामा जहाजमै जडित भर्‍याङबाट ओर्लिए । त्यस्तो भर्‍याङको प्रयोग खासमा द्वन्द्वग्रस्त मुलुकहरूको यात्रा गर्दा राष्ट्रपति धेरै समयबाहिरको वातावरणमा नरहन परोस् भनेर समय घटाउन मात्र प्रयोग गरिन्छ । कतिसम्म भयो भने तत्कालीन अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार सुजन राइसलाई समेत प्रेस घेरा तोडेर ओबामाको कार्गेडसम्म जानबाट रोकियो । उनलाई रोक्दा चिनियाँ सुरक्षाकर्मीले ‘यो हाम्रो देश हो, हाम्रो एयरपोर्ट हो’ भनेको भिडियो नै सार्वजनिक भयो । 

चिनियाँ अधिकारीहरूले पछि भाषालाई कारण देखाएर उपयुक्त रूपमा सञ्चार हुन नसकेको भनेर पन्छिए । ओबामाले समेत त्यसलाई ठूलो मसला बनाउन चाहेनन् । तर सामान्य अतिथिहरूप्रति त्यति धेरै संवेदनशील भएको चीन ओबामाको हकमा त्यसरी चुक्यो होला भनेर पत्याउने आधारचाहिं छँदै थिएन । अहिले मैले सोचिरहेको छु, यदि डोनाल्ड ट्रम्पलाई त्यस्तो जेस्चर देखाइएको भए उनी के गर्दा हुन् ।

तत्कालै सम्मेलन केन्द्रमा गाइँगुइँ सुरु भइहाल्यो । समाचार त त्यो थियो नै । झट्ट हेर्ने एकथरी पत्रकारहरूले चीनको गम्भीर कमजोरीको र कूटनीतिक अपरिपक्वताका रूपमा औँल्याइरहँदा अर्कोथरीले भने अमेरिकी आधिपत्यको अन्त्य भएको संकेत दिने घटनाको रूपमा विश्लेषण सुरु गरिसकेका थिए । धेरैले दक्षिणी चिनियाँ सागरमा अमेरिकाले दिएको ‘अनावश्यक’ चासोप्रति चीनको मौन आक्रोशको रूपमा बुझे ।

उता सामूहिक फोटो खिच्ने बेला अर्को शक्तिसंघर्षको झल्को पाइन्थ्यो । अगाडिको लहरमा बीचमा आयोजकका हैसियतले सी चिनफिङ थिए । उनको दायाँपट्टि यो वर्ष (सन् २०१७) को आयोजकका हैसियतले जर्मन चान्सलर एन्जेला मार्केल थिइन् भने बायाँतर्फ पछिल्लो (सन् २०१५) को आयोजनका रूपमा टर्कीका राष्ट्रपति रेसेप ताविप एर्दवान थिए । तर रोचक के भइदियो भने मार्केल छेउमा ओबामा र एर्दवान छेउमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आइपुगे । सन् २०१४ मा अस्ट्रेलियाको ब्रिस्वेनमा भएको जी ट्वान्टीमा भने अमेरिकाको नजिकको साझेदार अस्ट्रेलियाले युक्रेन संकटको असन्तुष्टिस्वरूप पुटिनलाई कुनापट्टि स्थान राखिदिएका थिए । 
युक्रेन संकट सेलाए पनि सिरियामा पश्चिमा शक्तिका तारो बनेका बसर अल असादलाई सघाएसँगै रुस पुन: उनीहरूबाट एक्लिएको थियो । तर हान्जाउमा पुटिनलाई विशेष स्थान दिएर राष्ट्रपति सीले आफ्नो महत्त्वपूर्ण अतिथिको दर्जा मज्जैसँग दिए । फोटो सेसनपछिको सँगै निस्किन मिलेको अवसरलाई ओबामा–सीले नजरअन्दाज गरेको दृश्यसमेत कम्ता रोचक थिएन । नभन्दै यो वर्षको तस्बिरमा ट्रम्प नै अघिल्लो लहरको कुनामा परे । अझ योपालि अघिपछि यस्ता शिखर सम्मेलनमा विश्वव्यापी एजेन्डा तय गर्ने र त्यसको नेतृत्व गर्ने अमेरिका नमज्जाले एक्लिएको अनुभव गर्न कठिन थिएन । एन्जेला मार्केलले सम्बोधनका बेला प्रयोग गरेको ‘अमेरिका र बाँकी देशहरू’ भन्ने वाक्यांश विश्वको तापमान घटाउने महत्त्वाकांक्षी पेरिस सम्झौताबाट अमेरिकाले झिकेको हातप्रति ठूलो कटाक्ष थियो । 

हानजाउमै जबकि दुई ठूला अर्थतन्त्र र कार्बन उत्सर्जक राष्ट्रका रूपमा संयुक्त रूपमा ओबामा–सीले पेरिस सम्झौताप्रति औपचारिक सहमति जनाएर विश्वले सुन्न खोजेको सन्देश दिएका थिए । मार्केलले यसपालि व्यङ्ग्य नै गरेकी हुन् ‘हामीे यो भन्न पनि सक्छौं कि हामी भिन्न छौं ।’ सधैं आफ्ना स्वार्थ र विश्वप्रतिको दृष्टिकोणमा ‘कमनालिटी’, ‘सेयर्ड डेस्टिनी’ जस्ता शब्दावली नछुटाउने पश्चिमा विश्वले आफूलाई भिन्न (डिफरेन्ट) भन्नु नै यो सम्मेलनको कडा छाप थियो । ट्रम्पलाई अर्को झट्का त अमेरिकाको समेत सहमतिले मात्र तयार हुने सम्मेलनको संयुक्त वक्तव्यमै पेरिस सम्झौता ‘अपरिवर्तनीय’ भन्ने शब्दले पार्‍यो । अमेरिकाले आफ्नो पाइला विरलै पछाडि साथ्र्यो, यसअघि । 
...

कूटनीतिका महारथीहरू जुट्ने जी ट्वान्टीमा तीता कुरा सायदै कुनै नेताले गर्छन् । तर त्यहाँका जेस्चरमा विरलै मीठा कुरा हुन्छन्् । ती जेस्चरले भने विश्वको शक्तिसंघर्ष र आयाम कतातर्फ गइरहेको भन्ने बुझ्न कठिन हुँदैन । हानजाउमा जब अघिपछि अनुहारमा कुनै भाव नल्याईकन र आँखा नजुधाईकन सामान्य शिष्टाचारसहितको हस्तमिलन मात्र गर्ने चिनियाँ राष्ट्रपति सी र जापानी प्रधानमन्त्री सिन्जो आबेले त्यस बेला मन्द मुस्कान दिएर आँखा के जुधाएका थिए, द्विपक्षीय सम्बन्धमा बदलाव आएको भन्दै भोलिपल्टदेखि चीन र जापानका पत्रपत्रिकामा विश्लेषण छाएका थिए । योपटक जब ट्रम्प–पुटिन पहिलोपटक भेट्ने कुरा छायो, सम्मेलनअघिदेखि नै माहोल अर्कै बन्यो । हस्तमिलनका बेला ट्रम्पले पुटिनको हातमुनि जसरी धाप मारे, विश्लेषकहरूले उनीहरूको सम्बन्ध सिर्फ औपचारिक कूटनीतिमा सीमित नरहेको भन्न थाले । 

उत्तर कोरिया त पछिल्ला वर्षमा सधैं जी ट्वान्टीको स्थायी मसालाको रूपमा छ । गत वर्ष सम्मेलनको ध्यान खिच्न ५ सेप्टेम्बरमा जापानी समुद्रतर्फ तीनवटा ब्यालिस्टिक मिसाइल परीक्षण गरेको उत्तर कोरियाले योपटक पनि आफ्नो कर्मकाण्ड छाडेन, सम्मेलनको अघिल्लो दिन अलस्का र हवाई टापुतिर निसाना पार्दै अर्को मिसाइल परीक्षण गर्‍यो । 

सन् २०१६ मा त फिलिपिन्सका राष्ट्रपति रोद्रिगो रोअ दुत्रे शक्तिमा आएसँगै चीनले आफ्नो नयाँ र भरपर्दो साझेदारको पाएको महसुस त्यस बेलाको जेस्चरहरूले राम्रोसँग दिइरहेको थियो । दक्षिण चिनियाँ सागरको रणनीतिक स्वार्थमा कुनै बेलाको अमेरिकाको बलियो मित्र मानिएको फिलिपिन्सले दुत्रेको सत्तारोहणसँगै अमेरिकासँगको सम्बन्धलाई १८० डिग्रीमा परिवर्तन गरेका थिए । र, दुत्रे र सी चिनफिङको हस्तमिलानले त चिनियाँ सञ्चारकर्मीलाई लामो हुटिङ गर्ने ठूलै अवसर दिएको थियो । ओबामाले समेत त्यसको असन्तुष्टि, तय भइसकेको भेटघाट रद्द गरेर दिएका थिए । मैले पनि दुर्लभ मानिएका दृश्यमा अरूलाई पच्छ्याउँदै ताली पिट्न र चिच्याउन रमाइलै मानें । उता क्यानेडियन प्रधानमन्त्री जस्टिन टुडु आउँदा उनको ‘सेक्सी’ र ‘कुल’ अवतार आकर्षणको केन्द्रमा हुन्थ्यो । आर्थिक फोरममा त्यतिखेर भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानको नाम नलिईकनै ‘दक्षिण एसियाभर एउटै देशले आतंकवाद फैलाइरहेको’ मन्तव्य दिएका थिए । दोकलाम सीमामा उत्पन्न बेचैनीमाझ योपटक सी–मोदी साइडलाइनमा बोलेनन् । तर यसको अर्थ नकारात्मक नजाओस् भनेर भारतले भेटघाट नै तय थिएन भनिरह्यो भने चीनले कुराकानीको माहोल नरहेको बतायो । जेसुकै होस्, उनीहरू नभेट्नुको अर्थ सानो थिएन ।

जी ट्वान्टी खासमा यस्तै हल्लाखल्ला र रमझम नै हो । तर कसले कहाँनेर संकेत र हाउभाउले कसलाई ठहरै पारिदिन्छ भन्ने बुझ्ने मञ्च भने अवश्य हो । 
...

हानजाउमा ठूला सञ्चारमाध्यमहरू एउटैले दर्जनौँदेखि एक सयभन्दा बढी पत्रकारहरू खटाएका थिए । सबै नेताहरूलाई पछ्याउने कोही न कोही भइहाल्थे । एक दुई जनाको जनशक्तिले त के भइराखेको छ भन्ने भेउ नै नपाउँदो रहेछ । अझ धेरै प्रभावशाली नेताहरू एकैसाथ हुँदा को महत्त्वपूर्ण हो वा कसको कुराको अर्थ कसरी लगाउने भन्ने सोच्न सक्नु नै ठूलो कुरा रहेछ । त्यसमाथि राजनेताहरू त्यसरी जमघट हुँदा अघिपछि भीभीआईपी लाग्ने मन्त्री र अन्य शीर्ष कर्मचारीहरूसमेत सजिलै ओझेलमा पर्दा रहेछन् । अरू त अरू संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव वान की मुनको पत्रकार सम्मेलनसमेत त्यहाँ धेरै पत्रकारको रुचिमा परेन । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुखदेखि लिएर अन्य थुप्रै क्षेत्रीय संगठनका अध्यक्ष र महासचिवहरू भीभीआईपी नै भईकन पनि ठूला राजनेताका बीचमा ओझेल नै परिरहे । 

म भने एकैपटक त्यत्तिका भीभीआईपीमाझ के गर्ने के नगर्ने दोधारमा थिएँ । मिडिया सेन्टरमा मेरा लागि हाइस्पिडको इन्टरनेट जडित अत्याधुनिक कम्युटर थियो, काँधमा क्यामेरा झुन्डिएकै थियो, ठूल्ठूला नेताका भेटघाट र पत्रकार सम्मेलन सम्मुख रहेर सहभागी भएकै थिएँं । तर मेरो देशको लागि त्यहाँ कुनै समाचार थिएन । संसारको रफ्तारबाट नेपाल कति पर छ वा एक्लिएको रहेछ भन्नेचाहिं मैले छर्लंग देखिरहेको थिएँ । समाचार नलेखे तापनि जी ट्वान्टीको सहभागिताले ममा एउटा अमिट छाप भने छाड्यो । स्कुलमा पढेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘के नेपाल सानो छ ?’ निबन्धले गाडिदिएको धारणा भने नमज्जासँग हल्लिरहेको थियो ।

प्रकाशित : श्रावण २, २०७४ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?