पाकिस्तानको प्रधानमन्त्रीमा अब्बासी

सीएनएन

इस्लामाबाद — पाकिस्तानी संसद्ले पूर्व पेट्रोलियम मन्त्री साहिद खकान अब्बासीलाई प्रधानमन्त्रीमा चयन गरेको छ। गत शुक्रबार नवाज सरिफले राजीनामा दिएपछि रिक्त पदमा उनी निर्वाचित भएका हुन्। सम्पत्तिसम्बन्धी मुद्दामा अदालतले अयोग्य ठहर गरेलगत्तै सरिफले राजीनामा दिएका थिए।

पाकिस्तानको प्रधानमन्त्रीमा अब्बासी

अब्बासी २ सय २१ सांसदको समर्थनमा करिब दुई महिनाका लागि प्रधानमन्त्रीमा चयन भएका हुन्। अब्बासीपछि नवाज सरिफका भाइ मुहम्मद शाहवाज सरिफ प्रधानमन्त्री बन्नेछन्। उनी हाल पञ्जाबका मुख्यमन्त्री छन्।

संसद्को सदस्य नभएका सरिफ प्रधानमन्त्री बन्न नमिलेपछि अब्बासीले छोटो समयका लागि मौका पाएका हुन्। उनलाई पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) को विश्वासपात्र भएकाले प्रधानमन्त्रीमा मनोनीत गरिएको हो। उनले पार्टीमा छलफल गरी नयाँ मन्त्रिपरिषद् गठन गर्नेछन्। पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का अनुसार दुई महिनाभित्र हुने उपनिर्वाचनमा संसद्मा निर्वाचत भएपछि उनलाई प्रधानमन्त्री बनाइनेछ। पीएमएल–एनका १ सय ८८ सांसद भएकाले उनी प्रधानमन्त्री निर्वाचित हुने निश्चित छ।

संसद्मा हाल ३ सय ४२ सांसद छन्। पूर्वक्रिकेटर तथा प्रमुख प्रतिपक्षी दलका नेता इमरान खानले अब्बासी र सरिफको नियुक्तिको आलोचना गरेका छन्। इमरानले दुवैजना भ्रष्टाचारी भएको आरोप लगाउँदै मुद्दा दायर गर्ने बताए। यसअघि पाकिस्तानमा नवाज सरिफपछिको प्रधानमन्त्रीमा छोरी मर्याम सरिफलाई अघि सारिएको थियो। तर, गैरकानुनी वैदेशिक सम्पत्तिमा सरिफ, उनका तीन सन्तान र ज्वाइँको संलग्नताको आरोपमा शुक्रबार नवाज सरिफविरुद्ध अदालतले फैसला गरेको थियो। उनीहरूको लन्डनमा गैरकानुनी सम्पत्ति रहेको सन् २०१६ को अप्रिलमा ‘पनामा पेपर्स’ ले सार्वजनिक गरेको थियो। सरिफका दुई छोरा, छोरी र ज्वाइँको संलग्नताबारे अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्।

तीनपटक गरी सबैभन्दा बढी समय प्रधानमन्त्री बनेका सरिफ पूरा कार्यकाल भने पदमा टिकेनन्। सन् १९९० मा पहिलोपटक प्रधानमन्त्री भएका सरिफले भ्रष्टाचारको आरोपमा राजीनामा दिएका थिए। दोस्रो कार्यकालमा तत्कालीन सेना प्रमुखले अपदस्थ भएका थिए भने पछिल्लोपटक गैरकानुनी सम्पत्तिसम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भएपछि राजीनामा गरेका हुन्।

प्रकाशित : श्रावण १८, २०७४ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?