कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तनाव नबढाऊ : चीन

अमेरिका–उत्तर कोरिया विवाद
एजेन्सी

बेइजिङ — चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिका र उत्तर कोरियालाई तनाव बढ्ने ‘बोली र व्यवहार नियन्त्रण’ गर्न आग्रह गरेका छन् । उत्तर कोरियाको एक प्रमुख मित्र चीनका राष्ट्रपतिले शनिबार दुवै देशलाई ‘शान्त रहन’ आग्रह गरेका हुन् ।

तनाव नबढाऊ : चीन

चिनियाँ सञ्चारमाध्यमका अनुसार चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको टेलिफोन वार्तामा ‘सम्वद्ध सबै पक्ष’ लाई संयमित हुन आग्रह गरेका छन् । उनले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना अत्यावश्यक भएको बताए । चिनफिङले ट्रम्पसँग उत्तर कोरियालाई परमाणु हतियारविहीन बनाउनु दुई देशको ‘साझा स्वार्थ’ भएको बताए । 

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले भने चीन र अमेरिका उत्तर कोरियाले ‘तनाव बढाउने व्यवहार’ नियन्त्रण गर्नुपर्नेमा सहमत भएको जनाएको छ । तर टेलिफोन वार्ताका क्रममा चिनियाँ राष्ट्रपतिले ट्रम्पलाई लक्षित गरी केही नबताएको ह्वाइटहाउसले जनाएको छ । 

ह्वाइटहाउसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दुई राष्ट्रपतिले अभ्यास गरेको निकट सम्बन्धले उत्तर कोरियाको समस्या समाधानमा सम्झौता हुने आशा छ ।’ 
शत्रुतापूर्ण व्यवहार गर्दै आएका उत्तर कोरिया र अमेरिकाबीच हालैका दिनमा वाक्युद्ध चलिरहेको छ । गत महिना उत्तर कोरियाले दुई अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेपछि दुई देशबीच तनाव उत्कर्षमा पुगेको हो । परीक्षणपछि उत्तर कोरियाले अमेरिकाका मुख्य स्थानहरू आफ्नो क्षेप्यास्त्रको पहुँचमा पुगेको प्रतिक्रिया दिएको थियो । 

त्यसलगत्तै अमेरिकी पहलमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले नाकाबन्दी कडा पारेपछि उत्तर कोरिया थप आक्रोशित भएको हो । गत साता उत्तर कोरियाले गुआमस्थित अमेरिकी सेनाको बेसमा केही दिनमा आक्रमण गर्ने चेतावनी दिएको थियो । 

यसअघि राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई क्षेप्यास्त्र परीक्षणमा चीन दोषी भएको आरोप लगाएका थिए ।

प्रकाशित : श्रावण २९, २०७४ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?