‘गोलीले समाधान निस्कँदैन’

बीबीसी

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘गाली र गोली’ ले सीमा समस्या समाधान नहुने बताएका छन् । उनले एकआपसमा मिलेर मात्र कुनै पनि समस्या समाधान हुने बताए । नयाँदिल्लीको लालकिल्लामा ७१ औं स्वतन्त्रता दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले पृथकतावादीले कश्मीरमा षड्यन्त्र गरिरहेको बताए ।

सम्बोधनमा मोदीले सुरक्षा भारतको प्रमुख प्राथमिकताको विषय भएको बताए । उनले नागरिकको सुरक्षाका लागि वर्तमान सरकार सबैभन्दा बढी चिन्तित भएको दाबी गरे । भारतको विपक्षमा लाग्ने र भारतीय भूमिमा असुरक्षा मच्चाउने जुनसुकै विदेशी वा स्वदेशी शक्तिलाई नछोड्ने बताए ।

मोदीले चीन र भातबीचको सीमाविवादतर्फ इंगित गर्दै देशविरोधी शक्तिसँग लड्न भारतीय सेना सक्षम रहेको बताए । उनले भने, ‘समुद्र, सीमा वा अन्तरिक्ष जुनसुकै हिसाबले पनि हामी सक्षम छौं । जस्तोसुकै विरोधीसँग लड्न हामी तयार छौं ।’

भारत र पाकिस्तानबीच दशकौंदेखिको झगडाको केन्द्रबिन्दु रहँदै आएको छ । पाकिस्तानसँग सन् १९४७ देखि नै भारतको सीमा विवाद जारी छ । सीमा विवादका कारण दुई देशबीच पटक–पटक युद्ध भइसकेका छन् । पाकिस्तानले आतंककारी आफ्नो देशमा पठाइरहेको आरोप पाकिस्तानले अस्वीकार गर्ने गरेको छ ।

मोदीले कश्मीर समस्या मिलेर समाधान गर्नुको विकल्प नभएको धारणा राखे । मुसलमान बाहुल्यता रहेको कश्मीरमा विद्रोही र सुरक्षा फौजबीच बारम्बार झडप हुने गरेको छ । पाकिस्तानले स्वतन्त्रता दिवस मनाएको भोलिपल्ट भारतले भव्य कार्यक्रमसहित स्वतन्त्रता दिवस मनाएको हो ।

सम्बोधनमा मोदीले कश्मीरीहरूसँग मिलेर उक्त स्थानलाई पहिलेजस्तै स्वर्गजस्तो बनाउने वाचा गरे । उनले आफ्नो भाषणमा उत्तर प्रदेशमा अक्सिजनको अभावमा ज्यान गुमाएका ६० बालबालिकाको मृत्युको विषय पनि समेटे । यो एक दुर्भाग्यपूर्ण घटना भएको बताउँदै मोदीले देशबासीलाई मृतकका परिवारको पीडामा एकताबद्ध हुन पनि अपिल गरे ।

प्रधानमन्त्री मोदीले तत्काल सम्बन्धविच्छेदको मुस्लिम परम्पराविरुद्ध संघर्षरत महिलालाई समर्थन जनाए । भारतमा हालै महिलाहरूले मुस्लिम पुरुषको सम्बन्धविच्छेद गर्ने परम्पराको अन्त्यका लागि संघर्ष गरिरहेका छन् ।

भारतमा मुस्लिम पुरुषले श्रीमतीलाई तीन पटक ‘तलाक’ गर्ने बताएपछि सम्बन्धविच्छेद हुने परम्परा छ । यस विषयमा भारतीय सर्वोच्च अदालतले केही दिनमा फैसला सुनाउने बताइएको छ । मोदीले धर्मको नाममा हिंसा बढाउने कार्यको पनि आलोचना गरे ।

प्रकाशित : श्रावण ३२, २०७४ ०९:५७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गुआम आक्रमणबारे छलफल

केही दिन अमेरिकी गतिविधि हेर्ने
बीबीसी

सोल — उत्तर कोरियाली नेता किम जोङ उनले प्रशान्त क्षेत्रमा अवस्थित अमेरिकी भू–भाग गुआममा क्षेप्यास्त्र आक्रमण गर्ने योजनाबारे सेनासँग विस्तृत जानकारी लिएका छन् ।

उत्तर कोरियाली सेनाको विज्ञप्तिलाई उद्धृत गर्दै समाचार संस्था केसीएनएले उत्तर कोरियाली सेना आक्रमणका लागि तयारी अवस्थामा रहेको जनाएको छ । तर उसले अमेरिकाको प्रतिक्रिया पछि मात्रै किमले आक्रमणको आदेश दिने बताएको छ । कोरियाली सेनाको विज्ञप्तिमा भनिएको छ, ‘मूर्ख र बेबकुफ अमेरिकीहरूको व्यवहार केही समय हेरौं ।’ प्योङयाङले मध्य अगस्टसम्ममा गुआम आक्रमण गर्ने योजना तयार हुने जनाएको थियो । उसले किमको स्वीकृतिपछि गुआममा आक्रमण गर्ने जनाएको थियो । केसीएनएका अनुसार किमले उच्च सैनिक अधिकारीसँग आक्रमणको मितिबारे पनि छलफल गरेको जनाएको छ ।

अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले उत्तर कोरियाको कुनै आक्रमणले पूर्णरूपको युद्ध सुरु हुने चेतावनी दिएका थिए । म्याटिसले उत्तर कोरियाले आक्रमण गरेसँगै युद्धको खेल सुरु हुने बताए । उनले अमेरिकी सेना कुनै पनि आक्रमणबाट देशलाई बचाउन सक्षम रहेको दाबी गरे । यसअघि म्याटिसले दुई देशबीचको सम्बन्धलाई सामान्य बनाउन प्रयास गरेका थिए । उत्तर कोरियाविरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा टिप्पणी गरेका थिए । उनले अमेरिकी सेना पनि आक्रमणको प्रत्युत्तर दिन तयारी अवस्थामा रहेको बताएका थिए । उनले अमेरिकामाथिको आक्रमणको जवाफमा विश्वकै ‘सबैभन्दा भीषण आक्रमण’ को सामना गर्न तयार रहन चेतावनी दिएका थिए । दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले भने अवस्था सामान्य बनाउने प्रयास गरिरहेको जनाएका छन् । उनले कोरियाली प्रायद्वीपले अर्को युद्ध धान्न नसक्ने बताए ।

प्रकाशित : श्रावण ३२, २०७४ ०९:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT