फिलिपिन्समा लागूऔषधविरुद्धको ‘युद्ध’, एकै दिन ३२ मारिए

बीबीसी

मनिला — फिलिपिनो प्रहरीले लागूऔषधविरुद्ध चलाएको कारबाहीमा ३२ जनाको मृत्यु भएको छ । बुलाकान प्रान्तमा मंगलबार २४ घण्टाको अवधिमा प्रहरी कारबाहीमा परी ३२ जनाको मृत्यु भएको हो । मनिलाको उत्तरी क्षेत्रमा गरिएको कारबाहीमा मारिनेहरू सशस्त्र लागूऔषध कारोबारीहरू रहेको प्रहरीले जनाएको छ ।

सोमबार रातिदेखि मंगलबार रातिसम्म चलेको कारबाहीमा प्रहरीले बुलाकान प्रान्तका दर्जनौं स्थानमा छापा मारेको थियो । त्यस क्रममा एक सयभन्दा बढी मानिस पक्राउ पर्नुका साथै ठूलो परिमाणमा लागूऔषध र हतियार बरामद भएका छन् ।

राष्ट्रपति रोद्रिगो डुर्तेतेले सन् २०१६ मा लागूऔषधविरुद्ध छेडेको ‘युद्ध’का क्रममा अहिलेसम्म ८ हजार मानिसको मृत्यु भइसकेको छ ।

लागूऔषधको व्यापार निर्मूल पार्ने उक्त अभियानका क्रममा हजारौंको मृत्यु भएपछि अन्तर्राष्ट्रिय समुदायद्वारा आलोचना हुँदै आएको छ ।

इन्डोनेसियामा पनि अभियान
इन्डोनेसियामा पनि फिलिफिन्समा जस्तै लागूऔषधविरुद्धको कारबाही सुरु गरिएको छ । यो वर्षको अहिलेसम्म ६० जना लागूऔषध कारोबारीहरू मारिएका छन् । गत वर्ष १८ जना मारिएका थिए । अधिकारीहरूले मुलुकको २५ करोड जनसंख्यामध्ये ६४ लाख मानिस लागूऔषध दुव्र्यसनी रहेको आँकलन गरेका छन् ।

राष्ट्रपति जोको विडोडोले लागूऔषध कारोबारीविरुद्ध निर्ममतापूर्वक अभियान चलाउन आग्रह गरेका छन् । उनले युवा पुस्ताको भविष्य नै ध्वस्त पार्ने लागूऔषध कारोबारीविरुद्ध औपचारिक युद्ध सुरु भएको घोषणा गरेका छन् ।

कारोबारीले गिरफ्तारीमा अवरोध गरे गोली प्रहार गर्न कानुन कार्यान्वयन निकायलाई आदेश पनि दिएका छन् । लागूऔषधविरुद्धको प्रहरी इकाईका प्रमुख बुडी वासेसोले फिलिपिन्सको कारबाहीको नक्कल नगर्ने जनाउँदैं त्यहाँको अभियानको प्रशंसा भने गरे ।

प्रकाशित : भाद्र १, २०७४ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?