२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

भारतीय र चिनियाँ सैनिकबीच झडप

बीबीसी/एएफपी

श्रीनगर, कश्मीर — भारतीय र चिनियाँ सैनिकबीच कश्मीरको विवादास्पद सीमा क्षेत्रमा झडप भएको छ । पेङगोङ तालनजिकैको भारतीय सीमा क्षेत्रमा चिनियाँ सैनिक प्रवेश गर्ने प्रयास गरेपछि मंगलबार झडप भएको भारतीय समाचार समिति पीटीआईले जनाएको छ ।

भारतीय र चिनियाँ सैनिकबीच झडप

त्यस क्रममा ढुंगा हानाहान भएको र दुवैतर्फका केही सैनिक घाइते भएको जनाइएको छ । तर बेइजिङले भने आफ्ना सैनिक चिनियाँ भूमिभित्रै रहेको स्पष्ट पारेको छ । चीन, भुटान र भारतको त्रिदेशीय सीमा दोक्लामका विषयमा भारत र चीनबीच तनाव जारी रहेका बेला कश्मीरको सीमावर्ती क्षेत्रमा झडप भएको हो ।

सैनिक अधिकारीलाई उद्धृत गर्दै पीटीआईले जनाएअनुसार चिनियाँ सैनिकको प्रवेश प्रयासलाई रोक्न भारतीय सैनिकले मानव साङलो निर्माण गरेका थिए । हिन्दुस्तान टाइम्सले जनाएअनुसार भारतीय सैनिकले चिनियाँ सैनिकलाई पछि हट्न भनेपछि दुवै पक्षबीच केहीबेर भनाभन भएको थियो । त्यसपछि ढुंगा हानाहान भएको र एक घण्टापछि चिनियाँ सैनिकहरू पछि हटेको जनाइएको छ । तर घाइते सैनिकको स्थितिको विवरण भने सार्वजनिक भएको छैन । भारतमा स्वतन्त्रता दिवस मनाइरहँदा मंगलबार बिहान ६ देखि ९ बजेको बीचमा उक्त घटना भएको थियो । चिनियाँ सैनिकहरू ‘फिङगर फोर’ र ‘फिङगर फाइभ’ भनेर चिनिने क्षेत्रबाट भारतीय सीमामा प्रवेश गर्ने प्रयास गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

एक अधिकारीले भने झडप भएको भनी सञ्चारमाध्यममा आएका विषयलाई पुष्टि गर्ने या अस्वीकार गर्ने कुनै टिप्पणी गरेनन् । तर उनले भने, ‘यस्ता घटना हुन्छन्, यो पहिलो होइन ।’

एक भारतीय अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार उक्त झडप सामान्य थियो भने छोटो समयमै नियन्त्रणमा आएको थियो । ‘यो एउटा सामान्य झडप हो, यसबाट दुवैतर्फ कुनै क्षति भएको छैन र छोटै समयमा घटना नियन्त्रणमा आइसकेको छ,’ आफ्नो नाम नबताउने सर्तमा ती भारतीय रक्षा अधिकारीले एएफपीलाई बताए । यस घटनापछि भारतीय र चिनियाँ सेना आ–आफ्नो ‘डयुटी’ मा खटिइसकेको पनि उनले बताए । चिनियाँ विदेश मन्त्रालयले आफ्नो आधिकारिक वक्तव्यमा भारतीय पक्षले आफ्नो भूमिमा रहेका सबै सैनिक र उपकरण तत्काल र नि:सर्त फिर्ता गर्नुपर्ने माग गरेको छ ।

भारतीय विदेश मन्त्रालयले पनि विज्ञप्तिमा भारत र चीनबीचको सीमा क्षेत्रमा साझा वास्तविक नियन्त्रण रेखा (एलएसी) नभएको जनाएको छ । एलएसीका विषयमा फरक बुझाइका कारण उत्पन्न परिस्थिति सीमा रेखाका विषयमा सहमति गरी रोक्न सकिने मन्त्रालयको भनाइ छ ।

लद्धाख क्षेत्रका विषयमा दुई देशबीच लामो समयदेखि विवाद रहँदै आएको छ । उक्त क्षेत्रलाई चीनले आफ्नो भूमि दाबी गर्दै आएको छ । सीमाका रूपमा रहेको पेङगोङ तालको दुईतिहाइ भाग चीनको र बाँकी भाग भारतको नियन्त्रणमा छ ।

प्रकाशित : भाद्र १, २०७४ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?