कतार संकट अन्त्य गर्न अमिर सक्रिय, फोनपछि साउदी आक्रोशित

एजेन्सी

दोहा —
साउदी अरबले आफ्नो मुलुकका राजकुमार र कतारका अमिरको टेलिफोन वार्तापछि कतार संकट समाधानका लागि हुने भनिएको वार्ता स्थगित गरेको छ ।

कतार संकट अन्त्य गर्न अमिर सक्रिय, फोनपछि साउदी आक्रोशित

कतार विरुद्धको नाकाबन्दी अन्त्य गर्न अमिर शेख तमिम बिन हमाद अल थानीले साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानलाई टेलिफोन गरेका हुन् । तर वार्ताका क्रममा भएका तथ्यलाई कतारले तोडमोड गरी प्रस्तुत गरेको जनाउँदै वार्ता स्थगित भएको जनाएको हो ।

उनीहरूबीच गत जुन ५ देखि जारी नाकाबन्दीपछि पहिलोपटक कुराकानी भएको हो ।

कतार समाचार संस्था (क्यूएनए) का अनुसार उनीहरूबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समन्वयमा टेलिफोन वार्ता भएको हो । तर क्यूएनएले दोहाको अग्रसरतामा टेलिफोन वार्ता भएको उल्लेख नगरेकाले साउदी अरब आक्रोशित भएको जनाइएको छ ।

कतारी राजा हमाद अल थानीले तीन महिनादेखि जारी नाकाबन्दीसहितको तनाव वार्तामार्फत अन्त्य गर्न आग्रह गरेका थिए । वार्तामा थानीले नाकाबन्दी गर्न सक्रिय गराएका चार देशसँग वार्ता गर्न तयार रहेको बताएका थिए ।

उनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि टेलिफोन कुराकानी गरेका थिए । थानीले ‘एकता र स्थिरता’ का लागि वार्ता आवश्यक भएको बताएका थिए । उनले दुवै देशलाई मान्य हुने किसिमले वार्ता गर्न आग्रह गरेका थिए ।

जवाफमा साउदी राजकुमारले दुवै देशका सार्वभौमिकतालाई असर नपर्ने गरी वार्तामार्फत समस्याको समाधान गर्नुपर्ने जनाएका थिए । उनीहरूबीच वार्ताका लागि दूत खटाउने सहमति समेत भएको कतारी सञ्चार माध्यमले जनाएको छ ।

साउदी अरबको प्रेस एजेन्सीले सबै पक्षको हितलाई सुनिश्चित गर्न चार देशका मागबारे कतारका अमीर छलफल गर्न तयार रहेको बताएको थियो ।
बहराइन, इजिप्ट र यूएईसँग साउदी अरेबिया सहमतिमा पुगेपछि विस्तृत विवरण सार्वजनिक गरिने सो समाचार संस्थाले जनाएको छ ।

साउदी अरबको नेतृत्वमा इजिप्ट, बहराइन र यूएईले गत जुन ५ देखि कतारमाथि नाकाबन्दी गर्दै आइरहेका छन् । उनीहरूले कतारसँग जमिन, समुद्र र हवाई सम्पर्कसमेत बन्द गर्दै आएका छन् । चार देशले कतारले चरमपन्थी संगठनलाई सहयोग गरेको, छिमेकी देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र इरानसँग सम्बन्ध सुदृढ पारेको आरोप लगाएका छन् । तर कतारले भने उक्त आरोप अस्वीकार गर्दै आइरहेको छ ।
चार देशले नाकाबन्दीको अन्त्य गर्न कतारसामु १३ बुँदे माग राखेका छन् । तीमध्ये इरानसँगको सम्बन्ध तोड्नुपर्ने, कतारस्थित सैनिक बेस हटाउनुपर्ने र अल जजिरा टेलिभिजनको प्रसारण बन्द गर्नुपर्ने मुख्य छन् । तनाव अन्त्यका निम्ति पश्चिमा मुलुकहरूको समर्थनमा कुवेतले गर्दै आएको कूटनीतिक प्रयास सफल हुन सकेको छैन ।

ट्रम्पको सक्रियता
अमेरिकी राष्ट्रपति कार्यालय हवाइटहाउसले एक विज्ञप्ति जारी गर्दै कतार संकट समाधानका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले कतार र साउदी अरबका नेतासँग टेलिफोनमा कुराकानी गरेको जनाएको छ । कार्यालयका अनुसार उनले यूएईका राजकुमार शेख मोहम्मद बिन जायद अल नहयनसँग पनि कुराकानी गरेका थिए ।

वार्ताका क्रममा ट्रम्पले इरानको धम्कीविरुद्ध लड्न अमेरिका र खाडी देशहरूबीच एकता आवश्यक भएको बताएका थिए । साथै उनले क्षेत्रीय स्थायित्वका लागि अमेरिकाले सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए । विज्ञप्तिमा उल्लेख छ, ‘आतंकवाद र चरमपन्थीविरुद्ध लड्न रियादको प्रतिबद्धतालाई सबै खाडी देशले आत्मसात् गर्न जरुरी भएकोमा राष्ट्रपतिले जोड दिनुभएको छ ।’

प्रकाशित : भाद्र २५, २०७४ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?