२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

उत्तर कोरियामाथि थप प्रतिबन्ध

बीबीसी

न्युयोर्क — संयुक्त राष्ट्रसंघले हाइड्रोजन बमको परीक्षणपछि उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्धहरू लगाएको छ । सुरक्षा परिषद्बाट सर्वसम्मतिले पारित नयाँ प्रस्तावहरू परमाणु कार्यक्रमका लागि रकम जुटाउन उत्तर कोरियाले निर्यात गर्ने कपडा तथा तेलको आपूर्तिप्रति लक्षित छन् ।

अमेरिकाले उत्तर कोरियामा आपूर्ति हुने तेलमा पूर्ण प्रतिबन्ध लगाउने प्रस्ताव तयार पारेको थियो । तर, सुरक्षा परिषद्ले उसको कच्चा तेलमाथि मात्र प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध लगाइएको कपडाको निर्यात उत्तर कोरियाको आम्दानीको प्रमुख स्रोत हो । 

संयुक्त राष्ट्रसंघका लागि चीनका राजदूतले अन्तर्राष्ट्रिय समुदायको अपेक्षालाई गम्भीर रूपमा लिन र पारमाणु कार्यक्रम रोक्न उत्तर कोरियालाई आग्रह गरेका छन् । 

नयाँ नाकाबन्दी पारित भएसँगै उत्तर कोरियालले अमेरिकालाई ‘ठूलो मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएको छ । उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनुसार अमेरिकाले सुरक्षा परिषद्मा नाकाबन्दीको मस्यौदा पेस गरेको जनाउँदै चेतावनी दिएको हो । राष्ट्रसंघीय सुरक्षा परिषद्मा अमेरिकाले नाकाबन्दीबारे प्रस्ताव लगेसँगै युरोपियन युनियनले पनि उत्तरमाथि नाकाबन्दी लगाउने तयारी थालेको जनाएको थियो ।

राष्ट्रसंघीय सुरक्षा परिषद्ले सन् २००६ यता उत्तर कोरियाविरुद्ध ९ वटा प्रस्ताव सर्वसम्मत पारित गरेको छ । यसअघि सोमबार प्योङयाङले राष्ट्रसंघमार्फत कडा प्रतिबन्धका लागि अमेरिका अग्रसर रहिरहे ‘ठूलो पीडा र दु:ख’ दिने चेतावनी दिएको थियो । उत्तर कोरियाले केही दिनअघि हाइड्रोजन बमको सफल परीक्षण गरेपछि अमेरिकाले कडा प्रतिबन्धको प्रस्ताव सुरक्षा परिषद्मा लगेको थियो । 

अन्तर्राष्ट्रिय समुदाय तथा राष्ट्रसंघको चेतावनीका बाबजुद उत्तर कोरियाले निरन्तर परमाणु परीक्षणलाई निरन्तरता दिँदै आएको छ । गतमहिना लामो दूरीको उत्तर कोरियाली क्षेप्यास्त्र जापानी आकाश हुँदै समुद्रमा खसेको थियो । 

प्रकाशित : भाद्र २८, २०७४ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?