१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ट्रम्पको भाषण कुकुर भुकाइ : उत्तर कोरिया

बीबीसी

न्युयोर्क — उत्तर कोरियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसंघमा दिएको भाषण ‘कुकुरको भुकाइ’ भएको जनाएको छ । न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालय परिसरमा संवाददतासँग उत्तर कोरियाली विदेशमन्त्री री योङ होले ‘कुकुरको भुकाइले कुनै अर्थ नराख्ने’ को संज्ञा दिए ।

 ट्रम्पको भाषण कुकुर भुकाइ : उत्तर कोरिया

बुधबार राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै डोनाल्ड ट्रम्पले ‘अमेरिका र उसका मित्र शक्तिलाई रक्षा गर्न उत्तर कोरियालाई ध्वस्त गर्ने’ चेतावनी दिएका थिए । उनले आफ्नो सम्बोधनको धेरै समय उत्तर कोरिया र इरानको आलोचनमा खर्चेका थिए ।

ट्रम्पले इरानलाई ‘भ्रष्ट तानाशाही’ को संज्ञा दिँदै आतंकवादलाई सहयोग र समर्थन नरोके कडा कदम चाल्ने चेतावनी दिएका थिए । ट्रम्पको भनाइको उत्तर कोरियाले पहिलोपल्ट आधिकारिक प्रतिक्रिया दिएको हो । ‘एउटा भनाइ छ, कुकुर भुक्दै गर्दा पनि परेड चलिरहन्छ ।’ रीले भने, ‘यदि ट्रम्पले हामीलाई कुकुरको भुकाइमार्फत अचम्मित पार्न खोजेका हुन् भने, उनले सपना देख्दै छन् ।’

राष्ट्रसंघले प्रतिबन्धहरू लगाएको भए पनि उत्तर कोरियाले त्यसलाई बेवास्ता गर्दै परमाणु कार्यक्रम निरन्तर अघि बढाइरहेको छ । ट्रम्पले राष्ट्रसंघमा पहिलोपटक सम्बोधन गर्दै उत्तर कोरियाली नेता किम जोङ उनलाई ‘रकेट म्यान’ को संज्ञा दिँदै ‘आत्महत्याको अभियानमा लागिरहेको’ बताएका थिए । उनको भनाइको जवाफ दिँदै रिले भने, ‘म उनका सहयोगीप्रति दु:ख व्यक्त गर्न चाहन्छु ।’

रीले शुक्रबार राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै छन् । दक्षिण कोरियाले दुई वर्षमा पहिलो पटक उत्तर कोरियामा मानवीय सहयोग पठाउन लागेको जनाएको छ । एकीकरण मन्त्रालयले उत्तर कोरियाली बालिबालिका, गर्भवती महिलालाई लक्षित गरी औषधि आपूर्तिलगायतका कार्यक्रमलाई सहयोग गर्न लागेको जनाएको छ । ८० लाख डलर बराबरको सहयोग उसले राष्ट्रसंघमार्फत गर्ने जनाएको हो ।

विज्ञहरूका अनुसार उत्तर कोरियाले पछिल्ला दिनमा निकै आश्चार्यजनक रूपमा परमाणु तथा लामो दूरीमा मार हान्ने क्षेप्यास्त्रको विकास गरेको छ । गत सेप्टेम्बर ३ मा उत्तर कोरियाल हालसम्मकै सबैभन्दा शक्तिशाली परमाणु परीक्षण गरेको थियो ।

महासभाको सुरुमा बोल्दै राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले उत्तर कोरियाको परमाणु कार्यक्रमको निन्दा गर्दै सुरक्षा परिषदमार्फत परमाणु हतियारबाट नि:शस्त्रीकरण गर्नुपर्ने जनाएका थिए ।

नाकाबन्दीले बालबालिका जोखिममा
उत्तर कोरियाले परमाणु तथा क्षेप्यास्त्र कार्यक्रम लक्षित अन्तर्राष्ट्रिय नाकाबन्दीले बालबालिकाको जीवनमाथि खतरा उत्पन्न भएको जनाएको छ । राष्ट्रसंघका लागि उत्तर कोरियाली राजदूत हान ताई सङले राष्ट्रसंघीय बालबालिका अधिकार समितिमा बोल्दै नाकाबन्दीले पौष्टिक आहारको उत्पादन र पाठयपुस्तक प्रकाशनमा गम्भीर असर पुगेको जनाए ।

उनले भने, ‘राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायले लगाएको नाकाबन्दीले बालबालिकाको अधिकारको संरक्षण र प्रवद्र्धनमा मात्र असर पुर्‍याएको छैन, यसले उनीहरूको बाँच्न पाउने अधिकार पनि हनन भएको छ ।’ संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले सन् २००६ देखि विभिन्न ९ चरणका नाकबन्दी लगाइसकेको छ । गतसाता सुरक्षा परिषद्ले उत्तर कोरियामा तेल आपूर्ति र कपडा निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

तनावको शान्तिपूर्ण समाधान
चीनले कोरियाली प्रायद्वीपमा जारी तनावको शान्तिपूर्ण समाधान खोज्नुपर्ने दोहोर्‍याएको छ । अमेरिकी उपराष्ट्रपति माइक पेन्ससँगको भेटमा चिनियाँ विदेशमन्त्री वाङ यीले चीन कोरियाली तनाव कूटनीतिक वार्तामार्फत अन्त्य गर्नुपर्ने पक्षमा रहेको जनाएका हुन् । उनीहरूबीच अमेरिका र चीनको आपसी हित विषयमा समेत कुराकानी भएको जनाइएको छ ।

प्रकाशित : आश्विन ६, २०७४ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?