दार्जिलिङमा छैन दसैं उल्लास

पर्वत पोर्तेल

सिलिगुडी (भारत) — गोर्खाल्यान्ड आन्दोलनले थलिएको दार्जिलिङमा यसपालिको दसैं उल्लास फिटिक्कै छ्रैन । राजनीतिक आन्दोलनको चेपुवाले यहाँको दसैं खल्लो हुने भएको हो । सय दिनभन्दा लामो आन्दोलनले अलग राज्य गोर्खाल्यान्डको मागमा आन्दोलनकारीबीच तीव्र ध्रुवीकरण देखिएको छ ।

केही समयअघि एउटै मोर्चामा गोर्खाल्यान्डको नारा उरालेका दलहरू अहिले पक्ष र विपक्षमा विभक्त भएका छन् । उनीहरूको विभाजनले दार्जिलिङको दसैंलाई पनि प्रभावित पारेको हो । आन्दोलनको बाढी नथामिँदा दार्जिलिङमा दसैंको उल्लास देखिँदैन । ‘विगतमा महिना दिन अघिदेखि नै माल्सिरी र मादलको मिठो धुनले दसैंलाई स्वागत गर्ने दार्जिलिङ अहिले शोकमा छ,’ सिलिगुडीका कवि सुकराज दियाली भन्छन्, ‘दसैं मनाउनेभन्दा नमनाउने पक्षमा जनता बढी देखिएका छन् ।’ कतिपय भनेचाहिँ पुराना घाउ बिर्सिएर दसैं मनाउने पक्षमा छन् ।

मिरिकको ओकाइटी चिया कमानका बासिन्दा तथा कवि सविर दिलपालीले भने, ‘सिंगो दार्जिलिङ आन्दोलनरत छ । यस्तो समयमा दसैंको खुसी साट्न सकिँदैन ।’ उनले दसैं मनाइए सहिदको रगतले धिक्कार्ने बताउँदै थपे, ‘शोकको घडीमा उत्सव मनाउनु अर्थहीन हुन्छ ।’

जारी हडतालका कारण दार्जिलिङका बजार, यातायात र शैक्षिक संस्था ठप्प छन् । सर्वसाधारणले लामो समयदेखिको खाद्यान्न संकट बेहोरिरहेका छन् । सर्वसाधारणमा दसैं मान्ने खर्च पनि अभाव छ । सहरमा भन्दा गाउँमा आन्दोलनको प्रभाव बढी परेको छ । चिया उद्योगमा आश्रित हजारौं परिवारले लामो समयदेखि पारिश्रमिक पाउन सकेका छैनन् ।

टर्जम चिया बगानका श्रमिक प्रकाश रिजालले आन्दोलनले सबैभन्दा बढी चिया श्रमिक मारमा परेको बताए । ‘दसैं लाग्यो कसैसँग पैसा छैन,’ रिजालले भने, ‘श्रमिकहरूको दसैं यसपटक खल्लो भएको छ ।’ राज्य सरकारले हालै चिया बगानहरू सञ्चालन गरी श्रमिकलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउने जनाए पनि निर्णय कार्यान्वयन भइसकेको छैन । श्रमिकले गोर्खाल्यान्ड नभएसम्म बगान नखोल्ने चेतावनी दिइरहेकै छन् ।

सरकारी कर्मचारी पनि लामो समयदेखि तलबविहीन छन् । आन्दोलनलाई सघाएको भन्दै कतिपय कर्मचारीलाई राज्य सरकारले कारबाहीसमेत गर्न थालेको छ । राज्य सरकारले दसैंअघि जसरी पनि बजार खोल्ने प्रयत्न जारी राखेको छ । तर, जनताले नै बन्द खोल्न मानेका छैनन् । चोक बजारकी अम्बिका शर्मा भन्छिन्, ‘बरु यसपालि दसैं नमान्ने, तर गोर्खाल्यान्ड नभएसम्म हडताल खोल्दैनौं ।’

जनताले दसैं नमनाउने जनाए पनि राज्य सरकार तयारीमा लागेको छ । विनय तामाङलगायतका नेतालाई प्रयोग गरेर राज्य सरकारले दार्जिलिङमा दसैं मनाउने वातावरण बनाइरहेको छ । पश्चिम बंगालको दोस्रो ठूलो व्यापारिक केन्द्र सिलिगुडीमा समेत आन्दोलनको प्रत्यक्ष प्रभाव परेको छ ।

दार्जिलिङ र सिक्किमबासी यहाँका मुख्य ग्राहक हुन् । तर, यस वर्षको दसैं नमनाउने पक्षमा दार्जिलिङबासी उभिएपछि सिलिगुडीको व्यापार चौपट्ट छ । ‘विगतका वर्षमा बजारमा खुट्टा राख्ने ठाउँ हुँदैनथ्यो,’ कपडा व्यापारी गुल्सन हुसेनले भने, ‘आन्दोलनले व्यापार व्यवसायमा नराम्रो असर पारेको छ ।’

फूलपातीका दिन दार्जिलिङका चौरस्ता र सिलिगुडीमा छुट्टाछुट्टै फूलपाती शोभायात्रा निकाल्ने प्रलचन छ । फूलपाती शोभायात्रासमेत बहिस्कार गर्ने आन्दोलनकारीले जनाएका छन् । यद्यपि सिलिगुडीको भानुभक्त समितिले बुधबार सिलिगुडीमा शोभायात्रा निकाल्ने तयारी गरेको जनाएको छ । ‘राज्य सरकारको दबाबमा शोभायात्रा निकालिँदै छ,’ सिलिगुडीका स्थानीय व्यवसायी विजय रुचाल भन्छन्, ‘हामी फूलपाती शोभायात्रा बहिस्कारको पक्षमा छौं ।’

सन् १९५७ देखि दार्जिलिङमा दसैंको फूलपाती शोभायात्रा निकाल्न सुरु गरिएको हो । तर, १९७० देखि सर्वसाधारणले पनि फूलपाती यात्रा निकाल्न र घरघरमा फूलपाती भित्र्याउन थालेका हुन् । ‘यसपालि दार्जिलिङबासीको घरमा फूलपाती भित्रने छैन,’ पत्रकार अशोक प्रशान्त भन्छन्, ‘दार्जिलिङ शोकमा छ ।’

वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईले भनेका थिए, ‘दार्जिलिङको दसैं नेपाली जातीयताको एकताको प्रतीक हो ।’ तर, पछिल्लो समय नेपालीबीचको अन्तरद्वन्द्वले दसैं खल्लो हुँदै गएको छ ।

प्रकाशित : आश्विन १०, २०७४ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?