नोबेल साहित्य इसिगुरोलाई

रोयटर्स

स्टकहोम — सन् २०१७ को साहित्यतर्फको नोबेल पुरस्कार जापानी मूलका बेलायती लेखक काजुओ इसिगुरोले पाएका छन् । स्विडेनको स्टकहोममा बिहीबार आयोजित कार्यक्रममा नोबेल पुरस्कार प्रतिष्ठानका तर्फबाट स्थायी सचिव सारा ड्यानियसले इसिगुरोलाई पुरस्कार दिइने घोषणा गरेकी हुन् ।

नोबेल साहित्य इसिगुरोलाई

उनले इसिगुरोलाई ‘बेजोड भावनात्मक उपन्यासमार्फत सांसारिक सम्बन्धबारे भ्रमपूर्ण भावको गहिराइ उजागर गरेकाले’ पुरस्कार दिने निर्णय भएको बताइन् । यसका लागि उनको सन् २०१५ मा प्रकाशित कृति ‘द बरिड जाएन्ट’ ले प्रमुख भूमिका निर्वाह गरेको नोबेल पुरस्कार समितिले जनाएको छ । 

इसिगुरोको लेखनशैली साहित्यकार जेन अस्टिन र फ्रान्ज काफाको सम्मिश्रण भएको उल्लेख गर्दै सचिव ड्यानियसले भनिन्, ‘यदि तपाईंले ती दुई साहित्यकारको थोरै मात्र स्वाद मिसाउनुभयो भने इसिगुरोको लेखकीय स्वाद पाउन सक्नुहुनेछ ।’ 

नोबेल पुरस्कार पाएको खबरले आफूलाई ‘आश्चर्यजनक खुसी’ लागेको उल्लेख गर्दै इसिगुरोले प्रतिक्रिया दिए, ‘यो अत्यन्तै उच्च स्तरको आदर हो । मैले विश्वका चर्चित साहित्यकारको पदचाप पछ्याएकाले यो सफलता पाउन सकेको हुँ ।’ सबै विधाका नोबेल पुरस्कारले हाल विश्वमा देखिएको अनिश्चितता अन्त्य गर्न भूमिका खेल्न सक्नुपर्ने पनि उनले बताए । 
जापानको नागासाकीमा जन्मेका इसिगुरोलाई ५ वर्षकै उमेरमा बाबुआमाले बेलायत लगेका थिए । उनले बेलायतको केन्ट विश्वविद्यालयमा अंग्रेजी र दर्शनशास्त्र पढेका थिए । ६२ वर्षीय इसिगुरोका ८ कृति प्रकाशित छन् । उनका किताब ४० भन्दा बढी भाषामा अनुवादित छन् । तीमध्ये ‘द रिमेन्स अफ द डे’ र ‘नेभर लेट मी गो’ विश्वचर्चित छन् । 

१९८९ मा प्रकाशित ‘द रिमेन्स अफ द डे’ ले बुकर पुरस्कार पाएको थियो । इसिगुरोले सन् १९८० को दशकमा प्रकाशित ‘अ पेल भ्यु अफ द हिल्स’ र ‘द रिमेन्स अफ द डे’ कृतिका कारण विश्वव्यापी चर्चा पाएका थिए । आफूलाई प्राप्त २४० प्रस्तावबाट इसिगुरो छानिएको पुरस्कार समितिले जनाएको छ । 

प्रकाशित : आश्विन २०, २०७४ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?