परमाणु अस्त्र विरोधी संस्थालाई नोबेल शान्ति

रोयटर्स

ओस्लो — यस वर्षको नोबेल पुरस्कार परमाणु अस्त्र निर्मूल गर्न क्रियाशील अन्तर्राष्ट्रिय संस्थाले प्राप्त गरेको छ । शुक्रबार नोबेल पुरस्कार प्रतिष्ठानका अध्यक्ष बेरित रेइस एन्डरसेनले ‘परमाणु हतियार उन्मूलनका लागि अन्तर्राष्ट्रिय अभियान’ (आईसीएएन) लाई पुरस्कार दिने घोषणा गरेकी हुन् ।

परमाणु अस्त्र विरोधी संस्थालाई नोबेल शान्ति

एन्डरसेनले आईसीएएनले ‘परमाणु अस्त्रमाथि प्रतिबन्ध लगाउने सन्धिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले’ पुरस्कार दिने निर्णय गरिएको बताइन् । उनले भनिन्, ‘हामी हाल रहेका भन्दा पनि प्रयोग भइरहेका परमाणु हतियारको अत्यन्तै जोखिमयुक्त विश्वमा बाँचिरहेका छौं ।’ उनको भनाइ उत्तर कोरियातर्फ लक्षित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । एन्डरसेनले परमाणु शक्तिसम्पन्न देशले विस्तारै हतियारको निर्माण रोक्न वार्ता सुरु गर्नसमेत आग्रह गरिन् ।

‘पुरस्कार घोषणाले परमाणु अस्त्रको अन्त्यतर्फको बाटोमा आवश्यक पर्ने ज्योति छरेको छ,’ पुरस्कार घोषणापछि आईसीएएनले फेसबुक पेजमा उल्लेख गरेको छ, ‘हामी ढिला नगरीकन उक्त बाटोमा हिँड्नैपर्छ ।’ समूहका कार्यकारी निर्देशक बेट्रिस फिनले पुरस्कारको घोषणा ‘आश्चर्यका रूपमा’ आएको जनाए ।

नोबेल पुरस्कार समितिले उल्लेख गरेको छ, ‘विश्वका केही देशले आफ्नो परमाणु कार्यक्रमलाई आधुनिकीकरणतर्फ लगेकाले उत्तर कोरियाले जस्तै अन्य देशले पनि परमाणु हतियार निर्माणमा जोड दिन सक्ने खतरा रहेको छ ।’ हालैका महिनामा उत्तर कोरियाले परमाणु हतियारको परीक्षणलाई तीव्रता दिँदै आइरहेको छ । अमेरिका र रुसले पनि आफ्ना परमाणु शक्तिलाई थप विकसित पार्ने जनाउँदै आएका छन् । हाल विश्वमा रहेका १४ हजार ९ सय परमाणु हतियारमध्ये रुस र अमेरिकासँग मात्रै १३ हजार ८ सय छन् ।

आईसीएएन विश्वबाटै परमाणु हतियारको विकास र प्रयोगलाई शून्यमा झार्ने उद्देश्यले सन् २००७ मा स्थापना भएको गैरसरकारी संस्था हो । यो विश्वका करिब एक सय देशमा क्रियाशील रहेको छ । आईसीएएन सन् २००७ मा अस्ट्ेरलियामा स्थापना भएको थियो । यसको मुख्यालय स्विट्जरल्यान्डको जेनेभामा छ ।

गत जुलाईमा परमाणु हतियारको बन्देजसम्बन्धी सन्धिमा विश्वका आईसीएएनको दबाबपछि १ सय २२ मुलुकले हस्ताक्षर गरेका थिए । तर अमेरिका, रुस, चीन, बेलायत, फ्रान्सलगायत ९ परमाणु शक्तिसम्पन्न राष्ट्रले भने उक्त सन्धिमा हालसम्म हस्ताक्षर गरेका छैनन् । आईसीएएनलाई आगामी डिसेम्बर १० मा पदकसहित ११ लाख अमेरिकी डलर राशीको पुरस्कार प्रदान गरिने समितिले जनाएको छ । उसका अनुसार प्राप्त ३ सय १८ आवेदनबाट आईसीएएन पुरस्कारका लागि छनोट भएको हो ।

प्रकाशित : आश्विन २१, २०७४ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?