हैजाबाट यमनमा दुई हजारभन्दा बढीको मृत्यु

साना — यमनमा गएको करिब चार महिनादेखि फैलिएको हैजाबाट दुई हजार १५१ जनाको मृत्यु भइसकेको पछिल्लो तथ्यांकमा खुल्न आएको छ ।

गएको अप्रिलदेखि अहिलेसम्म मृत्यु हुनेहरुको संख्या बढेर दुई हजार १५१ पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले शनिबार जनाएको समाचारमा उल्लेख छ ।

यमनका २३ वटा प्रान्त मध्ये २२ वटा प्रान्तमा हैजा फैलिएको थियो । हैजाबाट कुल आठ लाख ६२६ जना विरामी भएको विश्व स्वास्थ्य संगठनद्वारा सञ्चारकर्मीलाई वितरित विज्ञप्तिमा जनाइएको छ । मृत्यु भएकामध्ये अधिकांश घटना उत्तरी हाज्जाह प्रान्तमा भएका हुन् । त्यसैगरी धेरै बिरामीहरु भने उत्तरपश्चिमी होडेइडाह प्रान्तका रहेका पनि उक्त समाचारमा जनाइएको छ ।

हैजाको प्रकोप फैलिएका दुवै ठाउँ हुथी विद्रोहीको नियन्त्रणमा रहेका छन् । रेडक्रसको अन्तरराष्ट्रिय समितिले गतहप्ता मात्र यस वर्षको अन्त्यसम्म झन्डै दश लाख मानिसलाई हैजाले सताउने अनुमान गरेको थियो । यमनमा साढे दुई वर्षदेखि युद्ध चलिरहेको छ । युद्धका कारण खानेपानी तथा सरसफाई सम्वन्धी संरचना क्षतिग्रस्त भएका छन् ।

त्यसैगरी आधाभन्दा बढी स्वास्थ्य सेवासम्वन्धी संरचना पनि सेवा प्रवाह गर्न नसक्ने अवस्थामा रहेका छन् । अनेक संरचनाहरुमा क्षति पुगेकाले यमनमा अहिले एक करोड ५० लाख नागरिकलाई आधारभूत स्वास्थ्य सेवा र सुरक्षित खानेपानी तथा सरसफाई सम्वन्धी सेवाको समेत अभाव छ ।

हुथी विद्रोहीको नियन्त्रणमा रहेका ती क्षेत्रहरुमा दाताहरुले सहायता बाड्न खोज्दा पनि उनीले त्यहाँ जान दिने गरेका छैनन् । यसका कारण हैजाका साथै विभिन्न अरु पानीजन्य रोग र बालबालिकामा कुपोषणको अवस्था देखिएको छ । तर दाताहरुको ध्यान भने यथोचितरुपमा ती क्षेत्रहरुमा पुग्न नसकेको बताइएको छ ।

रासस

प्रकाशित : आश्विन २२, २०७४ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक पारित

काठमाडौं — व्यवस्थापिका–संसद्ले ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक, २०७४’लाई सर्वसम्मतिले पारित गरेको छ ।

यही असोज २० गते गणपूरक संख्या नपुगेर पारित हुन नसकेको उक्त विधेयक आइतबार पारित भएको हो । आइतबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले ‘प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक, २०७४’ प्रस्तुत गरे । त्यस्तै, बैठकले ‘प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक, २०७४’ सर्वसम्मतिले पारित गरेको छ । बैठकले ‘उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक, २०७४ लाई पनि सर्वसम्मतिले पारित गर्‍यो ।

महिला आयोग विधेयक पारित

संसद्को आइतबारको बैठकले ‘महिला आयोग विधेयक, २०७४’लाई सर्वसम्मतिले पारित गरेको छ । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले महिला बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिको प्रतिवेदनसहित उक्त विधेयक सदनमा प्रस्तुत भएको थियो ।

आजको बैठकमा दुई फरक समितिका वार्षिक प्रतिवेदन पेस भएका छन् । विधायन समितिका सभापति गंगा चौधरी सत्गौवाले ‘विधायन समितिको वार्षिक प्रतिवेदन, २०७४’ र सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले ‘सामाजिक न्याय तथा मानवअधिकार समितिको वार्षिक प्रतिवेदन, २०७४’ बैठकमा पेस गरेका हुन् । संसद्को अर्को बैठक यही असोज २४ गते दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित : आश्विन २२, २०७४ १६:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्