१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दक्षिण कोरियाले भन्यो–उत्तरले चोर्‍यो सैनिक दस्तावेज

बीबीसी

सोल — उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले प्योङ्याङमाथि आक्रमण गर्न तयार पारेका योजनासम्बन्धी महत्त्वपूर्ण सैनिक दस्तावेज हयाक गरेको छ । सत्ताधारी डेमोक्रयाटिक पार्टीका सांसद री चेयोल–हीले ती दस्तावेज देशको रक्षा मन्त्रालय सम्बद्ध भएको बताए ।

दक्षिण कोरियाले भन्यो–उत्तरले चोर्‍यो सैनिक दस्तावेज

उनका अनुसार, चोरी भएका कागजातमा उत्तर कोरियाली नेता किम जोङ उनको हत्या योजना तथा सम्भावित युद्धका बेला आवश्यक पर्ने सैनिक रणनीति समावेश थिए । त्यस्ता दस्तावेजमा अमेरिका, दक्षिण कोरियाका कैयौं उच्च सैनिक कमान्डरका प्रतिवेदन पनि छन् ।

कोरियाली सेनाले सैनिक अप्रेसनका समयमा बनाएका योजनाहरू सम्मिलित दस्तावेजहरू पनि त्यसमा रहेका दक्षिण कोरियाली अधिकारीहरूले जनाएका छन् । घटनाबारे दक्षिण कोरियाली
रक्षा मन्त्रालयले भने प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।

रीका अनुसार उत्तर कोरियाली हयाकरले दक्षिण कोरियाली सेनाको नेटवर्कमा आक्रमण गरी २ सय ३५ गिगाबाइट संवेदनशील सैनिक तथ्यांक चोरी गरेको हो । चोरी भएका करिब ८० प्रतिशत तथ्यांक यकिन नभएको रीले जनाए । उनका अनुसार तथ्यांक गत सेप्टेम्बर महिनामा हयाक गरिएको हो । दक्षिण कोरियाले ठूलो मात्रामा सैनिक दस्तावेज चोरी भएको जनाउँदै उत्तर कोरियाले साइबर आक्रमण गरेको जनाएको छ । तर उसले घटनाबारे कुनै तथ्यांक भने उपलब्ध गराएको छैन ।

दक्षिण कोरियाली समाचार संस्था योनहापले छिमेकी उत्तर कोरियाले विगतमा पनि पटक–पटक साइबर आक्रमण गर्ने गरेको जनाएको छ । त्यस्ता आक्रमण सरकारी वेबसाइट केन्द्रित हुने गरेका भए पनि यसपटक महत्त्वपूर्ण दस्तावेज चोरी भएको हो । उत्तर कोरियासँग चीनमा विशेष तालिम लिएका हयाकर भएको योनहापले जनाएको छ ।

उत्तर कोरियाले भने घटनामा आफ्नो कुनै संलग्नता नरहेको जनाउँदै दक्षिण कोरियाले ‘जाल रचेको’ प्रतिक्रिया दिएको छ । प्योङयाङले पछिल्लो घटना सोल र वासिङ्टनको उत्तर कोरियामाथिको आक्रमण गर्ने चाल भएको जनाएको छ ।

अमेरिका र उत्तर कोरियाबीच पछिल्लो पटक परमाणु हतियारका विषयमा ‘वाकयुद्ध’ चलिरहेको छ । अमेरिकाले परमाणु कार्यक्रम रोक्नुपर्ने बताउँदै आए पनि प्योङयाङले निरन्तरता दिँदै आएको छ । उत्तरले गत महिना शक्तिशाली हाइड्रोजन बम परीक्षण गरेपछि दुई देशबीच तनाव थप बढेको हो ।

त्यसलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका वा मित्रशक्ति देशको रक्षा गर्नुपर्ने अवस्था आए उत्तर कोरियालाई ‘पूर्णरूपमा ध्वस्त’ पारिदिने बताएका थिए । उनले उत्तर कोरियाली नेता किम ‘आत्महत्याको अभियानमा लागेको’ बताएका थिए । त्यसको प्रतिक्रियामा किमले ट्रम्पले राष्ट्रसंघीय महासभामा गरेको सम्बोधन ‘कुकुरको भुकाइ’ को संज्ञा दिएका थिए ।

गतआइतबार ट्रम्पले उत्तर कोरियासँग विगत २५ वर्षदेखि वार्ताका लागि जारी प्रयास निरर्थक रहेको जनाएका थिए । उनले उत्तर कोरियाविरुद्ध अब ‘एउटा कुराले मात्र काम गर्ने’ बताउँदै सैनिक कारबाहीतर्फ संकेत गरेका थिए ।

प्रकाशित : आश्विन २५, २०७४ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?