क्याटालोनिया स्वतन्त्रता विवाद: प्रत्यक्ष शासन लागू गरिँदै

एजेन्सी

ब्रसेल्स — स्पेनका प्रधानमन्त्री मारियानो राजोएले क्याटालोनिया सरकारले स्पेनबाट स्वतन्त्र भएको घोषणा गरेको हो कि होइन भनेर स्पष्ट पार्न त्यहाँका नेताहरूलाई आग्रह गरेका छन् ।

क्याटालोनिया स्वतन्त्रता विवाद: प्रत्यक्ष शासन लागू गरिँदै

क्याटालोनियामा प्रत्यक्ष शासन लागू गर्न संविधानको धारा १५५ सक्रिय पार्नुअघि प्रधानमन्त्री राजोएले उक्त आग्रह गरेका हुन् । क्याटालोनियालाई स्वतन्त्र राज्य घोषणा गरेपछि भने उक्त धारा लागु हुन नसक्ने बताइएको छ । 

क्याटालोनिया समस्याबारे बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि संवाददातासँग राजोएले भने, ‘हामीले सुरुमा क्याटालोनिया सरकारले स्वतन्त्रता घोषणा गरेको हो कि होइन भन्नेबारेमा सोधेका छौं, यदि त्यसो गरेको भए सरकारले सोहीबमोजिम निर्णय गर्नेछ ।’ केन्द्रीय सरकारले सबैभन्दा पहिले उक्त राज्यको स्वायत्ततालाई निलम्बन गर्ने कदम उठाउने जनाइएको छ । 

क्याटालोनिया सरकारले मंगलबार जनमतसंग्रहको परिणामलाई उद्धृत गर्दै स्वतन्त्रताको घोषणा गरेको बताइएको थियो । त्यही सूचनाका आधारमा स्पेनी सरकारले जवाफ माग गरेको हो । क्याटालोनियाका नेताहरूले मंगलबार स्वतन्त्रतासम्बन्धी घोषणामा हस्ताक्षर गरे पनि केन्द्रसँग वार्ताका लागि निर्णय स्थगित गरेका छन् । 

जनमतसंग्रहपछि अलग्गै राज्यको घोषणा गर्नुपर्ने माग राख्दै पृथकतावादी नेताहरूले स्पेन सरकारविरुद्ध आन्दोलनको घोषणासमेत गरेका छन् । 

विश्व समुदाय र स्पेन सरकारले भने उक्त जनमतसंग्रहको वैधानिकतामाथि प्रश्न उठाएका छन् । स्पेन सरकारले क्याटालोनियालाई स्वतन्त्रता दिन नसकिने बताएको छ । उक्त घोषणालाई स्पेनको संवैधानिक अदालतले अवैधानिक ठहर गरिसकेको छ । क्याटालोनियाको स्वतन्त्रताको पक्ष र विपक्षमा स्पेनका विभिन्न सहरमा दिनहुँ प्रदर्शन भइरहेका छन् ।

वार्ताका लागि घोषणा स्थगन
मंगलबार बार्सिलोनामा क्याटालोनियन संसद्मा बोल्दै राष्ट्रपति कार्लेस पुज्डेमोन्टले जनमतसंग्रहले क्याटालोनिया स्वायत्त क्षेत्रलाई स्वतन्त्र बनाउने अधिकार दिएको बताए । उनले क्याटालोनियालाई स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा मान्यता दिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रहसमेत गरे । जनताले म्याड्रिडसँग सम्बन्धविच्छेद चाहेको उल्लेख गर्दै उनले यस विषयको तनाव चाँडै अन्त्य होस् भन्ने आफूले चाहेको बताए । 

म्याड्रिड सरकारसँग थप वार्ताका लागि स्वतन्त्रताको घोषणालाई तत्कालका लागि स्थगित गरेको पनि उनले बताए । जनमतसंग्रहमा ४३ प्रतिशत मत खसेकामा ९० प्रतिशतले स्वतन्त्रताका पक्षमा मत दिएका थिए भने स्वतन्त्रताको विपक्षमा भएकाहरूले मतदान बहिष्कार गरेका थिए । मतदानका क्रममा अनियमितता भएका रिपोर्ट पनि सार्वजनिक भएका थिए । मतदान रोक्न प्रहरीले हस्तक्षेप गर्ने प्रयास गर्दा हिंसात्मक घटना पनि 
भएका थिए । 

स्पेनको पूर्वी भेगमा पर्ने क्याटालोनिया क्षेत्रअन्तर्गत बार्सिलोनासहित चार प्रान्त पर्छ । पछिल्लोपटक सन् २००६ मा यस क्षेत्रलाई लाई स्वायत्तता दिइएको थियो ।

प्रकाशित : आश्विन २६, २०७४ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?