१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

‘तलवार दम्पती निर्दोष’

हेमराज–आरुषी हत्याकाण्ड
एजेन्सी

नयाँ दिल्ली — आफ्नी छोरी र नेपाली कामदारको हत्यामा दोषी ठहर भई आजीवन कारावास सजाय काटिरहेका एक दम्पतीलाई भारतको उच्च अदालतले रिहा गरेको छ ।

‘तलवार दम्पती निर्दोष’

सन् २०१३ मा सीबीआई अदालतले परिस्थितिजन्य प्रमाणका आधारमा हेमराज बन्जाडे र आरुषी तलवारको हत्यामा दोषी ठहर गरेको थियो । ४ वर्षदेखि कारावास सजाय भोगिरहेको राजेश र नुपुर तलवारलाई भारतको इलाहबादस्थित उच्च अदालतले निर्दोष ठहर गरेको हो ।

उनीहरूलाई प्रमाण नष्ट गरेको तथा अनुसन्धानलाई सहयोग नगरेको आरोपमा जन्मकैदको फैसला सुनाइएको थियो । कक्षा ९ मा पढ्ने १४ वर्षीया आरुषी २००८ मा घरमा मृत भेटिएकी थिइन् । प्रहरीले हत्यामा हेमराज संलग्न रहेको आशंका गरे पनि भोलिपल्ट उनको शव भेटिएको थियो ।

अलाहबाद अदालतका न्यायाधीशले तलवार दम्पतीको हत्यामा संलग्न भएको स्पष्ट प्रमाण नभएको भन्दै सफाइ दिएका हुन् । उनले घटनामाको अनुसन्धानम संलग्न सीबीआका अधिकारीले पेस गरेको प्रमाण सतही भएको जनाउँदै सफाइ दिएका हुन् ।

सीबीआईले मुद्दाको पुनरावलोकन गर्नेबारे भने केही बताएको छैन । तलवारका कानुन व्यवसायी आदित्य वाध्वाले सीबीआई त्यसो नगर्नेमा आफू विश्वस्त भएको प्रतिक्रिया दिए । सन् २००८ को मे १६ मा आरुषीको हत्या भएको थियो । उनलाई घाँटी र टाउको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । हत्यामा संलग्न रहेको आशंका गरिएका बन्जाडेको पनि एक दिनपछि शब भेटिएपछि प्रहरीले दम्पतीमाथि अनुसन्धान थालेको थियो । सीबीआई अधिकारीले तलवार दम्पतीले आरुषी र बन्जाडेलाई आपत्तिजनक अवस्थामा भेटेपछि हत्या गरेको दाबी गर्दै मुद्दा दायर गरेका थिए ।

तलवार दम्पतीले भने हत्याको समयमा आफूहरू अर्को कोठामा सुतिरहेको बताएका थिए । अर्घाखाँचीको धारापानीका स्थायी बासिन्दा ४५ वर्षीया हेमराज रोजगारीका लागि भारत गएका थिए ।

प्रकाशित : आश्विन २७, २०७४ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?