कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

अमेरिका–उत्तर कोरिया विवादः ‘वार्ता प्रयास जारी रहन्छ’

बीबीसी

वासिङ्टन — अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले उत्तर कोरियाली संकट समाधानका लागि अन्तिम अवस्थासम्म पनि कूटनीतिक पहल जारी राख्ने बताएका छन् । साथै उनले राष्ट्रपति डोनाल्ड ट्रम्प पनि यसका लागि प्रयासरत रहेको दाबी गरे ।

अमेरिका–उत्तर कोरिया विवादः ‘वार्ता प्रयास जारी रहन्छ’

विदेशमन्त्री टिलरसनले सीएनएन टेलिभिजनसँगको अन्तरवार्तामा अन्तिम अवस्था नआएसम्म उत्तर कोरियाली संकट समाधानका लागि कूटनीतिक पहल जारी राख्ने बताए । उनले भने, ‘पहिलो बम प्रहार नभएसम्म वार्ता प्रयास जारी रहिरहनेछ ।’ उनले प्योङयाङको परमाणु कार्यक्रमविरुद्धका प्रतिबन्ध र कूटनीतिक प्रयासले अभूतपूर्व अन्तर्राष्ट्रिय एकता कायम गर्ने विश्वास व्यक्त गरे ।

टिलरसनले ट्रम्प र आफू दुवैले उत्तर कोरियाको परमाणु कार्यक्रमबारेको संकटलाई शान्तिपूर्ण ढंगबाट समाधान गर्न चाहेको बताएका हुन् । ‘राष्ट्रपतिले पनि यो समस्या कूटनीतिक तवरले नै समाधान होस् भन्ने चाहनुभएको छ,’ टिलरसनले भने, ‘उहाँ युद्धमा जाऊ भन्ने चाहनुहुन्न ।’ सीएनएनका अनुसार टिलरसनले केही साताअघि बेइजिङबाट उत्तर कोरियासँग प्रत्यक्ष संवाद भइरहेको जनाउँदै अमेरिका र उत्तर कोरियाबीचको तनाव साम्य पार्न क्रियाशील रहेको जनाएका थिए । तर दुई साताअघि ट्रम्पले टिलरसनलाई उत्तर कोरियाली नेतासँग वार्ता प्रयासका लागि ‘समय खेर नफाल्न’ सुझाव दिएका थिए ।

अन्तरवार्तामा टिलरसनले उत्तर कोरियाबारे राष्ट्रपति ट्रम्पसँग उनको मतभेद रहेको बारे भने केही उल्लेख गरेनन् । दक्षिण कोरिया र अमेरिकाले हालैका दिनमा उत्तर कोरियाको सीमा क्षेत्रमा सैन्य अभ्यास बढाउँदै लगेका छन् । अमेरिकाले हालैका सैन्य अभ्यास धेरैजसो रक्षात्मक भएको जनाएको छ ।

केही महिनायता उत्तर कोरियाले आफ्ना परमाणु परीक्षणलाई तीव्रता दिएको छ । गतमहिना उसले जापानी आकाशमा दुइटा क्षेप्यास्त्र प्रक्षेपण गरेर अमेरिका र सम्बद्ध देशलाई एक किसिमको चेतावनी दिइसकेको छ । त्यसको जवाफमा अमेरिकाले राष्ट्रसंघीय सुरक्षा परिषद्मार्फत उत्तर कोरियाविरुद्धको नाकाबन्दी कडा पारिसकेको छ ।

दुई देशबीच जारी तनाव गतमहिना ट्रम्पले अमेरिका वा मित्र देशको रक्षा गर्न उत्तर कोरियालाई पूर्णरूपमा ध्वस्त पार्ने चेतावनी दिएपछि उत्कर्षमा पुगेको हो । त्यसलगत्तै उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकाले ‘युद्धको आगो सल्काएको’ बताएका थिए ।

यसैबीच, उत्तर कोरियविरुद्ध नयाँ प्रतिबन्ध लगाउने विषयमा युरोपेली संघका विदेशमन्त्रीको बैठक बस्दै छ । बैठकमा उत्तर कोरियाली नागरिकले वैदेशिक रोजगारीमार्फत पठाउने रकम नियन्त्रण गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित : आश्विन ३१, २०७४ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?