१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

अमेरिकी कोरियाली सैन्य अभ्यासको उत्तर कोरियाद्वारा विरोध

रासस/सिन्ह्वा

प्योङयाङ — उत्तर कोरियाले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले सुरु गरेको संयुक्त सैन्य अभ्यासको विरोध गरेको छ ।

अमेरिकी कोरियाली सैन्य अभ्यासको उत्तर कोरियाद्वारा विरोध

यी दुई देशले गएको सोमबारदेखि संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । उत्तर र दक्षिण कोरियाको समुद्रको सीमामा पर्नेगरी यी दुई देशले सो अभ्यास सुरु गरेका हुन् । अमेरिका र दक्षिण कोरियाको इतिहासमा सबैभन्दा ठूलो यस सैन्य अभ्यासले आफ्नो देशलाई एक किसीमले सैन्य शक्तिको घमण्ड देखाएको आरोप उत्तर कोरियाले लगाएको छ ।

बुधबार एक प्रेस विज्ञप्ति प्रकाशन गरी उत्तर कोरियाको ‘इमर्जेन्सी कमिटी’का प्रवक्ताले सो जानकारी दिएका छन् । उनले उक्त विज्ञप्तिमा भनेका छन्–यी दुई देशले अहिलेसम्मकै सबैभन्दा ठूलो यो सैन्य अभ्यास सञ्चालन गरेर कोरियाली प्रायद्वीपमा युद्ध चाहेका छन् ।

विज्ञप्तिमा उनले अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्वीपमा शान्ति भन्दा पनि युद्ध चाहेकोले यस्ता सैन्य अभ्यासजस्ता उत्तेजक व्यवहारहरु प्रदर्शन गरेका आरोप पनि लगाएाक छन् । यी दुई देशले सञ्चालन गरेको यो सैन्य अभ्यास उनीहरुको इतिहासमा सबैभन्दा ठूलो सङ्ख्याको रहेको बताइएको छ । तर कतिजना सेना वा के कस्तो सैन्य प्रदर्शनी त्यहाँ भइरहेको छ भन्ने बारेमा भने केही बताइएको छैन ।

उत्तर कोरियाले दुई महिनामात्र अघि गरेको आणविक परीक्षणले विश्वमा नै तरङ्ग ल्याएको छ । सो परीक्षणमा शक्तिशाली हाइड्रोजन बम पनि परेकोले विश्वले नै यसको विरोध गरेका छन् । उक्त सैन्य अभ्यास उत्तर कोरियाको सो आणविक परीक्षण पछि आएकोले यसले आफ्नो देशलाई चुनौती दिन खोजेको अर्थमा उत्तर कोरियाले लिएको बताइएको छ ।

प्रकाशित : कार्तिक २, २०७४ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?