कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अमेरिकी केन्द्रीय बैंकमा पावेल

रोयटर्स

न्युयोर्क — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंक फेडरल रिजर्भको प्रमुखमा जेरोम पावेललाई रोजेका छन् । ६४ वर्षीय कानुनविद् तथा पूर्व लगानी बैंकर पावेल फेडरल रिजर्भकै कार्यकारी समिति सदस्य हुन् ।

निवर्तमान प्रमुख जेनट यलनको कार्यकाल आगामी फेब्रुअरीमा समाप्त हुँदै छ । फेडरल रिजर्भले अख्तियार गरेको मौद्रिक नीति र रिपब्लिकन दलको एजेन्डाबीचमा खास भिन्नता नभएकाले धेरैले येलनलाई नै राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकालका लागि नियुक्त गर्ने छन् भन्ने अनुमान गरेका थिए । ट्रम्पले पावेलसँग आवश्यक ज्ञान र नेतृत्व क्षमता रहेको भन्दै प्रशंसा पनि गरेका छन् । 

सिनेटले अनुमोदन गरेको खण्डमा पावेल अर्थशास्त्रमा उच्च डिग्री नभएको दोस्रो फेडरल रिजर्भ प्रमुख हुनेछन् । यसअघि १९७० मा अर्थशास्त्रको डिग्री नभएका विलियम मिलर फेडरल प्रमुख भएका थिए । झन्डै ८ करोड डलर सम्पत्तिका मालिक पावेल फेडरल रिजर्भ प्रवेश गर्नुअघि निजी क्षेत्रको लगानी कम्पनी कार्लाइल समूहमा थिए । ‘जेरम कुनै आग्रह राखेर काम गर्ने खालका मान्छे होइनन् । उनीसँग अतिवादी एजेन्डाहरू पनि छैनन्,’ पावेलसँग बाइपार्टिसन पोलिसी सेन्टरमा सँगै काम गरेका स्टिभ बेलले भने । पूर्वराष्ट्रपति जर्ज बुसको कार्यकालमा पावेलले अर्थ मन्त्रालयमा सल्लाहकार भएर काम गरेका थिए । 

 

प्रकाशित : कार्तिक १९, २०७४ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?