नेपाल एक स्पेनका पक्षमा

कान्तिपुर संवाददाता

काठमाडौं — स्पेनको स्वायत्त राज्य क्याटालोनियाले असंवैधानिक तवरले जनमतसंग्रह गर्दै स्वतन्त्रताका पक्षमा लबिङ गरेपछि विश्वभर राजनीतिक तरंग ल्यायो ।

नेपाल एक स्पेनका पक्षमा

कतिपय देश स्वतन्त्रताका पक्षमा देखा परे पनि अधिकांश एक स्पेनका पक्षमै रहे । नेपालले पनि आफूलाई एक स्पेनका पक्षमा उभ्याएको छ । विश्व परिवेश अध्ययन गरेपछि नेपाल बल्ल विभाजनका विपक्षमा उभिएको हो । नेपाल सरकार स्पेन अधिराज्यको विभाजनका विपक्षमा रहेको स्पष्ट गर्दै नेपालले त्यहाँको आन्तरिक मामिला संवैधानिक दायराभित्र रहेर समाधान गर्न सुझाएको छ ।

‘नेपाल मित्रराष्ट्र स्पेनको सार्वभौमिकता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको दृढ समर्थन एवं सम्मान गर्छ,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराईले भने, ‘नेपाल र स्पेनबीचको सम्बन्ध पारस्परिक सहयोग, मित्रता, आपसी समझदारी र एकअर्काका आकांक्षाप्रति सम्मानमा आधारित रहँदै आएको छ । हामी यसमा अडिग छौं ।’ कुनै पनि मुलुक असंवैधानिक रूपमा खण्डित हुन खोजे नेपालको समर्थन नरहने उनले स्पष्ट पारे ।

‘नेपाल असंलग्नताको नीति अवलम्बन गर्दै अघि बढेको छ । नेपालले आफ्नो छिमेक सम्बन्धबाट कूटनीति आरम्भ गर्छ भने मित्र मुलुकहरूसँग पनि उत्तिकै सम्बन्ध राखेर अघि बढ्छ,’ उनले भने । स्पेनका विषयमा नेपालले आन्तरिक रूपमा पहिले नै जानकारी दिएको भए पनि सोमबार मात्र सार्वजनिक गरेको उनले बताए ।

क्याटालोनियाले गत अक्टोबर १ मा जनमतसंग्रह गर्दै स्पेनबाट अलग हुने प्रक्रिया अघि बढाएको हो । केन्द्र सरकारले उक्त कदम असंवैधानिक रहेको भन्दै हस्तक्षेप गर्दै प्रत्यक्ष शासन लागू गरिसकेको छ । स्पेनले क्याटालोनियामा आगामी डिसेम्बर २१ मा क्षेत्रीय निर्वाचन गर्दै स्थानीय सरकार गठन गर्नेछ । क्याटालोनिया क्षेत्रीय सरकारका पूर्वसदस्यहरूले म्याड्रिडस्थित अदालतमा उपस्थित भएर विद्रोह, सार्वजनिक सम्पत्तिको दुरुपयोगलगायत विषयमा लगाइएको आरोपको जवाफ दिएका छन् ।

प्रकाशित : कार्तिक २१, २०७४ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?