३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

ट्रम्पले गरे सीको प्रशंसा

उत्तर कोरिया र चीन–अमेरिका व्यापारबारे छलफल, व्यापार घाटामा चीनको कुनै दोष नभएको ट्रम्पको भनाइ
बीबीसी

बेइजिङ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वआलोचनाको विपरीत चिनियाँ समकक्षी सी चिनफिङको मुक्तकण्ठले प्रशंसा गरेका छन् । दुई राष्ट्रपतिबीच दुई घण्टासम्म चलेको भेटका क्रममा ट्रम्पले सीलाई उत्तर कोरियालाई परमाणु अस्त्रविहीन बनाउन ‘कडा कदम चाल्न’ आग्रह गरे ।

ट्रम्पले गरे सीको प्रशंसा

राष्ट्रपति ट्रम्प पाँचदिने एसिया भ्रमणका क्रममा बुधबार बेइजिङ पुगेका हुन् । उनले अमेरिकाको चीनसँगको व्यापार घाटाबारे बोल्दै सबैलाई आश्चर्यमा पारे । ‘म चीनलाई दोष दिन्नँ ।’ चीनको ग्रेट हल अफ द पिपुलमा बोल्दै ट्रम्पले भने, ‘वास्तवमा, नागरिकको फाइदाका लागि अरू देशबाट फाइदा लिने देशलाई कसले आरोप लगाउन सक्छ ?’

दुई राष्ट्रपतिबीच उत्तर कोरियाको परमाणु कार्यक्रमबारे समेत छलफल भएको छ । ट्रम्पका अनुसार उनीहरु दुई देशको पहलमा कोरियाली समस्या समाधान सम्भव भएकोमा सहमत भएका थिए । ट्रम्पले उत्तर कोरियाली परमाणु कार्यक्रमले निम्त्याएको समस्या चीनले ‘सजिलै र छिटै’ समाधान गर्नसक्ने दाबी गरे । उनले भने, ‘म सीलाई यसमा निकै कडा कदम चाल्न आग्रह गर्छु । मलाई तपाईंहरुको राष्ट्रपतिबारे थाहा छ, यदि उनले कडा मिहिनेत गरे भने, समाधान अवश्य हुन्छ ।’
उनले अमेरिका र चीनबीचको व्यापार सन्तुलित बनाउने बताए । ट्रम्पले व्यापारमा चिनियाँ हात माथि पर्न दिएको भन्दै आफूअघिका अमेरिकी राष्ट्रपतिको खुलेरै आलोचना गरे ।

भेटका क्रममा दुई देशबीच २ खर्ब ५० अर्ब डलरको रणनीतिक औद्योगिक सम्झौताको घोषणा गरिएको थियो । चीनले अमेरिकी लगानीकर्ताका लागि बैंकिङ, बिमा, सवारी लगायतका विषयमा लगाएको आर्थिक अबरोध कम गर्ने प्रतिबद्धता जनाएको छ । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले पत्रकारहरुसँग बोल्दै उक्त सम्झौता व्यापार असन्तुलनका लागि ‘निकै सानो’ भएको प्रतिक्रिया दिए ।

चिनियाँ राष्ट्रपति सीले ट्रम्पको सम्मानमा राजकीय रात्रिभोज आयोजना गर्दै छन् । उनले उत्तर कोरियालाई परमाणु हतियारविहीन बनाउन दबाब सिर्जना गर्नका लागि भ्रमण गरेको ठानिएको छ । भ्रमणले चीन र अमेरिकाबीचको सम्बन्धमा पनि नयाँ आयाम थप्न सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हालै चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनपछि सी झन् शक्तिशाली भएका छन् । विश्वकै पहिलो र दोस्रो शक्तिशाली देशका राष्ट्रपतिबीच भएको भेटवार्तालाई निकै महत्त्वका साथ हेरिएको छ । बीबीसीका अनुसार पहिलो र दोस्रो शक्तिशालीको टुंगो लागिनसकेको भए पनि ट्रम्प आफ्नै देशभित्र विवादित र अन्तर्राष्ट्रिय सम्बन्धका कारण विगतका राष्ट्रपतिभन्दा केही कमजोर भएका छन् ।

तर सी अन्तर्राष्ट्रिय मञ्चमा २१ औं शताब्दीको चिनियाँ समाजवादको दृष्टिकोणसहित अगाडि बढिरहेका छन् । उनी चीनमा अध्यक्ष माओपछिकै शक्तिशाली नेताका रूपमा उदाएका छन् । ट्रम्प चीनमा केही खोज्न गएजस्तो देखिन्छ तर चीनले उनीबाट खासै केही अपेक्षा राखेको जस्तो देखिन्न । तर चिनियाँ सञ्चारमाध्यमले भेटवार्तालाई ‘शक्ति सम्बन्धका आधारमा इतिहासको नयाँ अध्याय लेखिन लागेको’ जनाएका कारण यहाँ पहिलो र दोस्रोभन्दा पनि समान हैसियतको खोजी भएको देखिन्छ ।

ट्रम्पको एक वर्ष
डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएको एक वर्ष पूरा भएको छ । उनको एक वर्षको कार्यकाल आन्तरिक कलहमै बितेको छ । राष्ट्रपति ट्रम्पको चुनावी अभियानमा रूसले हस्तक्षेप गरेको भन्ने आरोपबीच उनी तनावमा देखिन्छन् । तर ट्रम्प र रूस दुवैले ती आरोपहरुको खण्डन गर्दै आएका छन् ।
कतिपय अवस्थामा उनी आफ्ना अभिव्यक्तिका कारण पनि विवादित बन्ने गरेका छन् । आप्रवासन, जलवायु परिवर्तन, गर्भपतनलगायत विषयमा ट्रम्प नीतिको देश भित्र र बाहिर चर्को आलोचना गरिएको छ । तर उनका समर्थकहरु अझै ट्रम्पप्रति आशावादी देखिन्छन् ।

प्रकाशित : कार्तिक २३, २०७४ २२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?