कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सरकार गठनको वार्ता भंग, मर्केल चान्सलर हुने सम्भावना टर्‍यो

रोयटर्स

बर्लिन — जर्मनीमा गठबन्धन सरकार गठनका लागि भएको वार्ता भंग भएपछि एन्जेला मर्केलको पुन: चान्सलरमा नियुक्त हुने सम्भावना टरेको छ । यससँगै युरोपको ठूलो अर्थतन्त्र जर्मनी नयाँ निर्वाचनोन्मुख भएको छ ।

सरकार गठनको वार्ता भंग, मर्केल चान्सलर हुने सम्भावना टर्‍यो

खुला बजार पक्षधर मानिएको उदारवादी दल एफडीपीले गठबन्धन सरकारमा सामेल नहुने निर्णय लिएसँगै जर्मनीमा राजनीतिक संकट उत्पन्न भएको हो । 

उक्त दलसँग मिलेर सरकार गठनका लागि मर्केलले विगत चार सातादेखि वार्ता गर्दै आएकी थिइन् । एफडीपी नेता क्रिस्टेन लिन्डनरले गठबन्धनमा सामेल दलसँग ‘विश्वासको कुनै आधार’ नभएको जनाए । हाल गठबन्धनमा एन्जेला मर्केलको अनुदारवादी सीडीयू/सीएसयू द ग्रिन्स सामेल छन् । 

अब के हुन्छ भन्ने कुरा अस्पष्ट छ तर मर्केलले राष्ट्रपति फ्रयांक वाल्टर स्टेनमियरलाई भेट्ने जनाइएको छ । जर्मन सञ्चारमाध्यमका अनुसार सम्भवत: स्टेनमियरले नयाँ निर्वाचनको घोषणा गर्नेछिन् । 

मर्केलले वार्ता भंग भएकोमा दु:ख व्यक्त गरेकी छन् । उनले भनिन्, ‘यो जर्मनीमा कसरी अगाडि बढ्ने भन्ने कुरालाई गहिरो रूपमा प्रतिविम्बित गर्ने दिन हो । 

मर्केलले सरकार गठनका लागि गरेको प्रयास असफल भएको जानकारी दिन राष्ट्रपतिलाई भेट्न लागेको जनाएकी छन् । उनले भनिन्, ‘मैले चान्सलरको हैसियतले आगामी साताहरूमा देशले भोग्नुपर्ने कठिन समयको व्यवस्थापनका लागि म हरेक कुरा गर्न प्रतिबद्ध छु ।’ 

पछिल्लो घटना क्रमपछि जर्मन सेयर बजार केही ओरालो लागेको छ । मर्केल नेतृत्वको गठबन्धन गतसेप्टेम्बरमा भएको निर्वाचनमा विजयी भएको थियो । तर, गतनिर्वाचनमा धेरै मतदाताले मूलधारका दललाई मत दिएनन् । पहिलोपटक संसद्मा सिट जितेपछि चरम दक्षिणपन्थी राष्ट्रवादी दल एएफडीले देशमा ‘विदेशीको अतिक्रमणविरुद्ध लड्ने’ प्रतिबद्धता जनाएको छ । 

समाचार संस्थाका अनुसार कर, शरणार्थी र वातावरणीय नीतिका विषयमा वार्तामा बृहत् छलफल भएको थियो । वार्तामा सिरियाली शरणार्थीका परिवारलाई जर्मनीमा बसोबास गर्न अनुमति दिने/नदिनेबारे पनि मतभेद भएको थियो । यसअघि गत साँझ सरकार गठनका लागि भएको वार्ता टुंगोमा पुगेको हल्ला फैलिएको भए पनि एफडीपीका नेता आफ्ना सदस्यहरूसहित सरकार निर्माणको प्रक्रियाबाट बाहिरिएको घोषणा गरेका थिए । एफडीपीका नेता लिन्डनरले भने, ‘खराब शासन गर्नुभन्दा शासन नै नगर्नु राम्रो ।’

द ग्रिन पार्टीका उपनेता सिमोन पिटरले एफडीपी पार्टी ‘अनुत्तरदायी’ भएको आरोप लगाए । तर ग्रिन पार्टीका नेता कट्रिन गोरिङ एकर्डटले आफूहरू अझै आप्रवास नीति, जलवायु परिवर्तन र कृषिका विषयमा छलफल गरी ‘सहमतिमा पुग्न’ सकिने बताए । तर मर्केलले विभिन्न संस्कृति र रहनसहनका कारण वार्ता टुंगोमा पुग्न नसकेको जनाइन् । समयअगावै चुनाव गराउन मर्केलले बाहेक द ग्रिन्ससँग मिलेर अल्पसंख्यकको सरकार बनाउन सक्छिन् । त्यसबारे द ग्रिन्सले अहिलेसम्म प्रतिक्रिया जनाइसकेको छैन । 

प्रकाशित : मंसिर ५, २०७४ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?