कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बंगलादेश–म्यान्मार बैठक रोहिंग्या फिर्ता गर्ने सहमति

रोयटर्स

याङ्गुन — बंगलादेश र म्यान्मारबीच रोहिंग्या शरणार्थीलाई दुई महिनाभित्र फिर्ता गर्ने सहमति भएको छ । बंगलादेश भागेका रोहिंग्या शरणार्थीलाई फिर्ता गर्न विश्वभरबाट माग भइरहेका बेला म्यान्मारकी नेतृ आङ सान सुकी र बंगलादेशका विदेशमन्त्री एएच महमद अलिबीच म्यान्मारको न्यापितमा भएको बैठकमा उक्त सहमति भएको हो ।

बंगलादेश–म्यान्मार बैठक रोहिंग्या फिर्ता गर्ने सहमति

बंगलादेशको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै शरणार्थी फिर्ती प्रक्रिया दुई महिनाभित्र सुरु हुने जनाएको छ । दुवै पक्षले यस विषयमा आवश्यक गृहकार्य गरिरहेको पनि जनाइएको छ । म्यान्मारबाट रोहिंग्या समुदायको पलायनलाई संयुक्त राष्ट्रसंघ र अमेरिकाले ‘जातीय सफाया’ भन्दै आएका छन् ।

म्यान्मारमा पछिल्ला केही महिनायता भएका हिंसात्मक गतिविधिपछि सेनाले चलाएको कारबाहीपछि रोहिंग्या समुदायको बसोबास रहेको राखिने राज्यबाट करिब ६ लाख २० हजार जनता भागेर बंगलादेश पुगेका थिए ।

सुरक्षाकर्मीले चलाएको पछिल्लो अभियानलाई अमेरिकाले अल्पसंख्यक रोहिंग्या समुदायलाई राखिनेबाट हटाउने प्रयास भनी आलोचना गरेको छ । बंगलादेश तथा म्यान्मारबीचको सहमतिअनुसार आगामी तीन साताभित्र कार्यदल बनाई काम सुरु गरिनेछ । सहमतिपछि छोटो प्रतिक्रिया दिँदै विदेशमन्त्री अलीले भने, ‘शरणार्थी फर्काउन गरिएको यो सुरुवाती कदम हो ।

म्यान्मारले रोहिंग्यालाई फिर्ता लैजानेछ, अब हामीले काम सुरु गर्नुपर्छ ।’ म्यान्मारका वरिष्ठ अधिकारी मिन्ट काइङले सकेसम्म रोहिंग्यालाई फिर्ता लिन तयार रहेको बताएका छन् । म्यान्मार कुन सर्तमा शरणार्थी फिर्ता लिन तयार भएको हो भन्नेबारेमा स्पष्ट भएको छैन । तर अधिकांश रोहिंग्याहरू आफूलाई फिर्ता पठाइन्छ भन्नेमा त्रसित छन् ।

बंगलादेशको कुटुपालोङ शिविरमा रहेका शरणार्थीहरूले नागरिकता तथा आफ्नो जमिन फिर्ताको प्रत्याभूति भए मात्र फर्कने बताएका छन् । ‘हामीहरू फिर्ता हुन तयार छौं, तर उनीहरूले हामीलाई प्रताडित नगरून् र बौद्धमार्गी र अन्य अल्पसंख्यक समुदायजस्तै जीवन जिउन सकौं,’ शरणार्थी सइद हुसेनले भने ।

गतसाता म्यान्मारका सेना प्रमुख मिन आङ हाइङले अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनलाई म्यान्मारका वास्तविक नागरिकले स्वीकार गरेको अवस्थामा उनीहरू फर्कन सक्ने बताएका थिए ।
कति रोहिंग्यालाई स्वदेश फर्काइँदै छ र यो प्रक्रिया कहिलेसम्म सम्पन्न हुनेछ भन्ने विषयमा दुवै पक्षले प्रस्ट बोलेका छैनन् ।

मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले भने शरणार्थीहरूको सुरक्षित र सम्मानपूर्ण फिर्तीबारे आशंका गरेको छ ।

प्रकाशित : मंसिर ८, २०७४ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?