१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अमेरिकामा धनीलाई कर छुट

काठमाडौं — धनीहरूको पक्षमा ल्याइएको भनी व्यापक आलोचना हुँदै आएको कर पुन:संरचनासम्बन्धी विधेयकलाई शनिबार अमेरिकी सिनेटले पारित गरेको छ । सय जना सिनेटरमध्ये विधेयकको पक्षमा ५१ र विपक्षमा ४९ जनाले मत खसालेका थिए ।

अमेरिकामा धनीलाई कर छुट

‘द न्युयोर्क टाइम्स’ का अनुसार यो विधेयकले अमेरिकी अर्थव्यवस्थाको सबै क्षेत्र, परिवार, साना कारोबारी तथा बहुराष्ट्रिय कम्पनीहरूलाई प्रभावित गर्नेछ । यो विधेयकबाट सबैभन्दा बढी लाभ अमेरिकामा धेरै कमाइ गर्नेहरूलाई हुने बताइएको छ । रिपब्लिकन पार्टीका सिनेटरहरूले विधेयक पारित हुनुलाई ठूलो जितका रूपमा लिएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार विधेयकमार्फत कर्पोरेट टयाक्समा स्थायी कटौती गर्दै यसमा ३५ प्रतिशत घटाएर २० प्रतिशतमा झारिएको छ । सन् २०२५ सम्म सर्वसाधारणका लागि करको दरमा कटौती हुने मार्ग प्रशस्त भएको छ । यो व्यवस्था अस्थायी हुनेछ । विधेयकमा ‘ओबामाकेयर’ स्वास्थ्य योजना समाप्त गर्ने प्रावधान पनि समावेश गरिएको छ । उक्त योजना पूर्वराष्ट्रपति बराक ओबामाले आफ्नो कार्यकालमा ल्याएका थिए । ‘ओबामाकेयर’ बाट झन्डै २ करोड अमेरिकीलाई स्वास्थ्य बिमाको सीमाभित्र ल्याइएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्प लामो समयदेखि यसको विरोध गर्दै आएका थिए ।

विधेयक पारित भएलगत्तै ट्विटमा उनले लेखेका छन्, ‘काममा व्यस्त रहने हामीजस्ता अमेरिकी परिवारलाई भारी कर कटौतीबाट लाभान्वित गराउने अवस्थाको नजिक पुुगेका छौं । विधेयकमा क्रिसमसअघि हस्ताक्षर हुने आशा गरौं ।’ अमेरिकी संसद्को प्रतिनिधिसभाले यसलाई अघिल्लो साता नै पारित गरिसकेको छ ।

राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेपछि यो विधेयकले कानुनी मान्यता पाउनेछ । विधेयकमाथि अमेरिकी सिनेटमा कयौं दिनसम्म बहस भएको थियो । रिपब्लिकन सिनेटर बोब कोकरले पार्टीको नेतृत्वविरुद्ध विधेयकको विरोधमा मतदान गरेका थिए । समाचारहरूका अनुसार उनले भनेका छन्, ‘म विधेयकको पक्षमा मतदान गर्न चाहन्थें तर अन्त्यमा म आफ्नो वित्तीय चिन्तालाई बेवास्ता गर्न सकिनँ । हाल मलाई जुन जानकारी छ, त्यसको आधारमा यो विधेयकले भावी पिँढीहरूलाई ऋणको बोझमा डुबाउने निश्चित छ ।’ उता डेमोक्रेटिक पार्टीका एक सिनेटरले पनि यो विधेयकको विरोध गरेका छन् ।

यसैबीच ‘बीबीसी’ अनलाइनका अनुसार सिनेटबाट अमेरिकी कर कटौती विधेयक पारित हुनुलाई राष्ट्रपति ट्रम्पको कार्यपालिकामा भएको ठूलो विजय हो । यो विधेयकमार्फत कर प्रणालीमा गरिएको परिवर्तन सन् १९८० को दशकयताकै सबैभन्दा ठूलो भएको अर्थविद्हरूले प्रतिक्रिया दिएका छन् ।

‘डेमोक्रेट्सहरूले यो विधेयकबाट धनी र ठूला व्यापारीहरूलाई मात्रै फाइदा हुने आरोप लगाएका छन्,’ बीबीसीले लेखेको छ, ‘कर कटौती तथा नोकरी अधिनियमअन्तर्गत कर्पोरेट करको दर स्थायी रूपमा १५ प्रतिशतसम्म घटाइने प्रावधान विधेयकमा छ, जबकि अमेरिकी–आधारित फर्महरूलाई भविष्यमा करबाट मुक्त गर्ने व्यवस्था गरिएको छ ।’ सबै आयस्तर भएका अधिकांश अमेरिकीहरूलाई सन् २०१६ सम्म सामान्य करजस्तो देखिएपछि एक वर्षमा ७५ हजार अमेरिकी डलरभन्दा कम आय भएका परिवारले बढी कर तिर्नुपर्ने व्यवस्था पनि विधेयकमा छ ।

विधेयकको विरोध गर्नेहरूले ओबामाकेयरअन्तर्गत सुरु गरिएको अमेरिकी नागरिकको आवश्यकतालाई समाप्त गरेको प्रतिक्रिया दिएका छन् । तिनीहरू भन्छन्, ‘यो योजनाले अधिकांश करदाताहरूलाई स्वास्थ्य बिमा खरिद गर्न या जरिवाना तिर्न बाध्य पारेको थियो । तर, त्यो हटेपछि सन् २०२७ सम्म १ करोड ३० लाख अमेरिकी इन्स्योरेन्स प्रिमियम तिरेबापतको रकम बिमाकर्ताहरूले गुमाउनेछन् ।’

रिपब्लिकन कर विधेयकले सार्वजनिक विद्यालयहरूमा आफ्ना बालबालिका पढाउने अमेरिकी परिवारलाई सजाय दिने अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । ‘क्वार्ज मिडिया’ का अनुसार पछिल्लो विधेयक मध्यमवर्गीय र निम्न आयस्तर भएकाहरूको तुलनामा धनीलाई सहयोग गर्ने खालको छ ।

‘निजी विमान मालिकहरूलाई करको छुट हुनेछ तर कम आय भएकालाई बढी कर तिर्नुपर्ने निश्चित छ,’ उसले लेखेको छ, ‘ठूलो संख्यामा अमेरिकी परिवारलाई आफ्ना बालबालिकाको शिक्षामा समस्या ल्याउनेछ ।’ अमेरिकामा ६ सय ३४ अर्ब अमेरिकी डलर खर्च हुने सार्वजनिक विद्यालयहरूले ५ करोड १० लाख बालबालिकाहरू प्रभावित हुनेछन् । अमेरिकामा प्रि–किन्डेरगार्टेनदेखि १२ कक्षासम्म पठनपाठन हुने ९८ हजार २ सय सार्वजनिक विद्यालय रहेका छन् । ती सबैलाई नयाँ करले प्रभावित पार्ने निश्चित भएको छ । अमेरिकामा १० प्रतिशत घरमूलीले मात्रै आफ्ना बालबालिकालाई निजी विद्यालयहरूमा पढाउने गर्छन् ।

निजी शिक्षालयलाई बढावा दिने गरी ल्याइएको नयाँ कर प्रणालीले मध्यमवर्ग र निम्न आय भएका परिवारलाई समस्यामा पार्ने आरोप विरोधीहरूको छ । अमेरिकामा निजी विद्यालयहरूमा टयुसन शुल्क औसतमा प्रतिविद्यार्थी ९ हजार ९ सय ७५ डलरसम्म रहेकामा यो ७५ हजार ९ सय ४० डलर पुग्ने अनुमान गरिएको छ । यसले अमेरिकामा शिक्षा महँगो हुने देखिन्छ ।

प्रकाशित : मंसिर १८, २०७४ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?