कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

राष्ट्रसंघीय अधिकारी उत्तर कोरिया पुगे

बीबीसी

वासिङ्टन/सोल — संयुक्त राष्ट्रसंघीय राजनीतिक मामिला प्रमुख जेफ्री फेल्टमेन चार दिने भ्रमणका क्रममा मंगलबार उत्तर कोरिया पुगेका छन् । उनको भ्रमण ६ वर्षयता राष्ट्रसंघीय उच्च अधिकारीले गरेको पहिलो हो ।

राष्ट्रसंघीय अधिकारी उत्तर कोरिया पुगे

पूर्वअमेरिकी कूटनीतिज्ञ फेल्टमेन राष्ट्रसंघमा कार्यरत सबैभन्दा वरिष्ठ अमेरिकी कर्मचारी हुन् । उनी शुक्रबारसम्म उत्तर कोरियाली राजधानी प्योङयाङमा हुने बताइएको छ । दक्षिण कोरिया र अमेरिकाले उत्तर कोरिया लक्षित हालसम्मकै ठूलो हवाई अभ्यास गरिरहेका बेला उनी भ्रमणमा निस्किएका हुन् ।

राष्ट्रसंघीय प्रवक्ताका अनुसार फेल्टमेनले उत्तर कोरियाका विदेशमन्त्री री योङ होसहित अन्य उच्च वरिष्ठ अधिकारीसँग भेट्ने कार्यक्रम छ । उनीहरूबीच द्विपक्षीय स्वार्थ र चासोका मुद्दाबारे नीतिगत छलफल हुनेछ । तर फेल्टमेनले उत्तर कोरियाका नेता किम जोङ उनसँग भने भेट्ने कार्यक्रम तय भइसकेको छैन ।

गत साता उत्तर कोरियाले हालसम्मकै ‘सबैभन्दा शक्तिशाली’ अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि यो भ्रमण हुन लागेको हो । प्योङयाङले उक्त क्षेप्यास्त्र अमेरिकाको जुनसुकै भूभागमा प्रहार गर्ने सक्ने दाबी गरेको छ । कोरियाली प्रायद्वीपमा देखिएको उच्च तनावका माझमा फेल्टमेनले भ्रमण सुरु गरेका हुन् । उत्तर कोरियाले राष्ट्रसंघलाई गत सेप्टेम्बरमा ‘नीतिगत संवाद’ का लागि आमन्त्रण गरेको थियो । राष्ट्रसंघले उक्त आमन्त्रणलाई प्योङयाङले पछिल्लो क्षेप्यास्त्र परीक्षण गरेको भोलिपल्ट अर्थात् नोभेम्बर ३० मा स्वीकार गरेको हो ।

यसअघि फेल्टमेन सोमबार चीनको राजधानी पुगेका थिए । उत्तर कोरिया चीनको प्रमुख आर्थिक तथा कूटनीतिक साझेदार हो । चिनियाँ उच्च कूटनीतिक अधिकारी उत्तर कोरियासँग वार्ता गर्न गतमहिना प्योङयाङ पुगेका थिए ।

राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेजले उत्तर कोरियाली संकटबारे मध्यस्थता गरिदिने प्रस्ताव गरेका थिए । तर राष्ट्रसंघले भने उनले प्योङयाङ भ्रमण गर्ने कुनै कार्यक्रम नरहेको जनाएको छ ।

प्रकाशित : मंसिर २०, २०७४ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?