१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

भारतीय पूर्व रेल मन्त्री लालु यादव जेल चलान

एजेन्सीहरु

भारत (नयाँ दिल्ली) — सीबीआईको विशेष अदालतले बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवसहित १६ जनालाई ‘चारा घोटाला काण्ड’ मा दोषी ठहर गरेको छ ।

भारतीय पूर्व रेल मन्त्री लालु यादव जेल चलान

दुई दशक पहिलेको भ्रष्टाचार मुद्दामा शनिबार दोषी प्रमाणित भएसँगै उनीहरू अदालत परिसरबाटै पक्राउ परेका हुन् ।


अधिकारीले उनीहरूलाई झारखण्डको राँचीस्थित विर्सा मुन्डा कारागार चलान गरिएको जनाएका छन् । चारा घोटालाका विभिन्न ६ मुद्दामध्ये यो दोस्रो फैसला हो । उक्त घोटालामा ९ सय करोड हिनामिना भएको सीबीआई अधिकारीले दाबी गरेको बीबीसी हिन्दीले जनाएको छ ।


सीबीआई अदालतका न्यायाधीश शिवपाल सिंहले यादवसहित १६ राजनीतिज्ञ र कर्मचारीले सन् १९९१ देखि १९९४ सम्म ८९ लाख २७ हजार रुपैयाँ हिनामिना गरेको प्रमाणित भएको जनाए । न्यायाधीशका अनुसार पक्राउ परेकालाई दिइने सजाय अदालतले आगामी जनवरी ३ मा सुनाउने छ ।


अदालतले उक्त मुद्दामा पूर्वमुख्यमन्त्री जगन्नाथ मिश्रासहित ६ जनालाई भने सफाइ दिएको छ । यसअघि लालु सन् २०१३ को सेप्टेम्बर ३० मा पहिलो मुद्दामा दोषी ठहर भएका थिए । उनलाई सर्वोच्च अदालतले संसदका लागि अयोग्य ठहर गर्दै चुनाव लड्न रोक लगाएको थियो ।


उक्त भ्रष्टाचारमा अधिकारीहरूले ३४ जनाविरुद्ध मुद्दा दायर गरेका थिए । तीमध्ये ११ जनाको अदालतको सुनुवाइका क्रममा मृत्यु भएको थियो । पक्राउ परेलगत्तै प्रतिक्रिया दिँदै यादवले आफ्ना कार्यकर्तालाई शान्त रहन अपिल गरेका थिए ।


यादव सन् १९९० देखि लगातार सात वर्ष बिहारका मुख्यमन्त्री बनेका थिए । राष्ट्रिय जनता दलका अध्यक्ष यादवले १९९७ मा चारा भ्रष्टाचार काण्डका कारण राजीनामा दिएका थिए । उनी २००४ देखि पाँच वर्ष यूपीए गठबन्धन सरकारमा केन्द्रीय रेलमन्त्रीसमेत भएका थिए ।


के हो ‘चारा घोटाला’ ?

‘चारा घोटाला’ बिहारकै सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड मानिन्छ । पशुलाई दिइने दानाको नाममा ९ सय करोड रुपैयाँ बिहार सरकारको कोषबाट फर्जी रूपमा निकालिएको काण्डलाई नै चारा घोटाला भनिन्छ । पशुपालन विभागका अधिकारी र ठेकेदारहरूले राजनीतिक मिलेमतोमा उक्त रकम निकालेका थिए । यो भ्रष्टाचार काण्डमा सरकारी अर्थ विभाग र पशुपालन विभागका सयौं कर्मचारी रातारात पक्राउ गरिएको थियो भने ठेकेदार र आपूर्तिकर्ताहरूलाई पनि हिरासतमा लिइएको थियो । सामान्य रूपमा छानबिन सुरु भएकोमा पछि पूर्वमुख्यमन्त्री यादवसहित तानिएका थिए ।

सच्याइएको : यादवमाथि सजाय जनवरी ३ मा सुनाइने हुनुपर्नेमा यसअघि प्रकाशित समाचारमा अन्यथा पर्न गएकाले सच्याइएकाे छ ।

प्रकाशित : पुस ८, २०७४ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?