कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फिलिपिन्समा आँधी र आगलागीमा २३७ को मृत्यु

राष्ट्रसंघद्वारा दुःख व्यक्त

दावाओ सिटी, फिलिपिन्स — फिलिपिन्समा भएका दुई ओटा ठूला घटनामा परी तीन दिनमा कम्तीमा पनि २३७ जनाको मृत्यु भएको छ । शुक्रबार आएको ‘टेमबिन’ नामक आँधीमा परी मृत्यु हुनेहरुको सङ्ख्या अहिले सम्म २०० पुगेको छ भने शनिबार दावाओ सिटीमा रहेको एउटा सपिङ मलमा भएको आगलागीमा परी ३७ जनाको मृत्यु भएको छ । 

फिलिपिन्समा आँधी र आगलागीमा २३७ को मृत्यु

शनिबार बिहान भएको आगलागीमा परी हराइरहेकामध्ये उनीहरुको मृत्यु भएको हुन सक्ने अधिकारीहरुले बताएका छन् । अग्नि नियन्त्रक र उद्धारकर्ताले झण्डै १६ घण्टासम्मको लगातारको प्रयासपछि आइतबार बिहान मात्र आगो नियन्त्रणमा लिन सफल भएका छन् ।


राष्ट्रपति रोड्रिगो डुतेर्तेले स्थानीय समयअनुसार बिहान तीन बजेतिर आगलागीमा परी ज्यान गुमाएकाका आफन्तलाई सहानुभुति व्यक्त गरेका छन् । उनले उक्त दुर्घटनाबाट भएको क्षतीप्रति दुःख व्यक्त गर्दै पीडितलाई धैर्यधारण गर्न आग्रह गर्नुभयो । पीडितका परिवारलाई सरकारले सहयोग गर्ने घोषणा पनि उनले गरे । अधिकारीले भनेका छन्, 'अहिले पनि घटनास्थलमा कोही व्यक्ति जीवितै होलान् भन्ने विश्वास गर्न धेरै गाह्रो छ, उनीहरु जीवितै हुने सम्भावना शुन्य छ,' ।


क्याथोलिक विसप कन्फेरेन्सका अर्चबीसप रोमुलो भालिजलाई उद्धृत गर्दै राष्ट्रपति डुतेर्तेले हराएकाको जीवितै रहने सम्भावना नरहेको बताए । आफन्त गुमाएकालाई उनले नजिकैको एउटा रेस्टुरेन्टमा भेटेका थिए ।


स्थानीय समयअनुसार आइतबार बिहान ०५ बजेसम्म आगलागीबाट ध्वस्त भएको एनसीसीसी मलमा कम्तीमा ३७ जना बेपत्ता भएको राष्ट्रपतिका छोरासमेत रहेका सिटिका मेयर पाउलो डुतेर्तेले जानकारी दिए ।


आँधीमा मृत्यु हुनेको संख्या २०० पुग्यो


त्यसैगरी फिलिपिन्सको दोस्रो ठूलो टापूका रुपमा चिनिने मिन्दानाओमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या शनिबार अबेररातिसम्म २०० पुगेको छ । अरु कैयौँ अझै पनि बेपत्ता भएका प्रहरी अधिकारीले जानकारी दिएका छन् । फिलिपिन्स प्रहरीका प्रान्तीय प्रमुख लेमुएल गोन्डाले उत्तरी मिन्डानाओमा मात्रै आँधीका कारण १३५ जना र जाम्बोङ पेनिन्सुलामा ४७ जनाको मृत्यु भएको जानकारी दिए ।


मिन्डानाओ स्वायत्त क्षेत्रका एकजना सांसद जिआ अलोन्टो अडिओङले आफ्नो क्षेत्रमा १८ जनाको मृत्यु भएको बताएका छन् । उत्तरी मिन्डानाओमा मृत्यु भएका १३५ जनामध्ये १२७ जना लानाओ डेल नोर्ते, छ जना बुकिड्नोन, एक जना इलिगान र अर्का एक जना मिसामिस ओक्सीडेन्टलमा मृत्यु भएको हो ।


प्रहरीले अरु झण्डै ७२ जना हराइरहेकाले खोजीकार्य जारी रहेको जनाएको छ । राष्ट्रिय प्रकोप खतरा न्यूनीकरण तथा व्यवस्थापन परिषदले आँधी प्रभावित क्षेत्रबाट विवरण उपलब्ध गराउन आग्रह गरिएको जनाएको छ । परिषद्का प्रवक्ता रोमिना मारासिगानले आफूलाई ७५ जनाको मृत्यु भएको र ५८ जना अझै पनि हराइरहेको अनौपचारिक विवरण विभिन्न निकायबाट प्राप्त भएको बताए । यस आँधीका कारण ५० हजारभन्दा बढी नागरिक विस्थापित भएका छन् । सयौँ घर ध्वस्त भएका छन् भने कतिपय गाउँ नै बाढीले बगाएको छ ।


राष्ट्रसंघद्वरा दुःख व्यक्त


यसैबीच फिलिपिन्समा आँधीका कारण ठूलो संख्यामा मानवीय क्षति भएकोप्रति संयुक्त राष्ट्रसंघले गहिरो दुःख व्यक्त गरेको छ ।


राष्ट्रसंघका महासचिव एन्टोनिओ गुथ्रेसले आँधी र आगलागीका कारण फिलिपिन्सका धेरै नागरिकले ज्यान गुमाउनु परेको र ठूलो मात्रामा भौतिक क्षति भएकोमा दुःख व्यक्त गरेका हुन् । उनका प्रवक्ताले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा पीडितका परिवारप्रति सहानुभूति व्यक्त गर्नुकासाथै घाइतेको सिघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।


उनले प्रकोपको समयमा साहसपूर्वक उद्धारकार्यमा खटिएका उद्धारकर्ता तथा स्वयम्सेवीलाई उच्च सम्मान व्यक्त गर्नुभएको प्रवक्ताले उक्त विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

प्रकाशित : पुस ९, २०७४ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?