‘नयाँ प्रतिबन्ध युद्धको कदम’

बीबीसी/रोयटर्स

सोल — उत्तर कोरियाले संयुक्त राष्ट्रसंघले प्योङयाङविरुद्ध लगाएको पछिल्लो नाकाबन्दी ‘युद्धको कदम’ भएको जनाएको छ । सरकारी समाचार संस्था केसीएनएले अमेरिकाको उक्साहटमा राष्ट्रसंघले नाकाबन्दी कडा पारेको भन्दै कडा शब्दमा विरोध गरेको छ । साथै उत्तर कोरियाले उक्त प्रस्तावको समर्थन गर्ने देशलाई सजाय दिने चेतावनी दिएको छ ।

‘नयाँ प्रतिबन्ध युद्धको कदम’

केसीएनएद्वारा सार्वजनिक उत्तर कोरियाली विदेश मन्त्रालयको विज्ञप्तिमा राष्ट्रसंघको पछिल्लो कदम ‘पूर्ण आर्थिक नाकाबन्दी सरह’ भएको उल्लेख छ । उसले अमेरिकालाई निराश बनाउन

आफ्नो परमाणु क्षमतालाई थप सुदृढ पार्नु एकमात्र विकल्प भएको दाबी गरेको छ ।

विज्ञप्तिमा उल्लेख छ, ‘हामी अमेरिका र यसका अनुयायीको योजनामा लागू गरिएको नाकाबन्दी उत्तर कोरियाको सार्वभौमिकताको अवमूल्यन हो । यो कोरियाली द्वीप र उक्त क्षेत्रमा शान्ति र स्थायित्वको उल्लंघन गर्ने युद्धको कदम भएकाले हामी नि:सन्देह अस्वीकार गर्छौं ।’

प्योङयाङले गत नोभेम्बर २९ मा गरेको क्षेप्यास्त्र परीक्षणको जवाफमा राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरिया विरुद्धको नाकाबन्दी कडा पारेको हो । अमेरिकाले तयार पारेको नयाँ नाकाबन्दीमा उत्तर कोरियाको तेल आयात करिब ९० प्रतिशतले घटाउने लगायतका कदमहरू उल्लेख छन् । उत्तर कोरियामा हाल वार्षिक ४० लाख लिटर तेल आपूर्ति हुँदै आएको छ ।

उक्त प्रस्ताव शनिबार सुरक्षा परिषद्ले सर्वसम्मत रूपमा पारित गरेको हो । उत्तर कोरियाका प्रमुख व्यापार साझेदारहरू चीन र रुसले पनि प्रतिबन्धको पक्षमा मतदान गरेका थिए । उत्तर कोरियाले पहिल्यैदेखि नै अमेरिका, राष्ट्रसंघ र युरोपेली संघद्वारा लगाइएका कैयौं प्रतिबन्धहरू झेलिरहेको छ ।

राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हलीले ‘नयाँ प्रतिबन्धले प्योङयाङले अन्तर्राष्ट्रिय समुदायको अवज्ञा गर्दै गए उसलाई अझै एक्ल्याइने स्पष्ट सन्देश दिएको’ बताएकी थिइन् ।

अमेरिकाले सन् २००८ देखि नै उत्तर कोरियाविरुद्ध प्रतिबन्धहरू लगाउँदै आएको छ । उसले प्योङयाङको परमाणु कार्यक्रमलाई आर्थिक सहयोग पुर्‍याएको आरोपमा विभिन्न कम्पनीहरूको सम्पत्ति रोक्का गर्दै आएको छ ।

उत्तर कोरियाले हालैका महिनामा आफ्नो क्षेप्यास्त्र परीक्षणलाई तीव्रता दिएपछि कोरियाली द्वीपमा तनाव चुलिएको हो । विश्व समुदायको लगातारको दबाको बाबजुद उत्तर कोरियाले परमाणु तथा क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

प्रकाशित : पुस १०, २०७४ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?