ब्याननले मानसिक सन्तुलन गुमाए : ट्रम्प

एजेन्सी

वासिङटन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिभ ब्याननलाई ह्वाइटहाउसबाट बर्खास्त गरेपछि उनले ‘मानसिक सन्तुलन गुमाएको’ बताएका छन् । व्यानन ट्रम्पका पूर्वप्रमुख रणनीतिकार रुपमा कार्यरत थिए । 

ब्याननले मानसिक सन्तुलन गुमाए : ट्रम्प

प्रकाशोन्मुख एक पुस्तकमा ब्याननलाई उदृत गर्दै अमेरिकी राष्ट्रपतीय निर्वाचन अभियानका बेला ट्रम्पका छोरा र रुसी समूहबीच भएको भेट ‘देशद्रोहपूर्ण’ र मुलुकविरोधी’ भएको उल्लेख गरिएको छ । माइकल वोल्फले उक्त पुस्तकमा ट्रम्प राष्ट्रपति पदका लागि तयार नभएको देखिएको उल्लेख गरेका छन् ।

ट्रम्प तथा रुसले राष्ट्रपतिय निर्वाचन अभियानमा रुससँगको साँठगाँठ अस्वीकार गर्दै आएका छन् । यस विषयमा रोबर्ट मुलर नेतृत्वको विशेष छानबिन टोलीले अनुसन्धान गरिरहेको छ ।


विहीबार जारी गरेको विज्ञप्तिमा ट्रम्पले ब्याननसँग आफ्नो ‘केही लिनुदिनु नरहेको’ बताए । ट्रम्पले ह्वाइटहाउसमा रहँदा आफूलाई महत्वपूर्ण व्यक्तिका रूपमा देखाउन सञ्चारमाध्यमलाई सूचना चुहाएको बताएका छन् ।


ट्रम्पका वकिलहरुले व्याननले उक्त पदमा रहँदा ‘गोप्य सूचना चुहाएर सम्झौता उल्लंघन गरेको’ आरोप लगाएका छन् । उनीहरुले व्याननले रोजगारी सम्झौता विपरित वोल्फलाई ट्रम्प, उनका पारिवारिक सदस्य र कम्पनीबारे गलत सूचना दिएको बताए ।


अन्तर्राष्ट्रिय संचार माध्यमले डोनाल्ड ट्रम्प आंशिक रूपमा स्टिभ ब्यानन र उनको पुरातनवादी सञ्चारमाध्यम ब्राइटबार्टलाई भरपुर प्रयोग गर्दै राष्ट्रपति बन्न सफल भएका थिए । तर अब उनीहरुबीचको विवाद सतहमा आएको छ । ब्याननका टिप्पणीमाथि ट्रम्पले दिएको प्रतिक्रियाले दुई जनाबीचको सम्बन्ध समाप्त भइसकेको संकेत गरेको छ ।


पुस्तकमा के छ ?

न्यूयोर्क र भ्यानिटि फेयर म्यागाजिनका स्तम्भकार ६४ वर्षीय माइकल वोल्फद्वारा लिखित ‘फायर एण्ड फ्यूरी : इनसाइड द ट्रम्प ह्वाइटहाउस’ पुस्तकमा ट्रम्प र उनका परिवारसम्बन्धी विभिन्न तथ्यहरु छन् । उनले उक्त पुस्तक २ सय जनासँगको अन्र्तवार्तामा आधारित भएको जनाएका छन् । यसअघि वोल्फले संचार वादशाह रुपर्ट मर्डोकको जीवनी पनि लेखेका थिए ।


पुस्तकमा ब्याननलाई उदृत गर्दै ट्रम्प जुनियर र रुसी अधिकारीको भेटलाई ‘देशद्रोही कार्य’ उल्लेख गरिएको छ । पुस्तकमा ट्रम्पले राष्ट्रपतीय चुनाव जितेपछि उनको अभियान टोली आश्चर्यमा परेको जनाइएको छ । साथै, ट्रम्प राष्ट्रपतिका पदका लागि तयार नभएका कारण ‘त्रसित’ भएको उल्लेख छ ।

पुस्तकका अनुसार ट्रम्पकी छोरी इभांकाले आफू अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने भन्दै पति जरेद कुश्नरसँग योजना बनाएकी थिइन् । इभांकाले ट्रम्पको कपालको खिल्ली उडाउँदै आफ्ना साथीहरुसँग ट्रम्पको कपालका मिस्त्रि रहेको बताउने गर्थिन् । पुस्तकमा उल्लेख भएअनुसार मर्डोकले ट्रम्पलाई ‘मुर्ख’ को भनेका थिए ।


टाइम म्यागेजिनका अुनसार उक्त पुस्तकमा पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयरले गत फेब्रुअरीमा भएको भेटमा टम्पलाई बेलायती खुफिया संस्थाले जाशुशी गरिरहेको हुनसक्ने बताएको उल्लेख छ ।


पुस्तकमा टोनी व्लेयरले ट्रम्पलाई सुझाव दिएबापत उनले मध्यपूर्व क्षेत्रमा कुनै जागिर पाउने आशा राखेका थिए । तर बीबीसीसँगको कुराकानीमा उनले ट्रम्पका ज्वाईसँगको भेटमा मध्यपूर्वको शान्ति प्रक्रियाबारे कुराकानी भएको तर जागिरबारे तथ्यलाई तोडमोड गरिएको दाबी गरे । पुस्तक आगामी मंगलबार सार्वजनिक हुँदैछ ।


‘फेक न्यूज ट्रफी’

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सर्वाधिक बेइमान तथा भ्रष्ट संचार माध्यम’लाई अवार्ड घोषणा गर्ने बताएका छन् ।


ट्रम्पले अमेरिकी मूलधारका संचार माध्यममा आफ्नाबारे छापिने समाचार प्रति पटकपटक असहमति जनाउँदै आएका छन् । सीएनएन, द न्युयोर्क टाइम्स, द वासिङटन पोस्ट, एबीसी न्युज, लगायतका संचारमाध्यमबारे उनले यसअघि पनि विभिन्न प्रतिक्रिया दिंदै आएका थिए ।


ट्रम्पले ट्वीटरमा ती मिडियाले अफबाह फैल्याउने गरेको जनाउँदे उल्लेख गरेका छन्, ‘सोमवार म यो वर्षकै सबैभन्दा बेइमान र भ्रष्ट मिडियालाई अवार्डको घोषणा गर्नेछु ।’ उनले पुरस्कार बेइमानी र गलत समाचार प्रकाशन/प्रशारणसँग सम्बन्धीत विभिन्ने विधा समावेश हुने जनाए ।

ट्रम्पले त्यस्ता मिडियाका समाचारको कुनै स्रोत नहुने दाबी गर्दै भने, ‘विजेता मिडियाले फेक न्युज ट्रफी पाउनेछन् ।’



प्रकाशित : पुस २०, २०७४ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?