कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

इरानमा सरकारविरोधी प्रदर्शन जारी

एकैदिन हजार पक्राउ
बीबीसी/रोयटर्स

लन्डन — इरानको राजधानी तेहरानमा गरिएको सरकारविरोधी प्रदर्शनका क्रममा शनिबार कम्तीमा एकहजार जना पक्राउ परेका छन् । 

इरानमा सरकारविरोधी प्रदर्शन जारी

पक्राउ पर्नेमध्ये ९० विद्यार्थी छन् । उनीहरूमध्ये कतिपय प्रदर्शनमा संलग्न नभएको जनाइएको छ । एक सांसद फरिद मौसाभीले थप प्रदर्शन नहोस् भन्ने उद्देश्यले उनीहरूलाई पक्राउ गरेको जनाए । उनले पक्राउ परेकाहरूलाई छिट्टै रिहा गरिने बताए । क्वाजभिन, रास्ट, साहर–ए–कुर्द र याज्डलगायतका सहरमा आइतबार पनि सरकारविरोधी र्‍याली निकालिएको थियो ।


इरानमा मूल्यवृद्धिको विरोधमा सुरु भएको प्रदर्शन देशको शासकीय प्रणालीविरुद्ध केन्द्रित भएको हो । प्रदर्शनकारीले इरानी सर्वोच्च नेता अयातुल्लाह अली खामेनी, राष्ट्रपति हसन रुहानीविरुद्ध प्रदर्शन गरिहेका छन् । उनीहरूले इरानले आफ्नो विदेश नीति परिवर्तन गर्नुपर्ने माग गर्दै आएका छन् । १० दिनदेखि जारी प्रदर्शनका क्रममा २२ जनाको मृत्यु भइसकेको छ । यसअघि इरानी सर्वोच्च नेता नेता अयातुल्लाह अली खामेनीले विरोध प्रदर्शनमा ‘इरानका शत्रुराष्ट्र’ को प्रमुख भूमिका भएको बताएका थिए । उनले इरानका शत्रुहरूले मुस्लिम गणतन्त्रमाथि पैसा, हतियार, राजनीति र खुफिया संयन्त्रको प्रयोगले वितण्डा मच्चाइरहेको दाबी गरेका थिए ।


इरानको रेभोलुसनरी गार्डका प्रमुखले गत बुधबार ‘देशद्रोहीहरू’ परास्त भएको बताएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटकपटक प्रदर्शनकारीको पक्षमा कैयौं ट्वीट गर्दै आएका छन् । त्यसको प्रतिक्रियामा रुसले अमेरिकालाई ‘इरानको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप नगर्न’ चेतावनी दिएको थियो । तेल निर्यात गर्ने मुलुकहरूको संगठन ओपेकको प्रमुख राष्ट्र इरान सिरियाली द्वन्द्वमा संलग्न छ । मध्यपूर्वको साउदी अरबको दुश्मन हो । बहुसंख्यक इरानी जनताहरू देशको नेतृत्व विदेशी हस्तक्षेपकारी नीति त्यागेर अर्थतन्त्रको सुदृढीकरण र रोजगारी सिर्जनामा लाग्नुपर्ने बताउने गर्छन् ।


प्रदर्शनबारे संसद्मा छलफल

तेहरान– इरानका प्रमुख सहरहरूमा भइरहेको प्रदर्शनबारे आइतबार संसद्मा विशेष छलफल भएको छ ।


संसद्मा छलफल भइरहेका बेला पनि प्रदर्शनकारीले देशका विभिन्न ठाउँमा विशाल र्‍यालीसहित सरकारको विरोध जनाइरहेका थिए । सांसदहरूले आन्तरिक मामिलामन्त्री अब्दोल रहमान फज्ली, सूचनामन्त्री मोहम्मद अलभी र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव अली साम्खानीलाई प्रदर्शनबारे प्रश्न गरेको संसद्को वेबसाइटमा उल्लेख छ ।


कतिपय सांसदले आन्दोलनको बहानामा इरानको लोकप्रिय मोबाइल एप टेलिग्राम तथा इन्स्टाग्राममाथिको प्रतिबन्धबारे पनि चासो देखाएका थिए । अधिकारीले हिंसालाई बढाइचढाइ गर्न उक्त एपहरूको प्रयोग भइरहेकाले प्रतिबन्ध लगाइएको बताउँदै आएका छन् ।

प्रकाशित : पुस २४, २०७४ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?