कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कोरियाली उच्चस्तरीय वार्ता - विवाद अन्त्य गर्ने सहमति

हिउँदे ओलम्पिकमा उत्तर कोरिया सहभागी हुने
युद्धले छुट्टिएका परिवारको पुनर्मिलनबारे छलफल हुने
परमाणु कार्यक्रमबारे कुराकानी गर्न दक्षिणको प्रस्ताव
बीबीसी/रोयटर्स

सोल — उत्तर र दक्षिण कोरियाबीच मंगलबार भएको उच्चस्तरीय वार्तामा दुई देशका अधिकारीहरू तनाव अन्त्यका लागि सैनिक वार्ता गर्न सहमत भएका छन् । ‘शान्ति गाउँ’ भनिने दुई देशको सीमाक्षेत्र पन्मुन्जोममा भएको वार्तामा उत्तर–दक्षिण कोरियाली अधिकारीबीच उक्त सहमति भएका हो ।

कोरियाली उच्चस्तरीय वार्ता - विवाद अन्त्य गर्ने सहमति

उत्तर कोरियाले आगामी महिना दक्षिण कोरियामा हुने हिउँदे ओलम्पिकमा भाग लिने भएको छ । उनीहरूले दुई वर्षदेखि अवरुद्ध सैनिक हटलाइन बुधबारदेखि सुचारु गर्नेसमेत जनाएका छन् ।


वार्तामा दक्षिण कोरियाले उत्तरमाथि लगाएको प्रतिबन्ध अस्थायी रूपमा हटाउन सहमत भएको छ । प्योङयाङले ओलम्पिकमा आफ्नो देशका उच्च अधिकारी, खेलाडी र समर्थकको टोली सहभागी हुने बताएको छ ।


दक्षिण कोरियाली एकीकरण उपमन्त्री चुन हए–सुङले भने, ‘उत्तर कोरियाले ओलम्पिकमा उच्चस्तरीय टोली पठाउने जनाएको छ ।’ उनका अनुसार दक्षिण कोरियाले दुवै देशले सन् २००६ मा जस्तै ओलम्पिकमा संयुक्त रूपमा मार्चपास गर्ने प्रस्ताव राखेको थियो ।


साथै, लुनार नयाँ वर्षको अवसरमा दक्षिणले कोरियाली युद्धका कारण छुट्टिएका पारिवारिक सदस्यको पुनर्मिलन गराउनेसम्बन्धी प्रस्ताव राखेको छ । लुनार नयाँ वर्ष फेब्रुअरीको मध्यमा पर्छ । दक्षिण कोरियाली अधिकारीका अनुसार उनीहरूले परमाणु कार्यक्रमबारे वार्ता सुचारु गर्नसमेत प्रस्ताव राखेका छन् । दक्षिण कोरियाली प्रस्तावबारे उत्तरको भने कुनै जवाफ सार्वजनिक भएको छैन । वार्तामा सहभागी उत्तर कोरियाली टोली प्रमुख री सन–ग्वोनले वार्ताका क्रममा भने तटस्थ रूपमा प्रस्तुत भएको बीबीसीले जनाएको छ । उनले वार्ताले ‘आकर्षक उपहार’ प्राप्त हुनेमा विश्वास व्यक्त गरेका थिए । साथै, उनले दुई देशबीचको वार्तामा उत्तर कोरियाका ‘गम्भीर अडानहरू’ रहेको बताएका थिए ।


विदेश मन्त्रालयका प्रवक्ता रो क्यू–डियोकले उत्तर कोरियाली टोलीलाई ओलम्पिकमा सहभागी गराउन दक्षिणले राष्ट्रसंघीय सुरक्षा परिषद् तथा अन्य देशसँग ‘आवश्यक कार्य’ गर्ने जनाएका छन् ।


उनीहरूबीच २ वर्षपछि वार्ता भएको हो । दुवै देशको वार्ता टोलीमा ५/५ जना सदस्य सहभागी थिए । बीबीसीले दुवै देशका उच्च नेतृत्वले सीसीटीभी दृश्यमार्फत वार्ता हेरिरहेको उल्लेख गरेको छ । कोरियाली द्वीपमा जारी तनाव अन्त्य गर्ने ठानिएको उक्त वार्तालाई विश्वका प्रमुख नेताहरूले उत्सुकतासाथ हेरिरहेका रोयटर्सले जनाएको छ । सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्धपछि दुई कोरिया प्राविधिक रूपमा युद्धमा छन् । नयाँ वर्षको अवसरमा गरेको सम्बोधनमा उत्तर कोरियाली नेता किम जोङ–उनले प्योङयाङले फेब्रुअरीमा दक्षिण कोरियामा हुने हिउँदै ओलम्पिकमा खेलाडीको टोली पठाउने इच्छा व्यक्त गरेका थिए । गतवर्ष दक्षिण कोरियाली ओलम्पिक प्रमुखले उत्तरका खेलाडीलाई प्रतियोगितामा स्वागत गर्ने जनाएका थिए ।


किमको सम्बोधनलगत्तै दक्षिण कोरियाले दुई देशबीच उच्चस्तरीय छलफलको प्रस्ताव गरेको थियो । तर उत्तरले अमेरिका र दक्षिणबीच जारी संयुक्त सैन्य अभ्यास स्थगन गरेपछि मात्र आफू वार्तामा बस्ने जनाएको थियो । उत्तर कोरियाले दुई देशबीच हुने त्यस्ता अभ्यास युद्धको तयारीका रूपमा लिने गरेको छ । कतिपय आलोचकले भने उत्तर कोरियाले अमेरिका र दक्षिणबीचको गठबन्धन तोड्ने रणनीतिका रूपमा व्याख्या गरेका छन् ।


यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियाली नेता किमसँग टेलिफोनमा कुराकानी गर्न इच्छुक रहेको बताएका थिए । क्याम्प डेभिडमा आइतबार बोल्दै ट्रम्पले उत्तर र दक्षिण कोरियाबीच वार्तामार्फत सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरेका थिए ।

राष्ट्रपति भएयता ट्रम्प र किम पटक–पटक आरोप–प्रत्यारोप गर्दै आएका छन् । गत साता किमले क्षेप्यास्त्रको बटन आफ्नो टेबलमा भएको चेतावनी दिएपछि ट्रम्पले आफूसँग झन् ठूलो हतियार भएको भन्दै धम्की दिएका थिए । यसअघि ट्रम्पले उत्तर कोरियाली नेता किमलाई ‘रकेटम्यान’ को संज्ञा दिएपछि उनले ट्रम्पलाई ‘पागल’ भनेका थिए ।

प्रकाशित : पुस २६, २०७४ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?