१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

रेस्टुरेन्ट बचाउ अभियानमा व्यवसायी 

स्कटल्यान्डका ९० प्रतिशत रेस्टुरेन्ट संकटमा 
बेलायत सरकारसमक्ष समस्या समाधानको बाटो पहिल्याउन अभियान 
नवीन पोखरेल

लन्डन — बेलायत सरकारको कडा अध्यागमन नियमले रेस्टुरेन्ट व्यवसाय संकटमा परेको भन्दै स्कटल्यान्डका व्यवसायी बचाउ अभियानमा लागेका छन् । नेपाली तथा एसियन व्यवसायीले बेलायत सरकारसमक्ष समस्या अवगत गराई समाधानको बाटो पहिल्याउन अभियान सुरु गरेका हुन् । दक्ष जनशक्ति (सेफ) अभावले स्कटल्यान्डका झन्डै ९० प्रतिशत रेस्टुरेन्ट संकट वा बन्द हुने अवस्थामा छन् । 

रेस्टुरेन्ट बचाउ अभियानमा व्यवसायी 

स्कटल्यान्डका नेपाली रेस्टुरेन्ट व्यवसायी काशीराम भण्डारीले बचाउ अभियानको नेतृत्व गरेका छन् । ‘हामीहरूको व्यापार त चौपट्टै भयो,’ भण्डारीले भने, ‘हाम्रा समस्या स्कटल्यान्डबाट प्रतिनिधित्व गर्ने सांसद, काउन्सिल लिडर र अन्य स्थानीय अधिकारीलाई अवगत गराउन फेब्रुअरी १५ मा स्कटल्यान्डको काउडन बिच टाउनस्थित नमस्ते सिम्ला प्यालेसमा विशेष भेला डाकेका छौं ।’

लामो प्रयासपछि उक्त भेलामा सांसद लेस्ली लेर्डसहित अन्य वरिष्ठ अधिकारी सहभागी हुने कार्यक्रम छ । त्यस क्रममा व्यवसायीहरूले सरकारका प्रतिनिधिसमक्ष दुई वा तीन वर्षका लागि अस्थायी भिसा दिने प्रावधानका लागि प्रस्ताव राख्ने भएका छन् । सरकारको नियमले बाहिरबाट वर्क परमिटमा सेफ झिकाउन वार्षिक ३५ हजार पाउन्ड तलब दिनुपर्छ, जुन असम्भव भएको उनीहरू बताउँछन् । अर्को समस्या टेक वे गर्ने रेस्टुरेन्टले वर्क परमिट स्पोन्सरसिप लाइसेन्स नै पाउँदैनन् । त्यसैगरी स्थानीय बेलायती करी हाउसमा काम गर्दैनन् ।

भण्डारीले सरकारको कठोर अध्यागमन नियमका कारण बाहय मुलुकबाट दक्ष जनशक्ति ल्याउन नसकिएकाले रेस्टुरेन्ट व्यवसाय झन्डै ९० प्रतिशत सुकेका बताए । ‘सेफ पाइएन भन्दा तलब राम्रो दिए किन नहुने भनिन्छ तर हामीले चाहेको दिन्छौं भन्दा पनि हाल सेफ पाउन मुस्किल छ,’ भण्डारीको गुनासो छ, ‘मान्छे पाइए पनि बेनिफिट लिएर बसेकाहरू नगद दिए मात्र आउँछौं भन्छन्, जुन नियमसंगत र व्यावहारिक छैन ।’

एसियन क्याटरिङ फेडेरेसनले बेलायत सरकारको कठोर नियम रहिरहे दस वर्षभित्र बेलायतका करिब १७ हजार रेस्टुरेन्ट बन्द हुने चेतावनी दिएको छ । उक्त फेडेरेसनले बेलायतका ३५ हजार इथ्निक रेस्टुरेन्ट (इन्डियन, चाइनिज, बंगलादेशी, थाई, मलेसियन, नेपाली आदि) र टेक वे रेस्टुरेन्टको प्रतिनिधित्व गर्छ । ४.२ बिलियन पाउन्डको यस करी उद्योगले कम्तीमा एक लाख जनालाई रोजगारी दिइरहेको अनुमान छ । बंगलादेश क्याटरर्स एसोसिएसनले केही समयअघि होम अफिसले अनावश्यक रूपमा रेस्टुरेन्टमा छापा मारेर दु:ख दिइरहेको आरोप लगाएको थियो ।

प्रकाशित : पुस ३०, २०७४ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?