कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गलत बटन थिचेपछि...

हवाई — अमेरिकाको हवाई राज्यका एक कर्मचारीले गल्तीले क्षेप्यास्त्र आक्रमणको सन्देश प्रवाह हुने बटन थिचेपछि आइतबार त्रास फैलिएको छ । राज्यका गभर्नर डेभिड इगेईले कर्मचारीका कारण गलत सूचना प्रवाह भएको भन्दै क्षमा मागेका छन् । 

गलत बटन थिचेपछि...

मोबाइल फोन प्रयोगकर्ताहरूले आइतबार हवाईमा ब्यालेस्टिक क्षेप्यास्त्र हमला हुन लागेको जानकारी सहितको सतर्कता सन्देश प्राप्त गरेका थिए । ‘हवाईमा क्षेप्यास्त्र हमला हुँदै छ । तुरुन्त सुरक्षित स्थानको खोजी गर्नुस् । यो कुनै अभ्यास होइन ।’ भन्ने सतर्कता सन्देश प्रवाह भएपछि उक्त राज्यमा त्रास फैलिएको हो ।

उक्त सन्देश गल्तीवश प्रवाह भएको भन्ने घोषणा हुनुअघि स्थानीयवासी त्रसित भएका थिए । स्थानीय सञ्चार माध्यमका अनुसार कतिपय स्थानमा भागदौड समेत मच्चिएको थियो । अधिकारीका अनुसार हवाई आपतकालीन व्यवस्थापन संस्थाका कर्मचारीले आफ्नो काम अर्को व्यक्तिलाई हस्तान्तरण गर्ने क्रममा ‘गलत बटन थिच्दा’ उक्त सन्देश प्रवाह भएको हो । कर्मचारीको नाम भने गोप्य राखिएको छ । टेलिभिजन तथा रेडियो प्रसारणले पनि मानिसहरूलाई घरभित्रै बस्ने सन्देश दिँदै सूचना जारी गरेका थिए । उक्त सूचना सम्प्रेषण भएलगत्तै कतिपयले अस्वाभाविक रूपमा गाडी गुडाएका थिए भने कोही अरूका घरभित्र समेत घुसेका थिए । अमेरिकाको संघीय सञ्चार आयोगले त्यसबारे पूर्ण अनुसन्धान थाल्ने जनाएको छ । पछिल्लो समय उत्तर कोरियाले अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षणलाई तीव्रता दिएपछि हवाईमा सतर्कता प्रणाली जडान गरिएको थियो । हवाई उत्तर कोरियाबाट सबैभन्दा निकट दूरीमा छ । अधिकारीका अनुसार उत्तर कोरियाले हवाईको तटीय क्षेत्रमा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गर्न सक्ने सम्भावना भएकाले त्यस्तो प्रणाली जडान गरिएको हो । हवाईमा शीतयुद्धको अन्त्यपछि पहिलोपटक गत महिना परमाणु हमलाबारे ‘साइरन’ मार्फत सचेत गराउन उक्त प्रणाली परीक्षण गरेको थियो ।

स्थानीय समयअनुसार बिहान ८ बजेर ७ मिनेटमा सबै ठूला अक्षरमा पठाइएको सन्देश १८ मिनेटपछि गलत भएको बताइएको थियो । मोबाइलमा पठाइएको सतर्कता सन्देश गलत भएको भन्दै इमेल पठाइएका कारण लामो समय सर्वसाधारणहरू आत्तिएका थिए । स्थानीय सञ्चार माध्यमका अनुसार मोबाइलमै अर्को सन्देश भने ३८ मिनेटपछि मात्र पठाइएको थियो । गल्ती सच्याउन झन्डै ४० मिनेट लागेको बीबीसीले जनाएको छ ।

प्रकाशित : माघ १, २०७४ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?