कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्यांकर डुब्दा ३२ को ज्यान गयो

बेइजिङ — चीनको पूर्वी सामुद्रिक क्षेत्रमा एक सातादेखि जलिरहेको इरानी तेल ट्यांकर आइतबार डुबेपछि चालक दलका ३२ सदस्यको मृत्यु भएको इरानी अधिकारीले जनाएका छन् । चालक दलमा ३० इरानीसहित २ बंगलादेशी नागरिक थिए ।

ट्यांकर डुब्दा ३२ को ज्यान गयो

चिनियाँ सेन्ट्रल टेलिभिजनका अनुसार उक्त ट्यांकर आइतबार भएको ठूलो विस्फोटलगत्तै डुबेको हो । टेलिभिजनका अनुसार ट्यांकर डुब्नुअघि भएको विस्फोटका कारण करिब १ किलोमिटर माथिसम्म आगो फैलिएको थियो । सान्ची नामक उक्त पानीजहाज चीनको सांघाईबाट २ सय ६० किलोमिटर टाढा एक कार्गो जहाजसँग ठोकिएको थियो । ट्यांकरले १ लाख ३६ हजार टन कच्चा तेल बोकेको थियो । १३ सामुद्रिक डुंगाको सहायताले इरानी कमान्डोले १० दिनदेखि आगलागी नियन्त्रणका लागि जारी राखेको प्रयास खराब मौसमका कारण असफल भएको हो । इरानी समूहका प्रवक्ता मोहम्मद रस्तादले भने, ‘अब कसैलाई जीवितै फेला पार्ने आशा सकिएको छ ।’

यसअघि शनिबार उद्धारकर्ताहरूले दुई जनाको शव भेटेका थिए । तर विषालु धूवाँ तथा उच्च तापक्रमका कारण उनीहरूले हतारमा पानीजहाजको ‘ब्याल्क बक्स’ लिएर फर्किएको जनाए ।

सान्ची पनामाले इरानसँग भाडामा लिएर चलाएको थियो । उक्त ट्यांकर इरानबाट दक्षिण कोरियातर्फ जाने क्रममा जनवरी ६ मा हङकङको सीएफ क्रिस्टलसँग ठोक्किएको थियो । क्रिस्टलका चालक दलका २१ सदस्यको भने सकुशल उद्धार गरिएको थियो ।

दुई जहाज ठोकिएलगत्तै सान्ची दक्षिण–पूर्वी क्षेत्रमा पर्ने जापानी टापु अमामी ओसिमातर्फ २ किलोमिटरभन्दा बढी बगेको थियो । उक्त ट्यांकरले जेटमा प्रयोग हुने तेल, पेट्रोल, डिजेल उत्पादन गर्न मिल्ने कच्चा तेल बोकेको थियो । दुर्घटनाको कारण हालसम्म थाहा हुन सकेको छैन । अधिकारीले घटनाबारे छानबिन भइरहेको जनाएका छन् ।

प्रकाशित : माघ १, २०७४ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?