ट्युनिसियामा सरकार विरोधी प्रदर्शन

सामाजिक सुधारको घोषणा
एएफपी/बीबीसी

ट्युनिस — ट्युनिसियाको सरकारले एक साता लामो विरोध प्रदर्शनपछि आइतबार सामाजिक सुधारको घोषणा गरेको छ । स्वास्थ्य सेवासम्बन्धी बजेट बढाउने र विभिन्न सरकारी सेवामा सुधार गरी सामाजिक पुन:संरचना गर्ने घोषणा गरिएको हो । 

ट्युनिसियामा सरकार विरोधी प्रदर्शन

आइतबार पूर्वराष्ट्रपति जिन अल–अबिदिन बेन अलीले सत्ता छाडेको सातौं वार्षिकीका अवसरमा थप प्रदर्शनहरू भएका थिए । प्रदर्शनका क्रममा कम्तीमा ८ सय जना पक्राउ परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनीहरूले बेल अलीले सत्ता छाडेपछि पनि स्थिति सुधार नभएको भन्दै विरोध जनाएका हुन् । आन्तरिक मन्त्रालयका प्रवक्ता खलिफा चिबानीले ९७ जना सुरक्षाकर्मी घाइते भएको बताए ।

उनले प्रदर्शनकारीतर्फको क्षतिबारे भने केही बताएनन् ।

राष्ट्रपति बेजी केइड एसेब्सले राजनीतिक दल, ट्ेरड युनियनकर्मी तथा रोजगारदातासँग आफ्नो कार्यालयमा दुई घण्टासम्म गरेको वार्तापछि नयाँ घोषणा गरिएको हो । अधिकारीका अनुसार औषधोपचार, आवास र गरिबलाई विशेष सहयोगको वृद्धि लगायतका योजनाहरू संसद्मा पेस गरिसकिएको छ ।

राष्ट्रपति एसेब्सले आइतबारै ट्युनिसको एक जिल्लाको भ्रमण गर्दै आफूले जनताको पीडा महसुस गरेको बताएका थिए । पिछडिएको क्षेत्र एट्धमोनको भ्रमणका क्रममा उनले भने, ‘हामी तपाईंहरूको भावना बुझ्छौं । हामी सबै एकै परिवार हौं ।’ तर उनले भ्रमणका क्रममा आफ्नो देशसँग पर्याप्त साधन–स्रोत नभएको बुझिदिन आग्रह समेत गरेका थिए ।

सामाजिक मामिलामन्त्री मोहम्म ट्रबेल्सीले स्वास्थ्य सेवा तथा सामाजिक पुन:संरचनाका कार्यक्रम तयार पारिएको बताए । उनका अनुसार सरकारले अत्यावश्यक मानिसलाई सेवा उपलब्ध गराउन १ सय ७० दिनारको कोष स्थापना गरिएको जनाए । ट्रबेल्सीले भने, ‘यसले करिब २ लाख ५० हजार गरिब तथा निम्नमध्यमवर्गीय परिवारलाई सहयोग पुग्नेछ ।’ उत्तर अफ्रिकी मुलुक ट्युनिसियामा एक साताअघिदेखि बढ्दो गरिबी र बेरोजगारीविरुद्ध विरोध प्रदर्शन भइरहेको थियो । हालैका दिनमा आन्दोलन थप सशक्त र हिंसात्मक हुँदै गएपछि त्यसलाई मत्थर पार्न सरकारले सामाजिक सुधारको योजना घोषणा गरेको हो ।

त्यसलगत्तै पक्राउ परेकालाई चोरी, लुटपाट, आगजनी तथा सडकको अवरोधको आरोप लगाइएको छ । तर प्रदर्शनकारीले शान्तिपूर्ण विरोध प्रदर्शनमा सरकारले धरपकड गरेको दाबी गर्दै आएका छन् ।

प्रहरीले आन्दोलन नियन्त्रण व्यापक मात्रामा बल प्रयोग गर्ने गरेको मानव अधिकार समूहको आरोप छ । साथै, प्रदर्शनका क्रममा व्यापक सरकारी सम्पत्तिको क्षति भएको जनाइएको छ । २० वर्षभन्दा बढी शासनसत्ता सञ्चालन गरेका पूर्वराष्ट्रपति बेन अलीलाई हटाउन भएको आन्दोलनपछि ट्युनिसियाको आर्थिक अवस्था खस्किएको हो ।

प्रकाशित : माघ १, २०७४ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?