कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

ओलम्पिकबारे दुई कोरिया वार्ता 

एएफपी

सोल — आगामी फेब्रुअरीमा दक्षिण कोरियामा हुने शीतकालीन ओलम्पिक खेलमा उत्रेर कोरियाको सहभागिताको योजनाबारे दुई कोरियाबीच सोमबार वार्ता भएको छ । उक्त वार्ता दुई देशको सीमा क्षेत्रमा पर्ने पन्मुन्जोममा भएको हो । 

ओलम्पिकबारे दुई कोरिया वार्ता 

गत साता भएको वार्तामा उत्तर कोरिया ओलम्पिक प्रतियोगितामा आफ्नो टोली पठाउन सहमत भएको थियो । बैठकमा दुवै देशका चार/चार जना सहभागी भएका थिए । सोमबारको वार्तामा भने गत साता भएको वार्तामा संलग्न अधिकारीभन्दा तल्लो तहका

उपस्थित थिए । वार्तामा उत्तर कोरियाली वार्तामा उत्तर कोरियाली सांगीतिक समूह मोरानबोङकी पप गायिका हयुन सङ बोल पनि सहभागी थिइन् ।

छलफलमा ओलम्पिकमा सहभागी हुने संख्या, उनीहरू खेलस्थानसम्म पुग्ने बाटो तथा भ्रमण तालिकाबारे छलफल भएको दक्षिण कोरियाली समाचार संस्था योनहापले जनाएको छ । साथै, दुवै देश आगामी बुधबार यसबारे थप छलफल गर्ने सहमति भएको जनाइएको छ ।

यसअघि, उत्तर–दक्षिण कोरियाबीच दुई वर्षपछि गत साता भएको वार्तामा प्योङयाङले ओलम्पिकमा सहभागी हुने टोलीमा खेलाडी, समर्थक र अधिकारीहरू समावेश हुने जनाएको थियो । शीतकालीन ओलम्पिक आगामी फेब्रुअरीको ९ देखि २५ सम्म हुँदै छ । आगामी शनिबार दुवै देशका अधिकारीहरू ओलम्पिकमा उत्तर कोरियाको संलग्नताबारे छलफल गर्न स्विट्जरल्यान्डस्थित अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा भेट्दै छन् । उत्तर कोरियाली यसअघि विभिन्न ओलम्पिक प्रतियोगितामा सहभागी भइसकेको छ । तर दक्षिण

कोरियामा आयोजना हुने प्रतियोगितामा भने पहिलो पटक सहभागी हुन लागेको हो ।

उत्तरले सन् १९८८ मा सोलमा भएको ओलम्पिक बहिस्कार गरेको थियो । तर गत साता दक्षिणसँग भएको वार्तामा भने उत्तर कोरियाले दुवै देशका खेलाडीले संयुक्त रूपमा मार्चपास गर्ने प्रस्ताव राखेको थियो । दक्षिण कोरियाली एकीकरण मन्त्री चो मियोङ ग्युनले उत्तरको प्रस्तावको ‘चाँडै जवाफ दिने’ बताए । जनवरी १ मा नयाँ वर्षको अवसरमा देशबासीका नाममा गरेको सम्बोधनमा उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियासँग वार्ता गर्न तयार रहेको बताएका थिए ।

त्यसलगत्तै दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले प्रस्ताव स्वीकार गर्दै जनवरी ९ लाई वार्ताको मिति तय गरेका थिए । आगामी महिना हुने ओलम्पिकमा उत्तर कोरियाको सहभागिताले कोरियाली द्वीपमा जारी तनाव अन्त्य हुने अनुमान गरिएको छ ।



मध्यस्थता गर्न रूस तयार

मस्को (सिन्हवा)– रूसले अमेरिका र उत्तर कोरिया वार्ता गर्न तयार भए मध्यस्तता गर्न तयार रहेको बताएको छ । रूसी विदेशमन्त्री सेर्गेई ल्याभरोभले सोमबार भने, ‘यदि अमेरिका र कोरियाबीच वार्ता हुन्छ भने छ देशको प्रारूपभित्र रहेर सहयोग गर्न हामी तयार छौं ।’

ल्याभरोभले परमाणु शक्ति सम्पन्न राष्ट्रको हैसियतमा रूसले दुई देशबीच हुने कुनै पनि वार्ताको सहजीकरणका लागि तयार रहेको बताए । उत्तर र दक्षिण कोरियाबीच गत जनवरी ९ मा भएको उच्चस्तरीय वार्तापछि दुई देशबीचको सम्बन्धमा सुधार आएको छ ।

उक्त वार्ताको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वागत गर्दै आफू उत्तर कोरियासँग वार्ताका लागि तयार रहेको बताएका थिए । तर यसबारे उत्तर कोरियाली धारणा भने हालसम्म सार्वजनिक भएको छैन ।

प्रकाशित : माघ २, २०७४ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?