२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सिचुवान-तिब्बत सिधा रेलसेवा सुरु

चेतनाथ आचार्य

बेइजिङ — चीनको पश्चिममा पर्ने सिचुवान प्रान्त र तिब्बतको कठिन पठारलाई छेडेर रेलसेवा सञ्चालनमा ल्याइएको छ ।

सिचुवान-तिब्बत सिधा रेलसेवा सुरु

चिनियाँ समाचार समितिका अनुसार यो चीनकै सबैभन्दा लामो सुरुङ रेलमार्ग हो । बुधबारदेखि सञ्चालनमा आएको सिचुवान-तिब्बत रेलमार्गको साङ चु लिङ सुरुङ मार्गको लम्बाई १६ किलोमिटर ४४९ मिटर छ । सुरुङभित्र अत्यन्त कडा तिब्बती चट्टानको तापमान ८९.९ डिग्री सेल्सियससम्म पुग्ने गर्छ । चिनियाँ रेलमार्गको सुरुङ निर्माणमा यो सबैभन्दा उच्च तापक्रम रहेको जनाइएको छ ।


चीनका विभिन्न भू-भागबाट स्वायत्त प्रदेश तिब्बत छिर्न विभिन्न पाँच रेलमार्गमध्ये सिचुवान–तिब्बत रेलमार्ग एक हो । यो रेलमार्गको ला लिन भागले तिब्बतको ल्हासा सहर र लिन्ची सहरलाई जोडेपछि तिब्बतमा पहिलो इलेक्ट्रोफिकेसन रेलमार्ग बन्ने छ । ला लिन क्षेत्रमा यो रेलमार्गका ४७ वटा सुरुङ रहेका छन् । रेलमार्गमा बनाइएका पुल र सुरुङको मात्र लम्बाई तीन सय एक किलोमिटर रहेको छ । पुल र सुरुङमार्गले यो क्षेत्रको रेलमार्गको ७५ प्रतिशत भाग ओगटेको छ ।


सन् २०१४ को डिसेम्बरमा सुरु भएको यो सुरुङमार्ग निर्माणमा एक हजार दुई सयभन्दा बढी प्राविधिकले निरन्तर १ हजार १ सय २५ दिन काम गरेपछि बुधबारदेखि सञ्चालनमा आएको हो ।


सिचुवानदेखि तिब्बत स्वायत्त प्रदेशको ल्हासासम्म रेलमार्ग सोझै जोडिएपछि पुरानो रेलमार्गभन्दा आधा कम दूरी हुनेछ । सिचुवानदेखि लान्चौ हुँदै छिङहाई भएर ल्हासा पुग्ने रेलवेको दूरी ३ हजार किलोमिटरभन्दा बढी छ भने सिधै जोडिँदा १ हजार ६ सय २९ किलोमिटर हुनेछ ।


छिङहाई तिब्बत रेलमार्ग सन् २००१ मा निर्माण सुरु भएर २००६ मा पूरा भएको थियो । उक्त परियोजनामा २८ अर्ब ५० करोड चिनियाँ युआन अर्थात् साढे चार खर्ब रुपैयाँबराबर लगानी भएको थियो । रेलमार्ग सञ्चालनमा आउनुपूर्व तिब्बतको कुल ग्राहस्थ उत्पादन २५ अर्ब चिनियाँ युआन थियो । रेल गुडेको एक दशकपछि सन् २०१५ मा तिब्बतको कुल ग्राहस्थ उत्पादन एक खर्ब चिनियाँ युआन पुगेको थियो ।


भविष्यमा नेपालसम्म जोडिने भनिएको यो रेलमार्गले तिब्बतमा सन् २०१६ को मे ३१ तारिखसम्म ११ करोड ५० लाख यात्रुलाई पुर्‍याएको छ भने ४४ करोड ८० लाख टन सामान ढुवानी गरेको छ । सन् २०१५ मा मात्र दुई करोड यात्रीले यो रेलमार्गबाट यात्रा गरेका छन् ।

प्रकाशित : माघ ४, २०७४ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?