२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

अमेरिकी संघीय सरकार बन्द

-अत्यावश्यक बाहेकका सेवा बन्द    -३० प्रतिशत कर्मचारी प्रभावित 
दिनेशजंग शाह

न्युयोर्क — अमेरिकी माथिल्लो सदन सिनेटमा पेस गरिएको सरकारी खर्चसम्बन्धी विधेयक असफल भएपछि अमेरिकी संघीय सरकार शनिबारदेखि बन्द (सट डाउन) भएको छ । सिनेटरहरूले विधयेकको पक्षमा ५० र विपक्षमा ४९ मतदान गरेका थिए । विधयेक पारित हुन सिनेटमा ६० मत आवश्यक हुन्थ्यो । यसअघि बिहीबार भने तल्लो सदन ‘हाउस अफ रेप्रिजेन्टेटिभ्स’ बाट भने उक्त विधयेक पारित भएको थियो । 

अमेरिकी संघीय सरकार बन्द

विधयेकमार्फत अमेरिकी संघीय निकायमा आगामी फेब्रुअरी १६ सम्मका लागि आवश्यक खर्च व्यवस्था गरिएको थियो । विधयेकको असफलतासँगै अमेरिकी संघीय निकायका अधिकांश कामकाज ठप्प भएका छन् । यद्यपि, संघीय निकायका कर्मचारीहरू सोमबारसम्म काममा नफर्कने भएकाले त्यतिन्जेलसम्म यसको व्यावहारिक प्रभाव नदेखिने बताइएको छ ।


यसअघि सन् २०१३ मा पनि सरकारी निकायमा आवश्वयक खर्चको व्यवस्था नहुँदा १६ दिनसम्म सरकारी कामकाज ठप्पप्राय: भएको थियो । संसद्को दुवै सदन र ह्वाइटहाउसमा एउटै पार्टीको नेतृत्व रहेका बेला सरकारी कामकाज ठप्प भएको आधुनिक अमेरिकी इतिहासमा यो पहिलो पटक हो ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रयाटहरूले ‘अमेरिकी जनताको स्वार्थभन्दा आफ्नो राजनीतिक स्वार्थलाई माथि राखेको’ आरोप लगाएका छन् । शनिबार टीट गर्दै ट्रम्पले उनीहरूले ‘अमेरिकी सेना र सुरक्षाभन्दा गैरकानुनी आप्रवासीलाई प्राथमिकता’ दिएको उल्लेख गरे । उनले भने, ‘डेमोक्रयाटहरू सहजैसँग सम्झौतामा पुग्न सक्थे तर सरकार बन्दको राजनीति खेले ।’

राष्ट्रपति कार्यालय ह्वाइटहाउसले डेमोक्रयाटहरूले राजनीतिक स्वार्थले हेरेको आरोप लगाएको छ । उसले ‘राष्ट्रिय सुरक्षा, सैनिक परिवार, जोखिममा रहेका बालबालिका र सबै अमेरिकीलाई सेवा गर्ने कार्यमा राजनीति घुसाएको’ उल्लेख गरेको छ ।’


सिनेटका रिपब्लिकन नेता मिच म्याककोनलले असान्दर्भिक रूपमा डेमोक्रयाटको अवैधानिक आप्रवासन मुद्दाका कारण विधेयक पारित नभएको बताए । उनले त्योबाहेक विधेयकका अन्य विषयमा सहमति भएको दाबी गरे । डेमोक्रयाटिक दलका सिनेट नेता चक सुमरले विधयेकको अधिकांश रिपब्लिकनले समेत विरोध जनाएको बताए । राष्ट्रपति ट्रम्पले दुई दलबीचको सहमति अस्वीकार गरेकाले सरकारी कामकाज ठप्प हुने स्थिति पैदा भएको बताए । अमेरिकी सञ्चारमाध्यमका अनुसार ‘आप्रवासन र सीमा सुरक्षा’ जस्ता विषयमा दुई दलबीच भएको चर्को विवादका कारण विधयेक विफल भएको हो ।


के हो सरकार बन्द ?

सिनेटबाट सरकारी खर्चसम्बन्धी विधेयक असफल भएपछि शनिबारदेखि अधिकांश संघीय निकायहरू बन्द रहनेछन् । तर कपितय अत्यावश्यक सेवा भने सुचारु हुने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । वातावरण, आवास, शिक्षा, र व्यावसायिक क्षेत्रका कर्मचारीहरू घरैमा बस्नेछन् । त्यसैगरी, अर्थ, स्वास्थ्य, प्रतिरक्षा र यातायात मन्त्रालयका आधाजसो कर्मचारी पनि सोमबारदेखि कार्यालय जाने छैनन् । राष्ट्रिय पार्क र सम्पदास्थल पनि बन्द हुने भएकाले सर्वसाधारणको आक्रोश नित्याउन सक्नेछ । यसअघि सन् २०१३ को अक्टोबरमा भएको सरकार बन्दको विरोधमा सर्वसाधारणले व्यापक प्रदर्शन गरेका थिए ।


प्रवेशाज्ञा र राहदानीसम्बन्धी काममा पनि ढिलाइ हुन सक्छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार ‘जीवन तथा मानिसको सम्पत्ति’ संरक्षण गर्ने निकायहरू भने चालू रहनेछन् । त्यसअन्तर्गत राष्ट्रिय सुरक्षा, हुलाक, हवाई ट्राफिक नियन्त्रण, औषधोपचार, आपतालीन, प्राकृतिक प्रकोप, कारागार, कर तथा विद्युत् सेवासम्बन्धी निकाय पर्छन् । सरकार बन्द भएपछि २१ लाखको हाराहारीमा रहेका संघीय सरकारका कर्मचारीमध्ये करिब ३० प्रतिशत प्रभावित हुनेछन् । जसमा अमेरिकी सेना पनि समावेश छ । सन् २०१३ मा सरकार बन्द हुँदा, करिब ८ लाख कर्मचारी तलबको अभावमा काम रोक्न बाध्य भएका थिए ।


कारण के ?

डेमोक्रयाटहरूले सानो उमेरमा अमेरिका छिरेका करिब ७ लाख आप्रवासीको व्यवस्थापन गर्न माग गर्दै आएका छन् । उनीहरूले त्यस्ता आप्रवासीलाई स्वदेश फिर्ता पठाउने ट्रम्प नीतिको विरोध जनाउँदै आएका छन् । उक्त मागबारे भएको विवाद विधयेक असफल हुनुको प्रमुख कारण मानिएको छ । पूर्वराष्ट्रपति बाराक ओबामा प्रशासनको आप्रवासन नीतिअनुसार उनीहरूलाई अस्थायी कानुनी मान्यता दिइएको थियो । सन् २०१२ मा राष्ट्रपतीय कार्यकारी अधिकारको प्रयोग गर्दै ओबामाले बाल्यकालमा अमेरिका ल्याइएका १२ देखि ३५ वर्षसम्मकालाई आप्रावासी कानुनी हैसियत प्रदान गर्ने कार्यक्रम ‘डाका’ को घोषणा गरेका थिए । तर वर्तमान राष्ट्रपति ट्रम्पले गत सेप्टेम्बरमा उक्त नीति अन्त्यको घोषणा गरेका थिए । त्यसअन्तर्गत मेक्सिकोसँगको दक्षिणी सीमामा प्रस्तावित महत्त्वाकांक्षी पर्खाल निर्माण गर्न बजेट छुट्टाउनुपर्ने, डीभी चिठ्ठाअन्तर्गतको भिसा कार्यक्रम बन्द गर्नुपर्ने, वैधानिक आप्रवासीले पारिवारिक सदस्यलाई प्रायोजन गर्ने नियम हटाउनुपर्ने माग मुख्य छन् ।


जसमा डेमोक्रयाटहरूको भने समर्थन छैन । उनीहरूले ट्रम्पले ‘डाका’ लाई बृहत् आप्रवासी एजेन्डाका अन्य पक्षसँग बार्गेनिङको विषय बनाएको आरोप लगाउँदै आएका छन् । आप्रवासी एजेन्डाबारे बहस भइरहेकै बेला, गत साता राष्ट्रपति ट्रम्पले हैटी, अफ्रिकालगायत देशबाट आप्रवासी ल्याइएको विषयमा आपत्तिजनक शब्दले आलोचना गरेपछि डेमोक्रयाटिक पार्टीका सिनेटर एवं कंग्रेस म्यानहरू ट्रम्पप्रति क्रूद्ध भएका थिए ।


बजेट विधयेकमा मतदान हुनुअघि राष्ट्रपति ट्रम्पले सिनेटका विपक्षी नेता चक सुमरसँग असफल वार्ता गरेका थिए । डेमोक्रयाटिक पार्टीले ‘ड्रिमर’ लाई आप्रवासी हैसियत प्रदान गर्ने ‘डिफर्ड एक्सन फर चाइल्डहुड एराइभल’ (डाका) को म्याद थप्नुपर्ने माग गरेका थिए । डेमोक्रयाटिक पार्टीले घरेलु खर्चको आकार बढाउन, अमेरिकी सरकारबाट नियन्त्रित पोर्टोरिकोमा आर्थिक सहयोग थप्नुपर्ने लगायतका माग गर्दै आएको छ ।


आगामी मार्चमा म्याद नथपे, ‘ड्रिमर’ हरूले बसाइ एवं काम गर्ने अनुमतिको वैधानिकता गुमाउने छन् । उनीहरूमाथि देश निकालाको ‘थ्रेट’ रहनेछ । अमेरिकी राजनीतिमा कंग्रेस र सरकारले प्रस्तावित बजेट पास गर्न असफल भएपछि सरकार बन्द हुने गर्छ । अमेरिकामा सन् १९९० देखि सरकार बन्द गर्ने खेल सुरु भएको थियो । यसअघि जर्ज डब्लू बुस, बिल क्लिन्टन र बाराक ओबामाले सरकार बन्दको चुनौती सामना गरेका थिए ।

प्रकाशित : माघ ६, २०७४ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?